महिला खुसी पार्ने शाहरुख काइदा

हिमाल प्रेस २६ भदौ २०८० १५:३०
20
SHARES
महिला खुसी पार्ने शाहरुख काइदा

काठमाडौँ– भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ले पाँच दिनमा संसारभरि ५ सय ५० करोड भारुभन्दा बढीको कारोबार गरिसकेको छ। शाहरुख अभिनीत ‘जवान’ले उनकै पछिल्लो फिल्म ‘पठान’कै रेकर्ड पनि तोडेको छ।

सोही कारण बलिउडका ‘बादशाह’ले हिजोआज चौतर्फी प्रशंसा बटुलिरहेका छन्। फिल्ममार्फत उनले सत्तामा रहेको भारतीय जनता पार्टीको सरकारलाई प्रश्न गरेको भन्दै उनको तारिफ भइरहेको छ।

फिल्ममा शाहरुख मुख्य भूमिकामा रहे पनि महिला कलाकारले पनि त्यति नै ‘स्पेस’ पाएकोले उनको हाईहाई भएको हो। यस फिल्ममा मात्र होइन, शाहरुख अभिनीत अरू फिल्ममा पनि महिला पात्र त्यति नै सशक्त देखिने गरेका छन्।

‘पुरुषत्व’ वर्चस्व हिन्दी फिल्म उद्योगको पर्दामा हिरोलाई मात्रै बलियो र साहसी देखाइन्छ। बलिउडमा जहिल्यै पनि पुरुषवादी चरित्रकै वर्चस्व रह्यो। जहाँ फिल्ममा महिला कलाकार ‘कथाको माग’ मात्रै हुन्छन्।

हिउँ नै हिउँ भएका चिसो ठाउँमा सिफोनको सुन्दर सारी र स्लिभलेस ब्लाउजमा गाउनु र नाच्नुलाई मात्रै उनको अभिनय मान्ने बलिउडमा शाहरुखले अधिकांश यस्ता फिल्म रोजे जसमा महिला पात्र सधैँ बलियो भूमिकामा हुन्छन्।

शाहरुखले अनेकौँ फिल्ममा अभिनय गरेका विभिन्न भूमिका भारतीय समाजले गढेका पुरुषत्वको पारम्परिक मानदण्डमा मात्र सीमित छैनन्। बरु तिनले पुराना मान्यतालाई भत्काइदिएका छन्।

‘मर्द को दर्द नहीं होता’ जस्ता संवादमा रमाउने हिन्दी सिनेमामा शाहरुख क्यामराअगाडि रुन डराउँदैनन्। ‘रा-वन’ फिल्ममा सुपरहिरो बन्ने उनी ‘देवदास’ मा पारोको वियोगमा धुरुधुरु रोइदिन्छन्। आफूले माया गरेकी महिलासामु झुकिदिन्छन्। फिल्म ‘कुछ कुछ होता है’मा जस्तै। फिल्म ‘चक दे इन्डिया’ हकी कोचका रूपमा महिला खेलाडीको हौसला बढाइरहेका हुन्छन्।

आफ्नो फिल्मी करिअरमा शाहरुखले पर्दामा थुप्रै भूमिका निर्वाह गरे। तर प्रत्येक भूमिकामा उनी बलिया र संवेदनशील महिला पात्रसँग शालीन देखिए। हालै प्रदर्शनमा आएको फिल्म ‘जवान’मा उनी एक्सन हिरोको रूपमा देखिएका छन्। जसमा उनले गम्भीर राजनीतिक मुद्दा उठाएका छन्। एटलीको निर्देशन रहेको फिल्ममा नयनतारा, विजय सेतुपतिलगायत दक्षिण भारतीय कलाकारको अभिनय पनि छ।

दीपिका पादुकोण फिल्ममा अतिथि भूमिकामा छिन्। प्रियामणि, सान्या मल्होत्रा, सञ्जिता भट्टाचार्य, गिरिजा ओक, लेहर खान, रिद्धि डोगरालगायत महिला कलाकारको भूमिका सशक्त छ।

भारतमा किसान आत्महत्या, चिकित्सा क्षेत्र, भ्रष्टाचारलगायत विभिन्न सामाजिक र राजनीतिक मुद्दामा कुरा गर्ने फिल्मको सुरुदेखि नै ‘महिलाका बारेमा, पुरुषका लागि’ भनेर प्रचार गरिएको थियो।

औपचारिकताका लागि मात्र सामाजिक कथामा फिल्म बनाउन चाहने बलिउडमा शाहरुख खुलेर महिला कलाकारको समर्थन गर्छन्। त्यतिमात्र नभई उनले आफूसँग काम गर्ने महिला सहकलाकारको नाम आफूभन्दा पहिले राख्नुपर्ने अडानसमेत राखेका थिए।

एकपटक उनले अन्तर्वार्तामा आफूले महिलाहरूका कुरा धैर्यले सुन्ने बताएका थिए। शाहरुखसँग अन्तर्वार्ता गर्दा भारतीय पत्रकार अञ्जना ओमकश्यपले प्रश्न गरेकी थिइन्, ‘महिलालाई कसरी खुसी बनाउन सकिन्छ?’ त्यसको जवाफ दिँदै शाहरुखले भनेका थिए, ‘महिला एकदमै भावुक हुन्छन्, संवेदनशील हुन्छन्। उनीहरूका मनका कुरा धैर्यले सुनिदिएमात्र पनि खुसी भइदिन्छन्।’

प्रकाशित: २६ भदौ २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =