खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण

हिमाल प्रेस २५ भदौ २०८० २१:२२
8
SHARES
खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण

काठमाडौँ- कलाकार खगेन्द्र लामिछानेको पुस्तक पानीफोटो लोकार्पण भएको छ। कलाकार नीर शाह, सुरक्षा पन्त, मलिका महत, स्वस्तिमा खड्का, ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निश्चल बस्नेत, दीपेन्द्र के खनाल, अशोक शर्मा र लेखक लामिछानेलगायतले सोमबार पुस्तकको संयुक्त लोकार्पण गरेका हुन्।

लेखक लामिछानेसँग सञ्चारकर्मी शिवानीसिंह थारुले पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिन्। संवादका क्रममा लेखक लामिछानेले पुस्तकमा चलचित्रका प्राविधिक पक्षको यात्रालाई सुक्ष्म किसिमले लेखिएको बताए।

वरिष्ठ कलाकार नीर शाहले लेखक लामिछानेले पुस्तकमार्फत देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए। ‘पानीफोटोले सम्पूर्ण योग्यता बोक्छ, यसले चलचित्र पढ्ने विद्यार्थीहरूलाई ग्य्राजुएसन गर्न चाहिने विषयवस्तु बोकेको छ,’ उनले भने ‘चलचित्र बनाउँछु भनेर हिँड्नेहरूले एक पटक पानीफोटो अवश्य पढ्नुहोला।’

निर्देशक मनोज पण्डितले यो पुस्तक चलचित्र क्षेत्रका हरेक व्यक्तिले पढ्नैपर्ने धारणा राखे। आफ्नो माटो सुहाउँदो चलचित्र कसरी बन्छ भन्ने सन्दर्भमा पुस्तक कमै मात्रामा लेखिएको र त्यसको अभाव पूर्ति गर्न आफूले पानीफोटो लेखेको लेखक लामिछानेले बताए।

चलचित्र निर्माणका क्रममा आफूले केही घटना एवम् यात्रालाई नोट गरेको र कोरोनाकालमा त्यसलाई लिपिबद्ध गरेको उनको भनाइ छ।

प्रकाशन गृह फाइनप्रिन्टका लागि यो पुस्तक खास रहेको प्रकाशक नीरज भारीले बताए। ‘यो पुस्तक विशेषगरी चलचित्रमा रूचि राख्नेहरुका लागि बढी उपयोगी छ। चलचित्र के हो? चलचित्र निर्माणको योजनादेखि, निर्माण–प्रदर्शनसम्मको यात्रा कथालाई यसले जीवन्तरूपमा प्रस्तुत गरेको छ,’ उनले भने, ‘चलचित्र अध्ययन गर्नेहरूका लागि त यो ‘पाठ्यपुस्तक’ नै हो । नेपाली वाङ्मयमा यस किसिमका पुस्तक बिरलै आएका छन्।’

लामिछानेले यसअघि पानीफोटो चलचित्र बनाएका थिए। ‘पानीफोटो’ माओवादी सशस्त्र युद्वको सयममा छोरा बेपत्ता पारिएका बाबुआमा र उनीहरुले छोरा खोज्न गरेको प्रयत्नको कथा हो।

यस कथाका लेखक खगेन्द्रले ‘पानीफोटो’ नाटकलाई सन् २०१० मा आरोहण गुरूकुलमा मञ्चन गरेका थिए। यही नाटकलाई कलाकार लामिछानेले आफ्नै निर्देशनमा चलचित्रको स्वरूपमा प्रस्तुत गरेका थिए। अहिले पुस्तक सार्वजनिक गरेका छन्।

पुस्तकमा लामिछानेले नाटकदेखि सिनेमासम्मको यात्रा कथा उतारेका छन्। कथालाई एउटा माध्यमबाट अर्कोमा लैजाँदा केके परिवर्तन गर्नुपर्छ, त्यो देखाएका छन्।

को हुन् लामिछाने ?

लेखक एवम् अभिनेता खगेन्द्र लामिछानेले वधशाला, टलकजङ्ग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपति, डमरुको डन्डीबियो, जय भोले, पानीफोटो, द सिक्रेट अफ राधा, गुराँसलगायत चलचित्रमा अभिनय गरिसकेका छन्।

चलचित्र लेखन एवम् नाटक निर्देशनमा पनि सक्रिय लामिछानेले लेखेका र निर्देशन गरेका नाटक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन भइसकेका छन्।

आफूले अभिनय गरेका धेरैजसो सिनेमा उनी आफैँले लेखेका छन्। फूलानी (कथासङ्ग्रह), कथा नाटक (नाटकसङ्ग्रह), खगेन्द्र लामिछानेका नाटक (नाटकसङ्ग्रह) र फुर्के (उपन्यास) प्रकाशन गरिसकेका छन्।

उनले सन् २००७ देखि २०१३ सम्म बीबीसी मिडिया एक्सन नेपालले उत्पादन गरेको रेडियो नाटक कथा मीठो सारङ्गीको र कथामालाको विभिन्न पदमा रहेर काम गरिसकेका छन्। ‘पानीफोटो’ लामिछानेले निर्देशन गरेको पहिलो चलचित्र हो।

प्रकाशित: २५ भदौ २०८० २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 18 =