पुस्तक चर्चा

भुइँमान्छेको आर्तनाद ‘ऐँठन’

विवेक विवश रेग्मी १८ कार्तिक २०८० १०:३५
64
SHARES
भुइँमान्छेको आर्तनाद ‘ऐँठन’

जीवनको दुःख कति हुन्छ? जीवन रहुन्जेल? बाँच्ने कति समयका लागि हो? जति बाँचिन्छ, बाँचुन्जेल? मान्छेले बाँच्नका लागि केके गर्छ? दुःख, संघर्ष या युद्ध? यसको उत्तर नहुन पनि सक्छ। तर बाँच्नका लागि युद्ध आवश्यक छैन। बरु युद्धमा प्रयोग हुने ‘हतियार बनाउने पैसा गरिबी निवारणका लागि प्रयोग भए’ बाँच्नका लागि आममानिस युद्धमा होमिनुपर्थेन। संघर्ष गरेरै सहज जीवन बाँच्न पाइन्छ। कसैले आफ्ना शरीरका अंग गुमाउनुपर्थेन, परिवार गुमाउनुपर्थेन र कसैले जीवन गुमाउनुपर्थेन।

उल्लिखित प्रश्नहरूको उत्तर खोज्ने हो भने विवेक ओझाको उपन्यास ‘ऐँठन’ पढे हुन्छ। मानिसले बाँच्नका लागि युद्ध गरिरहनुपर्दैन।

ओझाको दोस्रो उपन्यास ऐँठन पढाइको ‘ग्याप’ रह्यो। ‘ऐँठन’ले मदन पुरस्कार प्राप्त गर्नुअघि पढ्न सुरु गरे पनि पुरस्कार प्राप्त गरिसकेपछि मात्रै पुस्तक पढिसक्ने अवसर जुर्‍यो। केही समय अध्ययन गरिसक्न समय मिलेको थिएन। तर जब पढ्न सुरु गरेँ, तब घत लाग्यो। पुस्तक पढी नसकीकन अरू केही गर्नै मन लागेन। पाठकको मनलाई विचलित बनाउने उपन्यासका घटनाक्रम गम्भीर छन्।

भुइँमान्छेको आर्तनादको कथा ‘ऐँठन’ले पटकपटक हृदय हल्लाउँछ। पुस्तकको मुख्य पात्र बबनकुमार हो। उसले युद्धमा यातना भोगेको छ, भोकै पेट लिएर यद्धमा खटिएको छ। त्यति मात्र होइन, उसले परिवार गुमाउनुको पीडा अत्यन्त मार्मिक छ। कैयौँपटक उसका आँखा र कान हुँदै गोली र बारुद दगुरेका छन्। यसरी ऊ मृत्युको मुखबाट पटकपटक उम्किएको छ।

बबनकुमार दाङको शान्तिनगर माध्यमिक विद्यालयका विज्ञान विषय शिक्षक हो। ऊ उपन्यासको काल्पनिक पात्र भए पनि समाजमा बबनकुमारजस्ता हजारौँ मानिस ‘ऐँठन’ मा उल्लेख भएजस्तै जीवन बाँचिरहेका छन्। बाँच्न त बाँचेका छन्। युद्धमा कसैले परिवार गुमाएर बाँचेका छन्। कसैले शरीरका अंग गुमाएर बाँचेका छन्। कोही युद्धमा पाएको आर्तनादको खपिनसक्नु पीडा लिएर बाँचेका छन्।

बबनकुमारजस्ता हजारौँ पात्रले बाँचिरहेको खास समाजको कथा हो, ‘ऐँठन’। ऐँठनमै परेर बाँचिरहेका जीवनहरूबारे लेखिएको कथा हो, ‘ऐँठन’।

‘कसैले हतियार नबनाए कोबाट असुरक्षा हुन्छ? अनि सबैले हतियार बनाए कोकोबाट सुरक्षा हुन्छ? वास्तवमा संसार ध्वस्त नहुन्जेल मान्छे युद्ध गरिरहनेछ। हतियार बनाइरहनेछ ।’

पुस्तकमा उल्लेख भएजस्तै हतियार नबनाए असुरक्षा नै हुँदैन र युद्ध नै हुँदैन। हतियार बनाउनु भनेको युद्ध हुनु हो। युद्ध हुनु भनेको मानिस असुरक्षित हुनु हो। लेखकले पुस्तकमा युद्धको कथा लेखेर जीवन खोजिरहेका छन्। जिन्दगी बाँच्नका लागि उनले युद्धको आवश्यक नहुने चित्रण गरेका छन्।

बबनले भोगेको जीवन सायदै युद्धमा होमिएकाहरूले भोगेका छन्। नभोगे पनि देखेका छन्। नदेखे पनि सुनेका छन्। कैयन् यस्ता आर्तनादले भरिएको समयलाई उपन्यासकार ओझाले मिठो, कारुणिक, रोदन, दुःख र अनुभूतिको गहिरामा पुगेर शब्दमा व्यक्त गरेका छन्।

शब्दहरूको संग्रह हो, पुस्तक। पुस्तकका अक्षरहरूको संग्रहले जीवन पनि उत्कृष्ट। तर कस्ता शब्दले उत्कृष्ट बन्छ पुस्तक? पुस्तक लेख्ने र पढ्नेहरूले कहिलेकाहीँ यी प्रश्न आफैँलाई गरेका हुन सक्छन्। उपन्यासकार ओझाले ऐँठनमा तिनै सुन्दर, कारुणिक र हृदयमै बस्ने शब्दहरूको संयोजन गरेका छन्।

बबनकुमारकी श्रीमती उर्मिलालाई घरभित्रै रहेको समयमा अचानक गोली लाग्छ। त्यसअघि छोरा प्रह्लादले तोते बोलीमै भन्छन्, ‘बाबा हाम्लाई केई हुन्न। हाम्ले केई पाप गरेका छैनौँ।’

केही मिनेटमै प्रह्लादकी आमा अर्थात् बबनकुमारकी श्रीमती उर्मिलालाई गोली लागेपछि छटपटी हुन्छ। गोली लागेका कारण श्रीमतीको अचेत अवस्था हुनु, घरमा आगो लाग्नुको पीडा त छँदैछ, थोरै उपचारले मृत्युको सम्मुखबाट फिर्ता ल्याइहाल्छ कि, के थाहा? बबनकुमारसँग आस छ। छोरालाई दायाँ काखमा र श्रीमतीलाई बायाँ काँधमाथि राखेर बबनकुमार अन्धकार रातमा घरबाट अस्पतालतर्फ लाग्छ। बाटोमा छापामार भेटिन्छन्। बबनकुमारले आफू अस्पताल हिँडेको बताएपछि विद्रोहीहरू प्रश्न गर्छन्, स्वास्थ्य चौकीले मरेको मान्छे ब्युताउँछ?

सँगै च्यापेको छोरोको पनि मृत्यु नजिक पुगिरहेको दृश्यलाई लेखकले अत्यन्तै कारुणिक तरिकाले प्रस्तुत गरेका छन्। छापामारले बबनकुमारसँग भन्छ, ‘म शरीर देखेर जिउँदो या मरेको भन्न सक्छु, बुझिस्। तेरी जोई मरिसकी। छोरो, छिट्टै मर्दै छ, दुईचार सासमा।’ छोरालाई पनि गोली लागेको हुन्छ।

नभन्दै छापामारले भनेको सत्य साबित भयो। आफ्नी जहान र छोरालाई गुमाएपछि बबनकुमार बेचैन बन्छ। उसलाई छापामारले सँगै लिएर हिँड्छन्। नाडी चल्दै गरेको छोरा प्रह्लाद र उर्मिलालाई छापामारसँगै गाड्न लगेको दृश्यले कुन पुरुष सम्हालिन सक्छ?

बबनकुमार अहिले यस्तै अवस्थामा छ।

केही समयको भोगाइपछि बबनकुमार चुप रहन्छ। बबनकुमारले आफूले भोगेको कथा अस्पतालका डाक्टरलाई सुनाइरहेको दृश्य हो, यो।

अस्पतालको थेरापिस्टको क्याबिनमा डाक्टरलाई आफ्नो विगत (१९ वर्षअघिको घटना) सुनाइरहेको छ, बबनकुमार। आफूले भोगेको पीडादायी विगत सुनाउँदा ऊ पटकपटक भक्कानिएको छ। कैयौँ पटक फेरि उही परिवेशमा पुगेको छ। डाक्टरले पनि आँसु पुछेका छन्।

माओवादी सशस्त्र द्वन्द्वको कथामा केन्द्रित रहेर तयार गरिएको पुस्तकमा भुइँमान्छेले भोगेका कुरालाई समेटिएको छ। एक दिन अस्पतालबाट भागेर मानवबस्तीमा पुगेका बबनकुमार एक घरमा बास माग्छ।

दायाँ खुट्टा गुमाएका एक अधबैँसेकहाँ बास बस्न पुगेका बबनकुमार र ती मानिसबीच केहीबेर संवाद हुन्छ। संवादका क्रममा ती युवकले आफ्नो नाम बताउँछ, धावक। धावक भन्छ, ‘दोस्त कल्पना गर्छु, त्यो फोटोको म फुत्त बाहिरिऔँ र लङ्गडो म त्यो क्यानभासमा कैद भैजाऔँ। कामना गर्छु, समय अफसाइड डाउन भइजओस्।’
धावक र बबनकुमार गफिँदै जाँडको चुस्की लिन्छन्। त्यस क्रममा एक वृद्ध आउँछ। ऊ पनि जाँडको चुस्कीमा सहभागी हुन्छ। गफकै क्रममा बबनकुमारलाई आफ्ना विगत सुनाउँछ।

कथाअनुसार ती वृद्धका छोरा सागरको मेडिकल थियो। गाउँलेकै उपचारमा सरिक सागरलाई एक दिन बन्दुकधारीले घाइते लडाकुको उपचार गर्न भए पनि आफैँसँग जान प्रस्ताव गरे। तर सागरले मानेन। गाउँलेकै सेवा गर्ने अठोट लिएका सागरलाई अन्ततः बन्दुकधारीहरूले लात हान्दै भने, खाल्डो खन्।

तीन घण्टाजति लगाएर खाल्डो खनेपछि सागरलाई त्यही खाल्डोमा पल्टिन बन्दुकधारीको आग्रह छ। सागरले बिन्तीभाउ गरे पनि क्रूर बन्दुकधारीहरूले उसको गुहार सुनेनन्। जिउँदै खाल्डोभित्र घँचेटेर पुरियो।

बबनकुमारलाई छोरा जिउँदै पुरिएको घटना सुनाउँदै वृद्ध भन्छ, ‘ती राक्षसले बन्दुकको नालले घोच्दै सागराई खाल्डोसम्म घँचेटे। मेरो छोरो आँसु पुछ्दै खाल्डोमा पस्यो। पिशाचहरूले आदेश थपे, पल्टे त्यहाँ। गोली ठोकौँ कि सुत्छस्? पाहुना बाबु, मेरो छोराले गोली ठोक्न दिनुपर्थ्यो। दुईचार मिनेटको लोभमा ऊ खाल्डोमा सुत्नुहुन्थेन। जब आफैँले खनेको खाल्डोमा पल्टियो, उनीहरूले चारैतिरबाट माटो भर्न थाले …।’

आफ्नो विगत सुनाउँदा वृद्धका आँसु भलभली बग्न थालेका छन्। बबनुकमार सोच्छ, ‘आँखा च्याप्दैमा आँसु रोक्न मिल्ने भए संसारमा आँसुको अर्थ यति भारी हुने थिएन।’
केहीबेर जाँड पिएपछि वृद्ध घरतर्फ जानका लागि पुर्‍याइमाग्छ। वृद्धलाई धावक र बबनकुमारले घर पुर्‍याइदिन्छन्। घर पुग्नेबित्तिकै वृद्धकी श्रीमतीले बबनकुमारलाई गम्लयाङ्गै अंकमाल गर्दै भन्छे, ‘छोरो, मेरो सागर! आइस् बा?’

आफ्नी आमाको ममता नपाएको बबनकुमार सोच्छ, ‘संसारभरका आमाको ममता उस्तै अनुहारको हुन्छ।’ त्यस दिन ती वृद्धाले बबनकुमारलाई धावकसँगै फर्किन दिन्नन्। बरु आफ्नै काखमा च्यापेर सानो बालकलाई झैँ सुताउँछिन्।

ती वृद्धाले बबनकुमारलाई गरेको ममतामयी वर्णनले भावुक बनाउँछ। जतिसुकै कठोर मानिसले पनि यो पाठ पढ्दा एकपटक भावुक बन्छन्। भावविह्लि बन्छन्। आमाले छोरालाई गर्ने स्नेह, ममता र आफ्नै छायामा राख्ने दृश्यले कसको मन पो थामिएला र?

बबनकुमार मनमनै भन्छ, ‘म पक्का भन्न सक्छु, आमाको छायामा बसको संसारको कुनै सन्तान रुनु पर्दैन।’

उपन्यासकार ओझाको कल्पनाशक्तिले सोचनीय बनाउँछ। यसअघि ऐलानी उपन्यास लेखिसकेका ओझाको यो दोस्रो उपन्यासले साहित्यको शिखर चुमेपछि लाग्छ, मानिसले सफल हुनका लागि धेरै होइन, स्तरीय लेख्नुपर्नेरहेछ।

यस्ता अनेकन् दृश्य र ठाउँहरूमा बस्दा बबनकुमारसँगका संवादहरू स्मरणीय छन्। जीवन्त छन्। शक्तिशाली छन्।

वृद्धाको काखबाट भागेका बबनकुमार कुनै एक दिन एक गाउँमा पुग्छ। जुन गाउँमा युद्धमा सँगै रहेको गोकुलसहित अन्य थुप्रै छापामारसहित गाउँले पनि थिए। त्यहाँ देखिन्छ गाउँलेको वास्तविक जीवन। एकैछाक खान पाउनु पनि यो गाउँका लागि निकै ठूलो कुरा हो।

गाउँमा पुगेका बबनकुमार गोकुलकै घरमा बस्छ। भोलिपल्ट केही पैसा दिन्छ। गोकुलले त्यही पैसाको चामल र कुखुराका टाउका किनेर लैजान्छ। किनभने गाउँलेसँग मासु किन्ने त के, चामल किन्ने हुती पनि छैन।

त्यस साँझ गोकुलकी छोरीको खुसी देखेर बबनले आफ्ना बितेका छोरा प्रह्लादलाई मनमनै सम्झन्छ, ‘संसारभरका केटाकेटीको खुसीको कद अग्लोहोचो होला। तर उनीहरूको खुसीको अनुहार उस्तै हुन्छ।’

एक दिन गाउँमा केन्द्रबाट कमरेड आउने खबरले गाउँ शृङ्गारिन्छ। कसैले फूल, कसैले माला ल्याउने तयारी गर्छन्। त्यस रात निदाउनुअघि गोकुलको परिवार जोडले रोयो। गोकुल रोएको देखेर बबन आश्चर्यमा पर्छ। बबनको आश्चर्यलाई चिर्न गोकुलले गाउँको कथा सुनायो।

‘केन्द्रबाट कमरेड आउने अघिल्लो रात सम्पूर्ण गाउँ रुन्छ, ता कि हाम्रा आँखामा आँसुको नामोनिसान नदेखिओस्, ता कि हाम्रा प्रिय कमरेडहरू हाम्रो उपलब्धिमाथि सर्वथा गौरव गरिरहून्। हाम्रा आँखामा आँसुको छनकले मात्रै हाम्रा कमान्डरलाई पीडा हुनसक्छ। त्यसैले जेजति आँसु जम्मा भएको हुन्छ, त्यो रित्याउँछौँ। तिमी पनि रोऊ। तिमी पनि तिम्रा आँखाका आँसु सक।’

यी गद्यांशले पाठक हृदयलाई थप भावुक बनाउँछ।

भोलिपल्ट हेलिकोप्टरमा सुरक्षाका तैनाथसहित आएका अरु कोही नभएर उनीहरूसँगै हिँडेका राकेश हुन्छ। यो देखेर बबनकुमार चकित हुन्छ। त्यही साँझ गोकुलको घर छाडेर ऊ अर्को बाटोतर्फ मोडिन्छ।

पुस्तकमा भनिएको छ, ‘दुनियाँमा जोसँग हृदय हुन्छ, ऊसँग शक्ति हुँदैन। जोसँग शक्ति हुन्छ, ऊसँग हृदय हुँदैन। दुनियाँ बनाउनेले तालमेल मिलाउन जानेन।’

हिँड्दै जाँदा बबन एक होटलमा पुग्छ। होटलको मेन्युमा ‘मान्छेको मःम, मान्छेको सुकुटी, मान्छेको सेकुवादेखि मान्छेको मासुको परिकार’ सम्म सित्तैँमा पाउने उल्लेख थियो। साहुजीका छोराले ल्याएको मेन्युमा उनै बालकसँग बबनकुमारको संवाद हुन्छ। ती बालकको चेतनास्तर, विज्ञानको स्तरता देखेर जोकोही पनि सोचनीय बन्छन्। ‘सर, मान्छेले आफ्नो मूल्य कहाँ राखेको छ र?’, ‘सर छुराले कापीमा किन लेख्दैन? छुराले पनि धेरैको खुन खाएको छ।’ ती बालकका अनेक प्रश्नले बबनकुमारको मात्रै होइन, पाठकको चेतनामा पनि केही त परिवर्तन ल्याउन सक्छ।

श्रीमती उर्मिला र छोरा प्रह्लादलाई गुमाएपछि मानसिक रूपमा विक्षिप्त बबनकुमार विद्रोहीको बन्दीमा परेको हुन्छ। बन्दी भइ दाङ, सल्यान, सुर्खेत दैलेख हुँदै अछामसम्मका करिब तीन महिना कब्जामा रहँदा उसले भोगेको परिवेश, यातना, पीडा, दुःख, रोदनको कुरालाई समेटेर पुस्तक लेखिएको हो।

पुस्तकमा सरकारी सेना तथा विद्रोहीबाट पाएको चरम यातनाको सूक्ष्म वर्णन छ। सेना र विद्रोही दुवै पक्षबाट यातना पाएका बबनकुमारजस्ता हजारौँ पात्रहरू अहिले पनि समाजमा पाइन्छन्। आफ्नो जीवनै धरापमा पर्दा पनि उनीहरू बाँचिरहेका छन्।

पुस्तकले अहिलेको अवस्थामा भइरहेको हिंसा र युद्धलाई बिसाएर मानिस शान्तिको बाटोमा हिँड्नुपर्छ भन्ने सन्देश दिइएको छ।

उपन्यासको मुख्य पात्र कुन अवस्थापमा अस्पताल पुग्यो होला? अस्पतालबाट किन भाग्यो होला? अस्पतालबाट भागेर कहाँ हिँडेको थियो होला हिँड्दै जाँदा गाउँमा पुगेपछि उसले युद्धमा भेटिएका अरू क-कसलाई भेट्यो होला? गाउँ कस्तो थियो होला? गाउँबाट बबनकुमार कहाँ गयो होला? सेनाको घेराबन्दीमा पर्दा कति पीडा खेप्यो होला? गाउँबाट निस्किएपछि होटलमा पुगेर भेज मःम खाएको ऊ त्यसपछि कहाँ गयो होला? यी विविध प्रश्नहरूको उत्तर खोज्न भने पुस्तक नै पढ्नुपर्छ।

अन्त्यमा, यो कथाले दिएको एक सार यसरी पनि बुझ्न सकिन्छ, ‘रङ बदल्ने महलतिर, रगत बगाउने किनारामै …।’

प्रकाशित: १८ कार्तिक २०८० १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =