एमाले लुम्बिनी अधिवेशन : प्रतिनिधि छनोटमै ‘गुटबन्दी’

हिमाल प्रेस १६ भदौ २०८० ६:११
70
SHARES
एमाले लुम्बिनी अधिवेशन : प्रतिनिधि छनोटमै ‘गुटबन्दी’ हजरल बेलाल राजु

लुम्बिनी- नेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्।

प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म पर्खाएर भदौ ९ गते शनिबार प्रतिनिधि घर फर्केपछि निर्वाचन गराएर पाखा लगाएको भन्दै गुनासो गरेका हुन्। शनिबारदेखि बुटवलमा सुरु हुन गइरहेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आफूलाई केन्द्रीय सदस्य तथा लुम्बिनी सा‌ंस्कृतिक नगरपालिका इन्चार्ज सावित्रा अर्यालले पार्टीको विधि, विधान मिचेर प्रतिनिधि हुनबाट रोक लगाएको बेलालको आरोप छ।

उनले भदौ ९ गते ३ जना प्रतिनिधि छनोट गर्नुपर्नेमा निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भएपछि बदर उम्मेदवारका रूपमा सूचना जारी गरेकाहरुलाई समावेश गरी आफूलाई कुनै नेताको नजिक भएको नाममा रोकिएको गुनासो गरेका छन्।

‘म उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईलाई चिन्छु। लुम्बिनीमा एमाले बनाउन मैलै धेरै योगदान गरेको छु’, ०७४ सालका एमालेका तर्फबाट रुपन्देही क्षेत्र ५ ख का प्रदेशसभाका उम्मेदवारसमेत रहेका बेलालले दुःखेसो पोखे, ‘केन्द्रीय सदस्यले पार्टीको विधानविपरीत गएकाले त्यसको जवाफ केन्द्रीय नेतृत्वले दिनुपर्छ।’

महासचिव शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेकाले आफूलाई रोकिएको हुनसक्ने उनको भनाइ छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ३ जना प्रतिनिधि निर्वाचित भएका छन्।

खुलाबाट अब्दुल रहमान मुसलमान, दलितबाट कल्पना हरिजन र महिलाबाट सहिदुन निशा निर्वाचित भएको संयोजक टीकाकुमारी कट्टेलले जानकारी दिइन्। प्रतिनिधिहरू घर फर्किएपछि निर्वाचन गराउँदा आफूलाई नियोजित रूपमा अब्दुल रमानसँग पराजित गराइएको बेलालको गुनासो छ। सहिदुन निशाको भने प्रतिनिधि छनोटको दाबीविरोधको नतिजामा समर्थकको नाम जुधेको भन्दै नामावली बदर भएको थियो।

यसैबीच एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको छ। लुम्बिनीको अधिवेशनले देशलाई नयाँ सन्देश दिने दाबी एमालेको छ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने प्रथम अधिवेशनले पार्टीको राजनीतिक जीवन प्रभावकारी तुल्याउने विश्वास व्यक्त गरिएको छ। सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलो पटक यो अधिवेशन गर्न लागेको हो। प्रदेश अधिवेशन ऐतिहासिक महत्त्वको रहेको प्रदेश अध्यक्ष राधाकृष्ण कणेलले बताए। पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपराह्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा अधिवेशन उद्घाटन गर्नेछन्।

उद्घाटनमा पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं प्रदेशका इन्चार्ज पद्मा अर्यालका साथै पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यहरू उपस्थित रहनेछन्।

अधिवेशनपूर्व शनिबार बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराबाट जुलुस तथा झाँकीसहित सम्मेलनस्थलमा प्रवेश गर्नेछन्।

अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार आठ सय ९५ पार्टी सदस्य र अन्य २३ वटा जनसंगठनबाट छानिएका एक हजार चार प्रतिनिधि रहनेछन्। अधिवेशनले यसअघि पाँच सय ७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई दुई सय पाँच सदस्यीय बनाउनेछ।

पत्रकार सम्मेलनमा प्रदेश इन्चार्ज पदमा अर्यालले प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मतिबाट गरिने र सहमतिबाट हुन नसके स्वस्थ प्रतिस्पर्धा हुने बताइन्। पार्टीभित्र स्वस्थ प्रतिस्पर्धालाई निषेध नगरिएको पोलिटब्युरो सदस्य सूर्य थापाले स्पष्ट पारे।

अधिवेशन लागि रुपन्देहीबाट सबैभन्दा धेरै एक सय ६४, कपिलवस्तुबाट ७२, दाङबाट एक सय ३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्यूठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट एक सय ११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा एक हजार चार प्रतिनिधि छनोट भएका एमाले प्रचारप्रसार विभाग प्रमुख डीआर घिमिरेले बताएका छन्।

प्रकाशित: १६ भदौ २०८० ६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =