नेतृत्व पाएसँगै सक्रिय बने संसदीय समिति

हिमाल प्रेस १९ भदौ २०८० ८:४८
4
SHARES
नेतृत्व पाएसँगै सक्रिय बने संसदीय समिति संसद्‌ भवन

काठमाडौँ- सभापति चुनिएसँगै संसदीय समितिले सक्रियता देखाएका छन्। लामो समय नेतृत्वविहीन बन्दा संसदीय समिति निष्क्रिय जस्तो बनेका थिए। तर केही दिनअघि सभापति चुनिएपछि समितिको बैठक बोलाउने र सरकारलाई निर्देशन दिने काम थालेका छन्। आज पनि प्रतिनिधिसभा र राष्ट्रियसभाका छ समितिको बैठक बस्दैछ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्नेछ।

बैठकमा समितिका नवनिर्वाचित सभापतिलाई बधाई एवं शुभकामना दिने कार्यक्रम रहेको छ। त्यसपछि अत्यावश्यक खाद्य वस्तुमा बढ्दो मंहगी र पेट्रोलियम पदार्थ एवं खाना पकाउने ग्यासको आपूर्ति, विक्री र हालको मौज्दातको अवस्थाका बारेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयलले जनाएको छ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको समसामयिक विषय र भावी कार्ययोजनाको सम्बन्धमा छलफल हुनेछ। त्यस्तै बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न गठित उपसमितिको कार्यप्रगति लगायतका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा आज सामान्यताया बधाई तथा शुभकामनाको कार्यसूचि राखिएको छ।

लेखा समितिको बैठक ११ बजे डाकिएको छ। बैठकमा समितिमा तत्काल कार्यसम्पादन गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूचि रहेको समिति सदस्य मनिष झाले जानकारी दिए। त्यस्तै बढ्दो बेरुजु व्यवस्थापनमा सम्परीक्षण गर्न पूर्व सभापति र पूर्वसचिवहरुसँग छलफल गर्ने कार्यसूचि रहेको झाले जानकारी दिए।

यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ। दिउँसो १ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उपसमितिबाट पेस भएका प्रस्ताव सम्बन्धी, प्रदेश स्तरीय कार्यक्रम सम्बन्धी, समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धी विविध विषयमा छलफल हुने कार्यसूची राखिएको सचिवालयले जनाएको छ।

प्रकाशित: १९ भदौ २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − three =