मदन पुरस्कार श्रेष्ठ सूची : पाँच कृतिका यस्ता छन् विशेषता

सुस्मिता बजगाईं २७ साउन २०८० ६:१०
78
SHARES
मदन पुरस्कार श्रेष्ठ सूची : पाँच कृतिका यस्ता छन् विशेषता

काठमाडौँ- मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि उत्कृष्ट पाँच कृति सार्वजनिक गरेको छ। छनोट भएका कृतिमा  विवेक ओझाको ‘ऐँठन’, सुविन भट्टराईको ‘इजोरिया’, प्रगति राईको ‘थाङ्ग्रा’, सञ्जय विष्टको ‘माटाको घर’ र द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ छन्। यहाँ ती पुस्तक कुनकुन विधाका हुन् अनि तिनका विशेषताका बारेमा छोटो चर्चा गरिएको छ।

ऐँठन

विवेक ओझाको उपन्यास हो ‘ऐँठन’। उनको यसअघि प्रकाशित ‘ऐलानी’ उपन्यास पनि लोकप्रिय छ। ‘ऐँठन’ उपन्यासको विषयवस्तु ‘माओवादी जनयुद्ध’मा आधारित छ। ओझा भन्छन्, ‘पुस्तक प्रकाशित भएदेखि नै पाठकबाट राम्रो प्रतिक्रिया पाइरहेको थिएँ। मदन पुरस्कारका लागि छनोट होला भन्ने चाहिँ सोचेको थिइनँ।’

उनले पुरस्कारका लागि पुस्तक छनोटमा पर्दा निकै खुसी लागेको प्रतिक्रिया दिए। ‘जनयुद्ध’मा नेपाली जनताले भोगेको संघर्ष र द्वन्द्वको कथा उपन्यासमा समेटिएको छ। सरल भाषा र आञ्चलिकताको प्रयोग गरिएको यो उपन्यास कलात्मक छ। पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो।

इजोरिया

‘इजोरिया’ सुबिन भट्टराईको छैटौँ उपन्यास हो। यसअघि भट्टराईका ‘कथाकी पात्र’, ‘समर लभ’, ‘साया’, ‘मनसुन’ र ‘प्रिय सुफी’जस्ता उपन्यास प्रकाशित छन्। मदन पुरस्कारमा छनोट भएको उपन्यास ‘इजोरिया’मा भट्टराईले तराई मधेशको परिवेशलाई लिएर महिला पात्रको संघर्षको कथा भनेका छन्। उपन्यासकी पात्र हुन् इजोरिया। उपन्यासमा प्रेम, जीवन र दर्शनको समिश्रण छ।

उपन्यासमा परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वको कथा छ। हिंसा सहेर घर सम्हालेकी एक गृहिाणीको संघर्ष, दाइजो प्रथा र सन्तान छोरा नै हुनुपर्ने पुरातनवादी सोच र रूढिवादी परम्परा, निःस्वार्थ मित्रताजस्ता बहुआयामिक विषय उपन्यासमा पाइन्छन्। यो उपन्यास फाइन प्रिन्टले प्रकाशन गरेको हो।

थाङ्ग्रा

मदन पुरस्करका लागि छनोटमा परेको अर्को उपन्यास हो ‘थाङ्ग्रा’। उपन्यासका लेखक तथा साहित्यकार प्रगति राई हुन्। उनका ‘लेखककी स्वास्नी’ र ‘बिर्सेको मृत्यु’ उपन्यास पनि प्रकाशित छन्। ‘थाङ्ग्रा’ उपन्यासमा नारीमाथि हुने विभेदमा आधारित छ।

लेखक राईले कृति मदन पुरस्कारमा छनोट हुँदा खुसी लागेको बताइन्। ‘केही पाठकबाट मेरो उपन्यास मदन पुरस्कारका लागि छनोटमा पर्न सक्छ भन्ने प्रतिक्रिया आएको थियो’, उनले भनिन्। उपन्यासले महिलालाई सम्मान गर्नुपर्ने र वंश अधिकारमा विभेद गर्न नहुने सन्देश दिएको छ।

उपन्यासमा छोरा नजन्मिएर दोस्रो विवाह गर्ने वंश अधिकारको प्रसंग जोडिएको छ। जसका कारण समाज, परिवार र आफन्तले महिलामाथि हेला गर्ने प्रवृत्तिलाई उपन्यासले चिरफार गरेको छ। साथै उत्पीडन वर्ग, अन्तरजातीय विवाह र प्रेमको चित्रण उपन्यासमा पाइने अन्य विषय हुन्। कृति फिनिक्स बुक्सले प्रकाशन गरेको हो।

माटोको घर

सञ्जय विष्टको आख्यानात्मक कृति हो ‘माटोको घर’। पुस्तकमा माटाका लागि गरिएका संघर्षको कथा छ। दार्जिलिङमा चलेको गोर्खाल्यान्ड आन्दोलनबाट सृजित बेमेल परिस्थितिलाई पुस्तकमा वर्णन गरिएको छ। पुस्तकमा लेखकले आफ्नै संघर्षका कथा पनि समावेश गरेका छन्।  यसको प्रकाशन साङ्ग्रिला बुक्सले गरेको हो।

चक्रव्यूहमा नेपालको जलस्रोत

‘चक्रव्यूहमा नेपालको जलस्रोत’ नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले लेखेको संस्मरणात्मक कृति हो। ढुंगेल २०५२ सालदेखि २०५५ सम्म जलस्रोत मन्त्रालयका सचिव थिए। उनी महाकाली सन्धिको मस्यौदा तयार पार्ने देखि सन्धिमा हस्ताक्षर हुँदासम्म भारतसँग भएका द्विपक्षीय संवादका एक प्रमुख सरकारी कर्मचारी हुन्।

पुस्तकमा उनले जलस्रोत मन्त्रालयमा काम गर्दाको अनुभव र भोगाइलाई समेटेका छन्। तत्कालीन समयमा भारतसँग भएको महाकाली सन्धिबारे नेपाल र भारतबीच भएका सबै पत्राचार पुस्तकमा समेटिएको छ।

महाकाली सन्धिका मुख्यमुख्य बुँदामा विवाद चलिरहँदा ढुंगेलले प्रमुख प्रतिपक्षी दलको विश्वास प्राप्त गर्न र भारतसँग सन्धिका बारेमा वार्ता हुँदा राजनीतिक नेतृत्व वर्गलाई सघाएका थिए।

भारतसँग भएको विद्युत ऊर्जा व्यापार सम्झौता (पीटीए), कर्णाली–चिसापानी आयोजनामा अमेरिकी बहुराष्ट्रिय कम्पनी एनरोन नेपाल प्रवेश गरेपछि नेपालको राजनीतिक वृत्तमा देखिएका प्रवृत्ति, पश्चिम सेती जलविद्युत् आयोजनामा अस्ट्रेलियन कम्पनी स्मेकको संलग्नता, विश्व बैंकको सहयोगमा ऊर्जा विकास कोषको स्थापनालगायत मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित अन्य विषयमा भए गरेका कामकारबाहीको विस्तृत विवरण पुस्तकमा समटिएको छ। यो पुस्तक सिमल बुक पब्लिकेसनले प्रकाशन गरेको हो।

मदन पुरस्कारका लागि गुठीमा ३१३ पुस्तक प्राप्त भएका थिए। छनोटमा परेका यी पुस्तकमध्ये एउटालाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष २०७९ को मदन पुरस्कार अर्पण गरिनेछ।

०००

मदन पुरस्कार’ एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिहरूमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो। ‘मदन पुरस्कार’ स्थापना हुने घोषणा सवर्प्रथम २०१२ असोज १० गते भएको थियो। २०१३ सालमा पहिलोपटक ‘हाम्रो लोक संस्कृति’ का लागि सत्यमोहन जोशी, ‘जनरल भीमसेन थापा’ का लागि चित्तरञ्जन नेपाली तथा ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ का लागि बलराम जोशीले ‘मदन पुरस्कार’ प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।

२०२५ सालसम्म गुठीले चार–चार हजारका जम्मा चार ओटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको थियो। त्यसपछि दस–दस हजार रुपैयाँका दुई सम्मान दिने व्यवस्था भयो।

२०३३ सालपछि भने एक मात्र सम्मान दिने व्यवस्था गरियो र सम्मान रकम पच्चीस हजारको भयो। त्यसपछि सम्मान रकम २०४० सालमा तीस हजार, २०४२ सालमा चालीस हजार, २०४३ सालमा पचास हजार, २०५१ सालमा एक लाख, २०६१ सालमा दुई लाख तथा २०७५ सालमा चार लाख भएको छ।

मदन पुरस्कारको सूचीमा ‘इजोरिया’देखि ‘ऐँठन’सम्म


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =