एमालेको लुम्बिनी अधिवेशन

पौडेल र पोखरेलको अन्तरसंघर्षमा होला त ओलीको हस्तक्षेप?

विनोद परियार १६ भदौ २०८० ७:४७
50
SHARES
पौडेल र पोखरेलको अन्तरसंघर्षमा होला त ओलीको हस्तक्षेप? एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर

लुम्बिनी- नेकपा एमालेले मुलुक संघीय संरचनामा गएको ६ वर्षपछि पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ। प्रदेश अधिवेशनको सुरुवात लुम्बिनी प्रदेशबाट भएकाले यहाँ विवादरहित रुपमा नेतृत्व चयन गर्नुपर्ने नेताहरूको धारणा छ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका नाममा कार्यकर्ता विभाजित भएपछि दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ। प्रतिनिधि छनोटदेखि नै नेताहरूले दुई नेतालाई जोडेर हेर्न थालेकाले गुटको राजनीति सक्रिय भएको हो।

अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल आकांक्षी देखिएका छन्। यी दुवै नेताले गुट नबनाउने बताए पनि गोप्य भेटघाट र छलफल जारी राखेका छन्। तदर्थ समितिका अध्यक्षसमेत रहेका कँडेलले नेतृत्वको आग्रहअनुसार आफू प्रदेश र प्रतिनिधिसभाका निर्वाचन र पार्टीको महाधिवेशनमा पनि चुप लागेर बसेकाले स्वाभाविक दाबी रहेको बताउँछन्। अधिकांश प्रतिनिधिहरूले आफूलाई नै अध्यक्षका रूपमा देख्न चाहेको बताउँदै सर्वसहमति नभएमा निर्वाचनबाट नेतृत्वको फैसला गर्नुपर्ने उनको भनाइ छ।

उता अध्यक्षको तयारी गरेका केन्द्रीय सदस्य रिजालले आफू प्यानल बनाउने पक्षमा नरहेको तर आफ्नो पक्षमा सर्वसम्मत नभए निर्वाचनको बाटोमा जानुपर्ने मत राख्छन्। उनले आफू प्रदेशको नेतृत्व गरेर पार्टीलाई अगाडि बढाउने पक्षमा रहेको बताए। यी दुवै नेताले आन्तरिक रूपमा चुनावको तयारी गरिसकेका छन्। दुवैले आफू पक्षधरका नेताहरुसँग छलफल गरिरहेका छन्। अधिवेशनको मुखैमा गुटगट गोप्य भेला भइरहेका छन्।

कँडेल पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। यी दुवै नेतालाई जोडेर तल्लो तहदेखि नै गुटबन्दी सुरु भएको हो। अधिवेशनको मुखमा भइरहेका गतिविधिले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका बीच प्रतिष्ठाको लडाइँ देखिएको छ। प्रतिनिधि छनोटमा महासचिव पोखरेल पक्षका नेताहरुले बढी गुटबन्दी गरेपछि पौडेल समूह सक्रिय बनेको हो। अध्यक्षका दुवै आकांक्षी आआफ्नो अडान र तयारी हेर्दा निर्वाचन हुने निश्चित जस्तै छ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल अध्यक्ष ओली निकटका नेता हुन्। अहिले पार्टीभित्र वैचारिक रुपमा गुट छैन। तर लुम्बिनीमा पौडेल र पोखरेलबीच पहिल्यैदेखिको राजनीतिक अन्तरसंघर्षका कारण गुटबन्दी बन्न थालेको हो। केन्द्रीय अध्यक्ष ओलीले हस्तक्षेप गरेको खण्डमा पौडेल र पोखरेलले त्यसमा फरक मत नराख्न पनि सक्छन्।

केन्द्रीय सदस्यबाट प्रदेश अध्यक्ष बन्नका लागि प्यूठानबाट प्रतिनिधि बनेका रिजाल र ओलीकै आग्रहअनुसार प्रदेश अध्यक्षमा दोहरिने गरी संसदीय निर्वाचनमा भाग नलिएका कँडेलमध्ये एक रोज्न अध्यक्ष ओलीलाई पनि अप्ठ्यारो छ। पार्टीमा गुट-उपगुट नभएको नेताहरूले प्रतिक्रिया दिँदै आए पनि लुम्बिनीमा यो झाँगिएको छ। अहिलेसम्म मौन रहेका ओलीले नेतृत्वका सवालमा सकभर सर्वसहमत बनाउन निर्देशन दिएका पनि छन्। यद्यपि लुम्बिनीमा अहिलेसम्मको गतिविधि भने पौडेल र पोखरेल समूहको लडाइँका कारण निर्वाचन हुने देखिएको छ।

लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले शुक्रबार साँझ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको सन्दर्भमा पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूसँग गरेको परामर्श कार्यक्रम। तस्बिर : सूर्य थापा

पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा अधिवेशन उद्घाटन गर्नेछन्। उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू उपस्थित रहनेछन्।

अधिवेशन उद्घाटनपूर्व शनिबार बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित अधिवेशनस्थलमा प्रवेश गर्नेछन्।

अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्य र अन्य २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहनेछन्। अधिवेशनले यसअघि पाँच सय ७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई दुई सय पाँच सदस्यीय बनाउनेछ।

पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको पोलिटब्युरो सदस्य सूर्य थापाले स्पष्ट पारे।

रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्यूठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डीआर घिमिरेले बताएका छन्।

एमाले लुम्बिनी अधिवेशन : प्रतिनिधि छनोटमै ‘गुटबन्दी’

शक्ति परीक्षामा पौडेल र पोखरेल

प्रकाशित: १६ भदौ २०८० ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =