अलबिदा नेम्वाङ

सुवास नेम्वाङ : शालीन र सहकार्यका पर्याय

किरण पौडेल २६ भदौ २०८० ८:४८
26
SHARES
सुवास नेम्वाङ : शालीन र सहकार्यका पर्याय

काठमाडौँ- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले देश शोकमा परेको छ। उनको सोमबार राति १ बजे निधन भएको हो। पारिवारिक स्रोतका अनुसार नेम्वाङ शौचालय गएका बेला बेहोस भएका थिए। त्यसपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याउनेबित्तिकै चिकित्सकले  नेम्वाङको निधन भएको घोषणा गरेका थिए। दुई दिनअघिबाट हल्का ज्वरो आएपछि उनी घरमै आराम गरेर बसेका थिए।

शालीन राजनीतिका पर्याय

सुवास नेम्वाङ शालीन राजनीतिका पर्याय थिए। उनी हरेका ठाउँमा आफ्नो शालीन रूपमा प्रस्तुत हुन्थे। संसद्‌मा होस् वा बाहिर जहाँ भए पनि नेम्वाङ कम बोल्थे तर मिठो बोल्थे। उनी आफूले बोल्ने भाषणमा सहमति, सहकार्य र एकताको कुरा दोहोर्‍याइरन्थे। नेम्वाङ संविधानसभाका अध्यक्षसमेत हुन्।

उनी अध्यक्ष भएकै बेला मुलुकमा संविधान जारी भयो। संविधान जारी भएपछि उनले भनेका थिए, ‘अब देशले राजनीतिक लडाइँ लड्नु पर्दैन।’ उनी गृहजिल्ला इलाम पुगेर भन्थे,’ म कुनै पनि हालतमा तपाइँहरूकाे शिर निहुरिने काम गर्नेछैन।’ नेम्बाङलाई संविधानसभाको अध्यक्ष भएपछि उपप्रधानमन्त्री बन्न अफर आएको थियो तर उनले मानेनन्। उनले भनेका थिए, ‘म पाँचचोटि सभामुख भएँ। म मेरो मान्यतामा अडिग छु। म संविधानसभाको अध्यक्ष भएको मान्छे उपप्रधानमन्त्री खान्न भन्दिएँ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेम्वाङको सहकार्य गर्ने शैलीको स्मरण गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेम्वाङसँग राजनीतिक र सामाजिक जीवनका अनेकौँ सहज एवम् असहज परिस्थितिमा भएका सहकार्यहरू सम्झिएको छु।’ पार्टी निर्माणमा मात्र नभई व्यवस्था परिवर्तन, समाज रूपान्तरण, संविधानको रक्षा र विधिको शासन स्थापना गर्दै नेपाललाई समुन्नत राष्ट्र बनाउन सकिन्छ भन्ने दृढ मान्यता नेम्वाङमा रहेको नेपालले उल्लेख गरेका छन्।

नेम्वाङको भाषणमा संविधानको मूल्य मान्यताको कुरा हुन्थ्यो। संविधान निर्माण गर्दाको संघर्षको कुरा हुन्थ्यो। एमाले नेता योगेश भट्टराईका अनुसार नेम्वाङ सहकार्य र सहमति निर्माणमा पोख्त थिए। यस्तै उनी सबै जातिका लागि उत्तिकै प्रिय, शालीन र सरल व्यक्तित्व रहेको बुझाइ भट्टराईको छ। मन, वचन र कर्मले लोकतन्त्रवादी, विधिको शासन र कानुनी राजका अभियन्ताका रूपमा पनि भट्टराई नेम्वाङको स्मरण गरेका छन्।

एमाले इलालमा अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य महेश बस्नेतले एकजना शालीन अभिभावक गुमाउनुपर्दा आफू निकै दुःखी भएको बताए। उनले भने, ‘हामीले शालीन अभिभवाक गुमायौँ। अब देशमै नेम्वाङजस्ता राजनीतिज्ञको खडेरी पर्नेछ।’

नम्र शब्दमा विपक्षीको आलोचना 

नेम्वाङ विपक्षीको आलोचना गर्दा पनि नम्र भाषा प्रयोग गर्थे। उनी भन्थे, ‘ एकजना साथीले यसो भन्नुभएको थियो। उहाँले भनेको कुरा त तपाइँहरूले पत्याउनुभयो नि होइन?’ त्यसपछि नेम्वाङ भन्थे, ‘उहाँको अनुहार झलझली आइरहेछ। नाम बिर्सेँ।’

ठट्टा गरेर उनले आफ्ना कार्यकर्तालाई हँसाइदिन्थे। उनी विपक्षीसँग पनि हातेमालो गर्न सक्थे। संविधान निर्माणताका ठूला राजनीतिक संकटमा समेत नेम्वाङले सधैँ पुलको काम गरे। जानकारहरू उनले कहिल्यै पार्टीप्रति वकालत नगरेको बताउँछन्।

कुनै बेला नेम्वाङ भनेकै सभामुख र सभामुख भनेकै नेम्वाङ जस्तो हुन्थ्यो। नेपालको संवैधानिक व्यवस्थाका लागि ऐतिहासिक जिम्मेवारी सम्हालेका नेम्वाङ दुईपटक संविधानसभा अध्यक्ष भए। उनी सभामुख पनि बने।

२००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा नेम्वाङको जन्म भएको हो। कानुनमा स्नातक गरेका नेम्वाङ केही समय कानुन व्यवसायमा समेत संलग्न भए।विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा अनेरास्ववियुका तर्फबाट महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा स्ववियु सभापति भएका थिए। २०३३ सालमा राजकाज मुद्दामा जेल परेका नेम्वाङ तत्कालीन नेकपा मालेमा संगठित भए।

२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेको कानुन विभाग प्रमुख हुँदै २०५८ सालबाट नेम्वाङ केन्द्रीय सदस्यमा मनोनीत भए।

एमालेको सातौँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। २०७१ सालमा भएको नवौँ महाधिवेशनपछि उनी स्थायी कमिटी सदस्य र २०७८ सालमा भएको दशौँ महाधिवेशनमा उपाध्यक्ष बने।

२०४८ र २०५२ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य थिए। २०५२ सालमै कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री थिए। २०५६ सालको संसदीय चुनावमा इलामबाट विजयी नेम्वाङ फेरि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, त्यसपछि सामान्य प्रशासनमन्त्री थिए। २०५७ सालमा उनी संसद्को सार्वजनिक लेखा समितिको सभापति थिए।

२०६३ सालको अन्तरिम उनी सभामुख चयन भए। २०६४ मा भएको चुनावमा इलामबाटै निर्वाचित नेम्वाङ संविधानसभाको अध्यक्ष बने। त्यसपछि २०७० सालको दोस्रो संविधानसभा चुनावपछि पनि उनी अध्यक्ष बने। २०७४ साल र २०७९ सालको आम चुनावमा नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। उनी राष्ट्रपतिको उम्मेदवार समेत बनेका थिए। तर रामचन्द्र पौडेलसँग हारे। नेम्वाङको राजनीतिको एक हार नै यही थियो।

धर्मनिरपेक्षताबारे स्पष्टीकरण

नेम्वाङलाई नेपालमा धर्मनिरपेक्षता घुसाएको आरोप लागिरहन्थ्यो। तर नेम्वाङले यसको खण्डन  गर्दै आएका थिए। उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले धर्म निरपेक्षता घुसाउने कुरा हुँदैन। मलाई त कतै भ्रमणमा जानु पर्‍यो भने पनि घरकाले दही खुवाएर मात्र बिदा दिन्छन्।’

पहिचानवादीहरूले सम्झिरहनुपर्ने नेम्वाङको त्यो अन्तिम मन्तव्य

नेम्वाङको निधनले शोकमा इलाम

प्रकाशित: २६ भदौ २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =