‘थाङ्ग्राले उठाएको मुद्दा- रनभुल्लमा सत्ता’

सुस्मिता बजगाईं २० भदौ २०८० २१:४०
150
SHARES
‘थाङ्ग्राले उठाएको मुद्दा- रनभुल्लमा सत्ता’

काठमाडौँ- यस वर्ष मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कारका लागि छनोटमा परेको उपन्यास हो ‘थाङ्ग्रा’। थाङ्ग्राले टेकोलाई बुझाउँछ। यसै शब्दलाई उपन्यासको रूप दिएकी हुन् उपन्यासकार प्रगति राईले।

राई कलमको माध्यमबाट नारी अधिकारको आवाज उठाउने उपन्यासकारका रूपमा परिचित छिन्। थाङ्ग्रासहित उनका ‘लेखककी स्वास्नी,’ ‘बिर्सेको मृत्यु’जस्ता उपन्यास पाठकमाझ चर्चित छन्।

प्रज्ञा प्रतिष्ठान कमलादीमा बुधबार ‘थाङ्ग्रा’ माथि बहस गरिएको छ। ‘थाङ्ग्राले उठाएको मुद्दा– रनभुल्लमा सत्ता’ विषयक बहसका वक्ताहरू साहित्यकार धनकुमारी सुनार, प्रतिनिधिसभा सदस्य सन्तोष परियार र समीक्षक गनेश खनियाले पुस्तकमा उठाइएको विषय, कमीकमजोरी र सुधारका पक्षबारे चर्चा गरे। लेखक राईसहित कार्यक्रम सहजकर्ताको भूमिकामा पत्रकार तथा लेखक बच्चु हिमान्शु थिए।

बहसमा उपन्यासमा आएका पात्र साया, सोमा र सौरभको चरित्र चित्रणबारे धेरै प्रश्नहरू उठेका थिए। विद्रोही पात्र सोमा, निरिह र कमजोरी पात्र साया र सौरभको विद्रोह र व्यावहारिक भूमिकालाई वक्ताहरूले आफ्नै ढंगले व्याख्या गरे। तीनै पात्रको चरित्र चित्रणले उपन्यास सशक्त भएको उनीहरूको निष्कर्ष थियो।

उपन्यासले दलित समुदाय, सीमान्तकृत समुदाय र पहिचानवादीका लागि संघर्षरत आन्दोलनकर्ताको विषयलाई उठाएको छ। साथै अन्तरजातीय प्रेम, महिला हिंसा, छोरीलाई वंश नमान्ने पितृसत्तात्मक समाजको सोचलाई चिर्न खोजेको छ।

उपन्यासकार राईले उपन्यास आफ्नो जीवनको भोगाइ नभएको उल्लेख गरिन्। परिवारको आफू चौथो सन्तान भएकाले पनि उपन्यासका पात्रले जस्तो भोग्नु नपरेको उनको अनुभव छ।  ‘म परिवारको चौथो सन्तान हुँ। उपन्यासको कथा मेरो कथा होइन। मैले समाजको कथा टिपेकी हुँ,’ उनले भनिन्, ‘परिवार र आफन्त महिलालाई दिने पीडा कसरी सहन सक्छन् भन्ने मन भित्रको प्रश्नलाई उपन्यासको विषयवस्तु बनाएकी हुँ।’

उनका अनुसार उपन्यास महिलाको विषयमा मात्र केन्द्रित नभएर सबै समाजलाई सरलीकरण गर्न आह्वान गरिएको छ। उपन्यास किराँत सभ्यतामा संस्कारलाई पनि झल्काएको उनले बताइन्। किराँत समुदायमा विवाहपछि माइतीको चुलोमा छोरीलाई जान दिँदैनन्। घरबाट पनि सम्बन्धविच्छेद भएपछि माइतीमा बस्न दिइँदैन्। उपन्यासले महिलाले चुलोमा आफ्नो दाबी गर्नुपर्छ भन्ने किराँत संस्कारलाई उठाएको राईले उल्लेख गरिन्।

सांसद सन्तोष परियारले उपन्यासले किराँत सभ्यता र मुन्धुम संस्कृतिलाई झल्काएको बताए। परम्परामा जात व्यवस्था नभएको बताउँदै उनले संसारमा मानव बस्ती बसाइराख्दा जात व्यवस्था आएको उल्लेख गरे। ‘उपन्यासमा महिलाको कुरा शक्तिशाली भए पनि जात व्यवस्था अझ महत्त्वपूर्ण छ,’ उनले भने, ‘समाजमा अझै जातीय विभेद धेरैले स्वीकार्न सकेका छैनन्।’

अबको समाजमा समानतामात्रै नभएर समताको पनि कुरा गर्न जरुरी रहेको उनले बताए। माथिल्लो तहका सत्ता वर्गले बुझेर र जानेर नै दलित समुदायलाई थिचेको उनले जिकिर गरे।

समाजको मुख्य मुद्दालाई कलम चलाउनुपर्छ भन्ने उपन्यासकारको विशेषता हो। उपन्यासले जातीय विभेद र पुरुषसत्तात्मक सोचलाई हटाउन सशक्त रहेको परियारले बताए। उनका अनुसार उपन्यासमा सोझोपन, सचेतना/जनचेतना र विद्रोह गरी तीन किसिमका पात्र रूपान्तरित भएका छन्।

उनले जातीय व्यवस्था निर्मूल गर्न आन्दोलन गरेर मात्र होइन विचारअनुसार व्यवहार पनि हुन आवश्यक रहेको बताए। ‘उपन्यासको पात्र सुशान्त विद्रोहीसहित व्यवहार पनि देखिएको छ,’ उनले भने।  पछिल्लो समय जातीय विभेद, महिला हिंसाजस्ता घटनाहरूको नयाँ रूप देखा परेको परियारले बताए।

धनकुमारी सुनारले उपन्यास थाङ्ग्रा नारीवादी उपन्यासको रूपमा व्याख्या गरिन्। कृतिको नाम आफैँमा सशक्त बिम्ब रहेको उनले बताइन्। ‘महिलामा सदीयौँदेखि पीडा लुकिरहेको हुनाले उनीहरू आफैँमा राम्रो कथा प्रस्तोता हुन्,’ उनले भनिन्।

उपन्यासमा जनजाति, आदिवासी महिलाको उत्पीडन, पहिचान र सभ्यताको प्रसंगलाई सशक्त ढंगले उठाएको उनको बुझाइ छ। उनीहरूले अनुभूति गरिरहेको उत्पीडन, शोषण र विभेदको कुरा स्पष्ट रूपमा उपन्यासमा आएको उनले बताइन्। ‘समाजको कथा देखाउनु सिर्जनशील मात्र हो,’ धनकुमारीले भनिन्, ‘अबका उपन्यासमा त्यसलाई समाधानको विषयलाई उठाउनुपर्छ।’

उपन्यास बढी व्यक्तिवादी भएको उनले खण्डन गरिन्। अन्तरजातीय प्रेम, वंशको कुरा सशक्त ढंगले नआएको उनले औँल्याइन्। ‘उपन्यासमा समय कुरेर जातीय उन्मूलन आउने प्रसंग छ,’ उनले भनिन्, ‘समय कुरेर होइन अहिलेदेखि नै सुरु गर्नु जरुरी छ।’

उपन्यासकी पात्र सोमा घरभित्र भएको हिंसा, विभेद, वंशका लागि प्रश्न गर्ने पात्रमात्र भएको भन्दै त्यसले पूरै समाजको विद्रोह नहुने उल्ले गरिन्। त्यसको लागि आन्दोलनमा होमिनु आवश्यक रहेको उनले सुझाइन्। उनले उपन्यासले सुधारवादी र समान्य परिवर्तनको काम गर्ने बताइन्।

समीक्षक गनेश खनियाले उपन्यासमा धेरै विषय भएको बताए। ‘उपन्यास विभेदीकरण, प्रेम सम्बन्ध र परिवारमा घुमेको छ,’ उनले भने, ‘उपन्यासमा पात्रले आआफ्नै ढंगले विरोध गरेका छन्।’ पछिल्लो समय उपन्यासकी सोमा पात्र गाउँ सहरमा रहेको उनले जिकिर गरे। उनले पनि उपन्यासको भाषालाई उत्कृष्ट ठाने। उपन्यासमा आधुनिक शब्द प्रयोग गरिएको बताए। उपन्यासको भाषा सरल भए पनि विद्रोहको भाव राज्य सत्ताले थेग्न गाह्रो रहेको प्रसंग उठाइएको छ।

कार्यक्रममा केही पाठकले पुस्तकबारे आफ्नो प्रतिक्रिया दिएका थिए। सोही क्रममा शोभा सारभले उपन्यास माहिला सशक्तीकरणका लागि लेखिएको बताइन्। ‘उपन्यास दलित समुदायको प्रेम कथा हो। छोरीलाई वंश नमान्ने परम्परा, मायामा गर्ने मान्छेले कसरी हिंसा गरिरहेको हुन्छ भन्ने पनि छ,’उनले भनिन्।

प्रयास टुमीले उपन्यास छोरीले स्वतन्त्रताको हक पाउनुपर्छ भन्ने वरिपरि घुमेको बताए। ‘आमाको नामबाट नागरिकता पाउनुपर्ने, वंशको कुरा अझै समाजमा विद्यमान छ,’ उनले भने। आमाले सम्पूर्ण जिम्मेवारी दिए पनि उनी सधैँ पर्दा पछाडि नै रहन्छन् भन्नेलाई उपन्यासले चिर्न खोजेको उनले उल्लेख गरे। रमी श्रेष्ठले सोमाको विद्रोहको कथाले आफूलाई छोएको बताइन्। ‘महिलाहरू घरभित्र आफै दलितजस्तै भएर हेपिएर बस्नुपरेको छ,’ उनले भनिन्।

प्रकाशित: २० भदौ २०८० २१:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =