‘वेलकम टू द जंगल’मा अटाएनन् नाना पाटेकर

हिमाल प्रेस २७ भदौ २०८० १३:१५
2
SHARE
‘वेलकम टू द जंगल’मा अटाएनन् नाना पाटेकर

काठमाडौँ- हिन्दी फिल्म ‘वेलकम टू द जंगल’ बन्ने आधिकारिक घोषणा भएको छ। गत शनिबार (सेप्टेम्बर ९) मा लगभग साढे तीन मिनेट लामो भिडियो सार्वजनिक गर्दै फिल्म बन्ने घोषणा गरिएको छ। भिडियोमा बलिउडका भएभरका कलाकार छन्।

अक्षय कुमार, संजय दत्त, अरसद वारसी, सुनील सेट्टी, रविना टन्डन, लारा दत्ता, ज्याक्लिन फर्नान्डिज, परेश रावल, जोनी लिभर, राजपाल यादव, तुषार कपुर, श्रेयस तलपडे, कृष्णा अभिषेक, किकू शारदा, दलेर मेहदी, मिका सिंह, राहुल देव, मुकेश तिवारी, शारिब हाश्मी, इनाराम, इनाम जाकिर हुसेन, यशपाल शर्मा, दिशा पटानीलगायत कलाकार ट्रेलरमा अटाएका छन्। फिल्म २०२४ डिसेम्बर २० मा क्रिसमसको छेको पारेर रिलिज हुनेछ।

फिल्म सन् २००७ मा प्रदर्शनमा आएको ‘वेलकम’ र २०१५ को ‘वेलकम ब्याक’का तेस्रो भाग हो। पहिलो र दोस्रो भागमा दोहोरिएका अभिनेता अनिल कपुर र नाना पाटेकर भने ‘वेलकम टू द जंगल’को भिडियोमा देखिएका छैनन्।

फिल्म निर्माण टोलीले सार्वजनिक गरेको भिडियोमा अरू कलाकार अगाडि हेरिरहेका छन् भने एकजना ढाड फर्काएर उभिएका छन्। धेरैले अनुमान गरेका थिए ती अनिल वा नाना हुन सक्छन्। तर नाना फिल्ममा छैनन्। सो कुरा उनी अभिनीत फिल्म ‘द भ्याक्सिन वार’को ट्रेलर लन्चमा खुलेको छ। नानाले आफूलाई फिल्मको प्रस्ताव नआएको बताएका छन्। ‘वेलकम टू द जंगलमा मैले काम गरेको छैन,’ उनले भने, ‘उनलाई लाग्छ अब हामी पुराना भइसक्यौँ। त्यसैले प्रस्ताव गरेनन् होला।’

फिल्म ‘वेलकम’ र ‘वेलकम ब्याक’ दुवै फिल्म हिट भएका थिए। फिल्ममा नाना ‘उदय सेट्टी’को भूमिकामा थिए। उनको अभिनयलाई दर्शकले मन पराएका थिए। ‘मजनु’का भूमिकामा रहेका अनिल कपुरसँग उनको जोडी खूब जमेको थियो।

फिल्मको तेस्रो भागमा नाना नहुँदा उनका प्रशंसक निराश भएका छन्। तर नाना ‘द भ्याक्सिन वार’मा देखिनेछन्। विवेक अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म सितम्बर २८ मा प्रदर्शनमा आउँदैछ। फिल्ममा उनीसँगै अनुपम खेर, पल्लवी जोशी, राइमा सेनलगायत कलाकारको अभिनय छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =