प्रचण्डले शुभारम्भ गरे माओवादीको ‘विशेष रूपान्तरण अभियान’

हिमाल प्रेस १६ भदौ २०८० ९:५०
2
SHARE
प्रचण्डले शुभारम्भ गरे माओवादीको ‘विशेष रूपान्तरण अभियान’

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ औपचारिक रूपमा सुरु गरेको छ।

माओवादीले आज (शनिबार)देखि देशभरका सबै वडामा एकसाथ जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सुरु गर्ने भएको हो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘भर्चुअल’ माध्यमबाट अभियानको उद्घाटन गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट अध्यक्ष प्रचण्डले अभियानको भर्चुअल्ली शुभारम्भ गरेका हुन्।

माओवादी केन्द्रको गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

माओवादी केन्द्रले अभियानको नारा ‘घर(घरमा माओवादी, जनजनमा माओवादी’ राखेको छ। अभियानको क्रममा नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्‍याउने लक्ष्य राखिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने माओवादीको लक्ष्य छ। जनतासँग भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूबारे जानकारी गराउने उनले बताए।

अभियानअन्तर्गत पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धनलगायत जनपक्षीय कामको प्रचारप्रसार गरिने, पार्टीभित्रको समस्या तथा अन्तरविरोधको पहिचान गर्ने, माओवादी नेता तथा कार्यकर्ता जनतासँग नपुग्नेलगायत गुनासाको प्रभावकारी समाधान खोजिने माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

प्रकाशित: १६ भदौ २०८० ९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =