अलबिदा नेम्वाङ

नेम्वाङको निधनले शोकमा इलाम

हिमाल प्रेस २६ भदौ २०८० ८:१६
2
SHARE
नेम्वाङको निधनले शोकमा इलाम

इलाम- संविधानसभाका सभामुख एवं एमाले उपाध्यक्ष नेम्वाङको निधनले देशको राजनीतिवृत स्तब्ध बनेको छ।

उनको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गर्ने क्रम चलिरहेको छ। निधनले गृह जिल्ला झनै स्तब्ध बनेको छ। एमाले कार्यकर्ता मात्र नभई अन्य राजनीतिक दलका लागि पनि अभिवाक थिए नेम्वाङ। उनी इलाम क्षेत्र नं २ का संघीय सांसद हुन्।

उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए। उनी हाल नेकपा एमाले संसदीय दलको उपनेतासमेत हुन्।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए।

नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन्। नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए। उनले देश र जनताका लागि पु¥याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए।

गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित भएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए। ‘पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ’, उनले भने, ‘इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो।’

‘उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो’, नेकपा एकीकृत समाजवादी इलामका अध्यक्ष भक्त केसीले भने, ‘उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ।’

राजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन्।

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, ‘उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ। उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ।’ राससको सहयोगमा

प्रकाशित: २६ भदौ २०८० ८:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =