एमाले लुम्बिनी अधिवेशन

शक्ति परीक्षामा पौडेल र पोखरेल

विनोद परियार १५ भदौ २०८० ११:४६
164
SHARES
शक्ति परीक्षामा पौडेल र पोखरेल

लुम्बिनी- नेकपा एमालेका सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले भदौ ११ गते (सोमबार) बुटवलका सम्पादकहरूसँगको भेटमा ‘एमालेमा कुनै गुट-उपगुट’ नरहेको स्पष्ट पारेकी थिइन्। लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गुट चलाएको चर्चा आएको प्रसंगमा सचिव अर्यालले गुट-उपगुट नरेहको स्पष्ट पारेकी थिइन्।

सचिव अर्यालले गुटउपगुट नरहेको दाबी गरे पनि आगामी नेतृत्वका लागि उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका नाममा दुई समूह भित्रभित्रै सक्रिय छन्।  प्रदेश अधिवेशन नजिकिँदै गर्दा पौडेल र पोखरेलको छुट्टाछुट्टै गुट सक्रिय हुन थालेको एमाले कार्यकर्ताहरू बताउँछन्। प्रदेश अध्यक्षका आकांक्षीका गतिविधि हेर्दा पनि दुई गुटले फरफरक ठाउँमा भेला गरेर चुनावी लबिङ तीव्र पारेका छन्।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल लुम्बिनीबाट एमालेको शीर्ष तहमा पुगेका नेता हुन्। दुवै नेता आफूले चाहेको व्यक्तिलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिने पक्षमा छन्। सोही कारण उनीहरूले वडा तहसम्म आआफ्ना पक्षमा कार्यकर्ता परिचालन गरेको जिल्लास्तरीय नेताहरू बताउँछन्।

भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनबाट नेतृत्वका लागि दुई खेमामा विभाजित भएर आन्तरिक छलफल र भेला गर्न थालिएको हो। नेतृत्वका लागि वर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँडेल र पार्टीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका पूर्वमन्त्री प्यूठानका हरिप्रसाद रिजालले उम्मेद्वारी घोषणा गरेका छन्। कँडेल उपाध्यक्ष पौडेल निकट मानिन्छन् भने रिजाल महासचिव पोखरेलसँग नजिक छन्। रिजाल केन्द्रीय सदस्यबाट प्रदेश समितिको अध्यक्षका लागि प्यूठानबाट प्रतिनिधि बनेपछि लुम्बिनी प्रदेशमा एमाले अधिवेशन निर्वाचन उन्मुख बनेको हो।

महासचिव पोखरेलकै योजनामा रिजाललाई केन्द्रीय सदस्यबाट प्रदेश अध्यक्षका रूपमा अगाडि सारिएको चर्चा छ। कँडेललाई रोक्नका लागि पोखरेलले रिजालका पक्षमा भित्रभित्रै लबिङ थालेका हुन्। पार्टी केन्द्रीय कमिटीले सकभर सर्वसम्मत नेतृत्व चयन गर्ने नीति लिए पनि लुम्बिनीमा भने अध्यक्षका आकांक्षीहरू गुटको भेला गर्न सक्रिय छन्।

अध्यक्षका आकांक्षी हरिप्रसाद रिजालले आफू निकट केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला अध्यक्ष र प्रतिनिधिहरुसँग भेला गरेका छन्। रिजालले मंगलबार बुटवल ढवाहस्थित आरम्भ रिसोर्टमा गोप्य भेला गरेका थिए। भेलामा रुपन्देही, कपिलवस्तु र पाल्पाका केन्द्रीय, प्रदेश तहका नेताहरूले आफ्ना पक्षमा माहोल बनाउन छलफल गरेका थिए।

‘अध्यक्षमा उठ्ने भएपछि जिल्लाको वस्तुस्थिति के छ भनेर जानकारी लिइएको हो’, अध्यक्ष पदका आकांक्षी रिजालले भने, ‘यो कुनै गुटको भेला होइन, राजनीति नबुझेकाहरुले गरेको कुतर्क हो।’

रिजालले गोप्य कुनै छलफल नभई उम्मेदवारी दिने भएकाले आफूसँग नजिक भएका पार्टी नेताहरूसँग छलफल गरेको स्वीकार गरे। उनले नेकपा एमालेको नीति विचार र जनताको बहुदलीय जनवादका आधारमा उम्मेदवार हुन पाउने अधिकार रहेकाले आफू प्रदेश अध्यक्षका रूपमा उम्मेदवारी दिने तयारीमा जुटेको बताए। ‘केन्द्रीय सदस्य प्रदेश अध्यक्ष हुनै नपाउने जसरी केही नेताहरूले प्रचार गरेका छन्, त्यो त कुतर्क र पराजित मानसिकता हो’, उनले भने, ‘अधिवेशन हलमा गएपछि प्रतिनिधिले के भन्छन्, त्यो स्वीकार्न तयार हुनुपर्छ।’ उनले आफूहरूलाई गुटको भेला भन्नेहरुले गोप्य रूपमा भेला र जिल्ला-जिल्लामा फोन गरेको आरोप लगाए। रिजाललाई महासचिव पोखरेलको दह्रो साथ र समर्थन रहेकाले उनी पछाडि हट्ने पक्षमा छैनन्।

प्रदेश अध्यक्षका आकांक्षी एमाले नेता हरिप्रसाद रिजाल र राधाकृष्ण कँडेल।

यता तदर्थ समितिको अध्यक्ष भएर काम गरिसकेका राधाकृष्ण कँडेलले अहिलेसम्म कुनै अवसर नलिएकाले स्वाभाविक रूपमा आफू अध्यक्षको दाबेदार भएको बताए। ‘म ३५ सालदेखि एमालेकै नीति विचार र जबजका पक्षमा छु। मैलै आजसम्म पार्टी लाइनविपरीत काम गरेको छैन’, कँडेलले भने, ‘कसैले म पार्टी विचारविपरीत हिँडेको पुष्टि गरे, उम्मेदवार नै हुन्न।’

उनले पार्टीमा विधि, विचार र सिद्धान्त हुने बताउँदै जुनसुकै अधिवेशनमा पनि भाग लिन खोज्ने प्रवृत्तिले एमालेको नीति विचार नबोक्ने टिप्पणी गरे। कँडेललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै तदर्थ समितिबाट पुनः अध्यक्ष बनाउने आश्वासन दिएका थिए। ‘नेतृत्वकै विश्वासमा छु, मेरो दाबी स्वाभाविक छ’, कँडेलले भने।

प्यूठानबाट रिजाल प्रतिनिधि नभएको भए कँडेल पुनः अध्यक्षका रुपमा सर्वसम्मत हुने सम्भावना बलियो थियो। रिजालको आगमनले कँडेललाई दबाब परेको छ। कँडेललाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको नेताहरू बताउँछन्। ‘मलाई सबै नेताहरुको साथ सहयोग रहन्छ, म गुटको पक्षमा छैन’, कँडेलले भने, ‘कामको मूल्यांकनका आधारमा पनि मैलै सहजै जित्छु।’

बुटवलमा अधिवेशन हुने भएकाले कँडेललाई उपाध्यक्ष पौडेल पक्षका नेताहरूले साथ सहयोग गरेका छन्। कँडेलले पनि आन्तरिक रूपमा छलफल र भेला गरेका छन्। कँडेल पक्षधरहरुले तिलोत्तमास्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा गोप्य छलफल गरेका छन्। यद्यपि प्रदेश अध्यक्षसमेत रहेका कँडेलले गुटका नाममा आफूले कुनै पनि छलफल नगरेको दाबी गर्छन। ‘मैलै कहीँ पनि त्यसरी गुटको छलफल गरेको भए प्रमाणित गर्न चुनौती दिन्छु’, उनले भने।

अधिवेशनलाई लिएर लुम्बिनीमा नेताकार्यकर्ता भने विभाजित भएको प्रस्टै छ। उसै पनि विगतदेखि नै उपाध्यक्ष पौडेल र महासचिव पोखरेलका बीचमा लुम्बिनी प्रदेशको स्थायी राजधानी र नेतृत्वका विषयमा आन्तरिक संघर्ष भएकै थियो। यस पटक आफ्नो वर्चस्व कायम राख्न दुवै नेताहरूले जोडबल गरेको एमालेका एक केन्द्रीय सदस्यले बताए। उनका अनुसार पौडेल र पोखरेलले भित्री रूपमा सर्कुलर जारी गरेर गुट सक्रिय बनाएका छन्।

महासचिव पोखरेल निकट केन्द्रीय सदस्यहरु बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरे रिजाललाई अध्यक्ष बनाउने पक्षमा लागेका छन्।

उपाध्यक्ष पौडेलको गृहजिल्ला समेत रहेको रूपन्देहीमा गुट बनाउनेमा लुम्बिनी प्रदेशका सांसद भूमेश्वर ढकालले अगुवाइ गरेका छन्। कँडेललाई अध्यक्ष बनाउन उपाध्यक्ष पौडेल निकट मानिएका पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराई, दधिराम शर्मा न्यौपाने, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ लगायतका नेताहरु खुलेर लागेका छन्। रिजाल पक्षको गोप्य भेलापछि नेकपा एमालेका पोलिटब्युरो सदस्य लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले सामाजिक सञ्जालमै दुःख व्यक्त गरे।

‘एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनलाई प्रभाव पार्ने गरी पार्टी केन्द्रीय कमिटीका केही सदस्यहरुको अगुवाइमा गुटगत भेला आयोजना गरिएको छ। लामो गुटफुट र विभाजनको पीडाबाट मुक्त भई सहजतापूर्ण वातावरण बन्ने परिवेशमा यस खालका भेला आयोजना हुनु अत्यन्त दुःखद छ। यसले पार्टीलाई राम्रो गर्दैन’, गिरीले फेसबुकमा लेखेका छन्।

गिरीले भनेका छन्, ‘म यस अधिवेशनमा आउनु हुने सबै प्रतिनिधि कमरेडहरुलाई यसखाले गलत गतिविधिका प्रभावमा नपर्न र स्वतनत्रातापूर्वक आफ्नो विवेक प्रयोग गरी अधिवेशनलाई सफल बनाउन हार्दिक अपिल गर्दछु।’

कुनै बेला एमाले महासचिव शंकर पोखरेल लुम्बिनीको मुख्यमन्त्री हुँदा गिरी मन्त्री थिए। स्थायी राजधानीका विषयमा गिरीले पोखरेललाई सहयोग गरेको आरोप पनि लाग्छ। तर उपाध्यक्ष पौडेल निकट मानिएका गिरी यसपटक भने पौडेलको समर्थन रहेको कँडेललाई जिताउनुपर्ने लबिङमा छन्। सोही कारण एमालेको प्रदेश अधिवेशन दुई नेताका लागि शक्ति परीक्षाका रूपमा लिन थालिएको छ।

कँडेल र रिजालसँगै प्रदेश सचिव रहेका लक्ष्मण आचार्य पनि आका‌ंक्षी छन्। उनी दाङबाट प्रतिनिधित्व गर्छन्। यसअघि प्रदेश नेतृत्वमा आउन सक्ने संकेत गरेका नेताहरू पनि त्यो प्रक्रियामा जाँदा केन्द्रीय सदस्य गुम्ने भएकाले रोकिएका हुन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार उद्घाटन गर्ने अधिवेशनको उद्घाटनसत्र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ। एमालेले पहिलो अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दैछ।

यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन्। एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुलाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने जनाइएक्को छ।

एमालले पार्टीले गरेको निर्देशनअनुसार महिला ३० प्रतिशत, दलित १५ प्रतिशत र युवाबाट २० प्रतिनिधि छनोट गरेको छ। १२ जिल्लाबाट ९१९ जना प्रतिनिधि छनौट भएका छन्। यी प्रतिनिधिले नै आगामी नेतृत्व छनोट गर्ने नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =