‘एक भगवत् गीता’को विरोधप्रति फिल्मकर्मी आक्राेशित

हिमाल प्रेस २१ भदौ २०८० १३:५८
12
SHARES
‘एक भगवत् गीता’को विरोधप्रति फिल्मकर्मी आक्राेशित

काठमाडौँ- फिल्म ‘एक भगवत् गीता’ को विभिन्न धार्मिक र समुदायका संघसंस्थाले विरोध जनाउने र प्रमाणीकरण गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना गर्दा फिल्मकर्मी आक्रोशित भएका छन्।

फिल्म निर्देशक मनोज पण्डितले सामाजिक सञ्जाल फेसबुकमा यसबारे टिप्पणी गरेका छन्।

‘कोकोबाट प्रमाणीकरण गर्नुपर्ने हामीले?’ उनले लेखेका छन्, ‘यसरी प्रमाणीकरण गर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था नेपालको संविधान विपरीत छ।’

फिल्मकर्मीहरूले सबै जात, धर्म, भाषाको सम्मान गर्ने उनले बताएका छन्। ‘हामी चलचित्रकर्मी सम्वेदनशील छौँ तर यसरी प्रमाणीकरणको नाउँमा नेपाली फिल्मले भोग्नुपर्ने दबाब र सेन्सरसिपको विषयमा अत्यन्त गम्भीर हुनुपर्ने समय आएको छ।’

एकपछि अर्को धार्मिक संगठनले फिल्मको विरोध जनाउन थालेपछि ‘एक भगवत् गीता’को निर्माण टोली दबाबमा परेको छ। यसअघि हिन्दू धार्मिक संस्थाको विरोधका मारमा परेको फिल्मलाई हिजो (भदौ २०) मा अर्को संकट आइलाग्यो। गुरुङ फिल्मको छाता संस्था गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)का रूपमा। जिफानले फिल्म निर्माण पक्षलाई पत्र पठाउँदै गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो भनी प्रश्न गरेको छ। कथावस्तुबारे स्पष्ट हुन चाहेको भन्दै विज्ञप्ति जारी गरेको छ।

त्यसमा फिल्ममा गुरुङ समुदायको वेशभूषासहित केही कथावस्तु समेटेको हुँदा फिल्मको छायांकनअगावै कथाको उक्त अंश जिफानबाट प्रमाणीकरण हुनुपर्ने उल्लेख गरेको छ। ‘सामाजिक सद्भाव बनाइराख्न, राष्ट्रियता र नेपाली फिल्मलाई विवादरहित बनाउन ‘एक भगवत् गीता’मा गुरुङ समुदायको कुन विषय समावेश गरिएको हो उल्लेख गरी पठाइदिनुहोला,’ विज्ञप्तिमा लेखिएको छ।

फिल्म निर्देशक पण्डितद्वारा उठाइएको प्रमाणीकरणको कुरा यही हो। भदौ २९ मा प्रदर्शनमा आउने ‘एक भगवत् गीता’ घोषणा भएदेखि नै विवादमा छ। फिल्मले नामकै कारण विभिन्न धार्मिक संस्थाबाट दबाब झेलिरहेको छ।

पवित्र धर्मग्रन्थ भागवत गीताको नामबाट फिल्म बनाउँदा समाजमा गलत सन्देश जाने भन्दै हिन्दू जागरण नेपाल, आध्यात्मिक विकास समाज, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत धार्मिक संस्थाले विरोध जनाएका छन्। उनीहरूले फिल्मको नाम बदल्न दबाब दिइरहेको निर्माण पक्षको भनाइ छ।

फिल्मका निर्माता सुनील थापाले आफूहरू धर्ममा विश्वास गर्ने र धार्मिक आस्थामाथि चोट पुग्ने काम नगरेको एक अन्तर्वार्तामा बताएका छन्। ‘हामी धर्ममका विश्वास गर्छौं,’ उनले भनेका छन्, ‘धर्ममाथि चोट पर्ने काम गरेका छैनौँ।’

झरना थापाको निर्देशनमा बनेको फिल्ममा सुहाना थापा, धीरज मगर, विपिन कार्की मुख्य भूमिकामा छन्। फिल्ममा धीरजले गुरुङ समुदायका युवकको भूमिका निर्वाह गरेका छन्। फिल्ममा ‘भगवत्’ केटा र ‘गीता’ केटीको नाम रहेको निर्माण पक्षले जनाएको छ। त्यस्तै विपिन कार्की कमलामाईको भूमिकामा देखिएका छन्।

प्रकाशित: २१ भदौ २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =