नागरिकतासम्बन्धी नियमावली अविलम्ब ल्याऊ : लोसपा

हिमाल प्रेस १९ भदौ २०८० २०:५३
10
SHARES
नागरिकतासम्बन्धी नियमावली अविलम्ब ल्याऊ : लोसपा

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकतासम्बन्धी नियमावली अविलम्ब ल्याउन माग गरेको छ। लोसपाको मधेश प्रदेश समितिले महोत्तरीको बर्दिवासमा भएको विस्तारित बैठकबाट गरिएका निर्णयबारे जानकारी गराउँदै नागरिकता नियमावली अविलम्ब ल्याउन माग गरेको हो।

लोसपा मधेश प्रदेश समिति अध्यक्ष जितेन्द्र सोनलले नियमावली अभावमा आमाको नाममा अझै पनि नागरिकता लिन समस्या भइरहेको बताए। उनले नागरिकता ऐन पास भएपछि जन्मसिद्ध नागरिकका सन्तानले अब निर्वाध रूपमा नागरिकता पाइरहेको तर सरकारले अब नियमावली ल्याएर आमाको नाममा समेत नागरिकता प्राप्त गर्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताए।

मधेशका प्रदेशसभा सदस्य समेत रहेका सोनलले एक अर्को प्रसंगमा मिटरब्याजसम्बन्धी कानुन स्वागतयोग्य रहे पनि त्यसको नाममा भइरहेको अराजकता बन्द गर्न आग्रह गरे।

बर्दिवासमा भएको विस्तारित बैठकबाट भएका निर्णयहरू सार्वजनिक गर्दै सोनलले लोसपा अब वडाको बुथ समिति सम्म पुग्ने गरी तयारी गरेको जानकारी दिए। उनले पार्टी संगठनको समीक्षा र सुधार आर स्क्वायर अभियानअन्तर्गत वडाको बुथ समितिसम्म पुग्ने अभियान थालेको बताए।

यस्तै प्रहरी समायोजन/समन्वय ऐन प्रमाणीकरण भए पनि कार्यान्वयन नहुँदा प्रदेश सरकार कमजोर र लाचार देखिएकाले संघीयता कमजोर हुने खतरा रहेको लोसपाको भनाइ छ। ती ऐनहरू अविलम्ब कार्यान्वयनका लागि बैठकबाट लोसपाले माग गरेको हो।

सुख्खा र बाढीबाट पीडित मधेशको समस्या समाधानका लागि स्थायी रूपमा समाधान गर्न लोसपाले तीनै तहको सरकारसँग माग गरेको छ। यसका लागि चुरे क्षेत्रमा भइरहेको अनियन्त्रित र अनियमित बसोबासलाई नियमन गरी चुरे र मधेश बचाउने अभियानमा जुट्न सरकारसँग माग गरिएको सोनलले बताए।

प्रकाशित: १९ भदौ २०८० २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =