अभिनय यात्रामा ओरालोतिर अक्षय

हिमाल प्रेस २४ पुष २०७९ १४:५३
8
SHARES
अभिनय यात्रामा ओरालोतिर अक्षय

काठमाडौँ- बलिउडका सफल अभिनेतामध्ये एक हुन्, अक्षय कुमार। उनको सफलताको अनुमान एकताका उनको घरबाहिर खाली चेक समातेर बस्ने निर्माताको घुइँचोबाट लगाउन सकिन्थ्यो।

तर, पछिल्लो समय अक्षयको सफलता यात्रामा विराम लागेको छ। सन् २०२२ मा प्रदर्शनमा आएका उनका सबै फिल्म असफल रहे। गत वर्ष उनका ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षाबन्धन’, ‘कठपुतली’ र ‘रामसेतु’ सार्वजनिक भए।
यीमध्ये ‘कठपुतली’ ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको थियो। त्यसबाहेक अरू फिल्म सिनेमा हलमा प्रदर्शनमा आए। तर, कुनै पनि फिल्मले सफलता हात पार्न सकेन।

कोरानाकालपछि अक्षयको फिल्म ‘सूर्यवंशी’ चाहिँ ‘ब्लक बस्टर’ रह्यो। फिल्म दर्शकले निकै रुचाए। त्यसपछि आएका उनका फिल्मको दर्शकले न कथा मन पराए, न अक्षयको अभिनय। धेरैले उनले एकनासे अभिनय गरेको आरोप लगाए। असफलताबाट अक्षयमात्र दुःखी भएनन् उनको फिल्म छनोट र अभिनयबाट दर्शक पनि निराश बने।

अक्षयको विकल्प खोज्दै निर्माता-निर्देशक
निर्माता÷निर्देशक पनि अब अक्षयको विकल्प खोज्न थालेका छन्। धेरैले उनको विकल्पका रूपमा कार्तिक आर्यनलाई देखिरहेका छन्। त्यसैले अक्षयका सफल फिल्मको दोस्रो भाग कार्तिकको पोल्टामा परिहेका छन्।

सन् २००७ को सुपरहिट फिल्म ‘भूल भुलैयाँ’ को दोस्रो भागमा अक्षयको ठाउँमा कार्तिक देखिए। फिल्म व्यावसायिक रूपमा सफल भयो। ६५ करोड भारुमा बनेको फिल्मले २ सय ६६ करोड भारुभन्दा बढी कमायो।

त्यस्तै अक्षय मुख्य भूमिकामा रहेको फिल्म ‘हेरा फेरी’मा पनि कार्तिक भित्रिने समाचार पछिल्लो समय बाहिरिएका छन्। ‘हेरा फेरी’ सन् २००० मा प्रदर्शनमा आएको थियो। त्यसको छ वर्षपछि मात्र त्यसको दोस्रो भाग आएको थियो। ‘फिर हेरा फेरी’ सन् २००६ मा सार्वजनिक भएको थियो।

ती दुवै सफल फिल्ममा अक्षय थिए। तर, तेस्रो भागमा उनी नरहने समाचारले अब उनको अभिनय करियर ओरालो लागेको संकेत गरिरहेको छ।

डाँवाडोल भइरहेको उनको अभिनय करियरलाई एउटा ठूलो झट्का लागेको छ। आनन्द एल रोय निर्देशनमा बन्ने भनिएको फिल्म ‘गोरखा’ अहिले नबन्ने भएको छ। फिल्ममा अक्षय मुख्य भूमिकामा थिए। फिल्मबाट उनले धेरै अपेक्षा पनि राखेका थिए।

केही दिनअघि अक्षयले फिल्म आफैँ छोडेको खबर भारतीय सञ्चारमाध्यममा आएको थियो। पछि निर्देशक आनन्द एल रोयले इन्डियन एक्सप्रेसलाई दिएको एक अन्तर्वार्तामा तथ्य र प्राविधिक समस्याका कारण फिल्मको काम रोकिएको बताए। फिल्म बनाए अक्षयसँगै बनाउने घोषणा निर्देशकले गरेका छन्। तर, फिल्म कहिले बन्छ भन्ने कुराचाहिँ खुलाएका छैनन्। यसो हुँदा अक्षयको हातबाट फिल्म फुत्किएको अनुमान सजिलै लगाउन सकिन्छ।

अक्षयले वर्षमा चार-पाँचवटा फिल्ममा काम गर्छन्। ‘गोरखा’ बन्ने घोषणा उहिल्यै भइसकेको थियो। त्यसको पोस्टरसमेत सार्वजनिक गरिसकिएको छ। स्क्रिप्ट बनेपछि न निर्माण टोली पोस्टर सार्वजनिक गरेको होला भन्ने धेरैको भनाइ छ। यसरी एकाएक फिल्म नबन्ने कुराले अक्षयको गिर्दो नुरलाई थप बल पुर्या‍एको छ।

‘बलिउडमा उनको समय सकिएको हो?’ धेरैको जिज्ञासा छ। यति हुँदाहुँदै अझै अक्षयसँग पाँचवटा फिल्म छन्। जो २०२३ मा प्रदर्शनमा आउन सक्छन्।

यसरी भयो असफलताको सुरुवात

रोहित सेट्टीको निर्देशन रहेको ‘सूर्यवंशी’ सार्वजनिक हुँदासम्म सबै ठीक थियो। गत वर्ष ‘द कश्मीर फाइल्स’ प्रदर्शनमा आयो। फिल्म विवादमा प¥यो। बलिउडका अन्य कलाकारझैँ अक्षय पनि त्यसबारे केही बोलेनन्।

‘द कश्मीर फाइल्स’ गत मार्च ११ मा भारतीय सिनेमाघरहरूमा प्रदर्शनमा आएको थियो। फिल्ममा सन् १९९० मा पाकिस्तानको समर्थन गर्ने आतंकवादीहरूद्वारा कश्मीरका पण्डितको हत्या र उनीहरूलाई घरबारविहीन बनाएको कथालाई देखाइएको छ।

विवेक अग्निेहोत्रीको निर्देशनमा बनेको फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी, दर्शन कुमारलगायत कलाकारहरूको अभिनय छ।

कतिपयले निर्देशक अग्निहोत्रीले हिन्दू–मुस्लिमबीच फाटो पार्ने उद्देश्यले फिल्म बनाएको आरोप लगाएका थिए। फिल्म सिनेमा हलमा प्रदर्शन भइरहँदा मुस्लिम समुदायविरुद्ध नारा पनि लगाइएका थिए।

‘राष्ट्रवादी अभिनेता’को छवि बनाएका अक्षय यसबारे चुइँक्क नबोल्दा फिल्मको समर्थन गरिरहेका धेरैलाई अप्ठ्यारो लाग्यो। फिल्म हेरेपछि अक्षयले एउटा ट्वीट गरे तर त्यसमा उनले फिल्मबारे होइन अभिनेता अनुपम खेरको प्रशंसा गरेका थिए। खुलेर फिल्मबारे केही पनि भनेनन्।

‘द कश्मीर फाइल्स’ प्रदर्शनमा आएको एक हप्तापछि उनले आफ्नो फिल्म सार्वजनिक गरे। राष्ट्रवादी दर्शकलाई अक्षयको यो बेहोरा मन परेन।

अक्षयको सफलता यात्रा यहीँबाट ओरालो लागेको कतिपयको भनाइ छ। अक्षय अभिनीत ‘सम्राट पृथ्वीराज’ फिल्मको समेत दर्शकले आलोचना गरे। फिल्म नराम्ररी असफल भयो।

अब निर्माता अक्षयसँग काम गर्न डराइरहेका छन्। उनीमाथि लगानी गर्ने जोखिम मोल्न सकिरहेका छैनन्। महँगो पारिश्रमिक लिने अक्षयले एकपछि अर्को फिल्म असफल हुँदा आफ्नो पारिश्रमिकसमेत घटाएका छन्। तैपनि उनलाई बलिउडका काम गर्न सकस भइरहेको छ।

प्रकाशित: २४ पुष २०७९ १४:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =