निष्पक्ष निर्वाचन गराउन बंगलादेशलाई अमेरिकी दबाब : भारत भन्छ- दबाब अनुचित

हिमाल प्रेस १३ भदौ २०८० ७:१३
12
SHARES
निष्पक्ष निर्वाचन गराउन बंगलादेशलाई अमेरिकी दबाब : भारत भन्छ- दबाब अनुचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेशी समकक्षी शेख हसिनासँग। फाइल तस्बिर

काठमाडौँ- भारतले अमेरिकालाई आगामी आम निर्वाचनका विषयमा बंगलादेशलाई धेरै दबाब नदिन आग्रह गरेको छ।

बंगलादेशमा जनवरी, २०२४ मा आम निर्वाचन हुँदैछ। अमेरिकाले बंगलादेशी प्रधानमन्त्री शेख हसिनालाई स्वतन्त्र र निस्पक्ष निर्वाचन गराउन दबाब दिइरहेको खबर बाहिर आएका थिए। तर यस्तो दबाबले निर्वाचन प्रभावित हुने र अन्ततः बंगलादेशमा अतिवादी संगठनहरु संगठित हुने भारतलाई डर छ।

र, यही डर भारतले अमेरिकासामु राखेको त्यहाँको अखबार हिन्दुस्तान टाइम्सले लेखेका छ। अमेरिकी दबाबका कारण बंगलादेश चीनसँग नजिक हुनसक्ने आकलन पनि भारतको छ।

‘भारत पनि बंगलादेशमा निस्पक्ष र स्वतन्त्र ढंगमा निर्वाचन होस् भन्ने चाहन्छ। तर अमेरिकाले चर्को दबाब दिए, बंगलादेशमा अतिवादीहरु उत्साहित हुनेछन्। जसलाई हालसम्म शेख हसिना नेतृत्वको सरकारले दबाएर राखेको छ,’ भारतीय स्रोतलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

अमेरिका पछिल्ला केही वर्षयता शेख हसिना सरकारसँग असन्तुष्ट छ। बंगलादेशमा राजनीतिक स्वतन्त्रता घट्दै गइरहेको अमेरिकी ठम्याइ छ। अमेरिकाले डिसेम्बर, २०२१ मा बंगलादेशी अर्धसैनिक बल ‘र्‍यापिड एक्सन बटालियन (आरएबी)’ र यसको नेतृत्वमा रहेकाहरुमाथि प्रतिबन्ध लगाएको थियो।

निर्वाचनलाई प्रभावित बनाउनसक्ने व्यक्तिहरु भन्दै केही बंगलादेशी अधिकारीहरुलाई भिसा प्रतिबन्ध लगाउने चेतावनी पनि अमेरिकाले दिएको छ। उनीहरुले विपक्षी दलहरु, नागरिक समाज र सञ्चार माध्यममाथि धरपकड गरिरहेको अमेरिकी बुझाइ छ।

ब्रिक्स सम्मेलन दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङले शेख हसिनालाई भेटेपछि भारत झस्किएको हो। भेटपछि चिनियाँ विदेश मन्त्रालयले निकालेको विज्ञप्ति पनि अमेरिकालक्षित थियो।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको ब्रिक्स सम्मेलन दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गर्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिना।

 

‘बाहिरी शक्तिको हस्तक्षेप पन्छाउन बंगलादेशले गरिरहेको प्रयासलाई चीन समर्थन गर्छ। चीन र बंगलादेश दुवै देश एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न प्रतिबद्ध छन्,’ विज्ञप्तिमा भनिएको थियो। शेख हसिना सन् २००९ यता बंगलादेशी सरकार हाँकिरहेकी छन्।

उनी आगामी निर्वाचन जित्दै लगातार चौथो पटक प्रधानमन्त्री बन्ने दाउमा छिन्। यसबीचमा उनले नरेन्द्र मोदी नेतृत्वको भारतीय सरकारसँग नजिकको सम्बन्ध बनाएकी छन्। बंगलादेशमा भारत विरोधी संगठनहरुलाई नियन्त्रणमा लिएपछि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार बंगलादेशसँग खुसी छ। फेरि यही बेला बंगलादेशले भारतसँग ऊर्जा, व्यापार लगायतका क्षेत्रमा विगतमाभन्दा बलियो सहकार्य गर्न लागि परेको छ।

बंगलादेशले भारतका उत्तरपूर्वी राज्यका लागि आफ्नो बन्दरगाहमा सहज पहुँच पनि दिएको छ। क्षेत्रीय राजनीतिको मुख्य खेलाडी भारतसँग सम्बन्ध न्यानो भए पनि बंगलादेश अमेरिकासँगै युरोपेली युनियन (ईयू) को भने निशानामा परेको छ। पश्चिमा शक्तिहरुले निर्वाचनका विषयमा शेख हसिनालाई निरन्तर दबाब दिइरहेपछि बंगलादेशको विपक्षी दल बंगलादेश नेस्नालिस्ट पार्टी (बीएनपी) भने उत्साहित बनेको छ।

पछिल्ला दिनमा बीएनपीले बंगलादेशभर ठूला ठूला र्‍याली निकालिरहेको छ। बीएनपीले सन् २०१४ को निर्वाचन बहिस्कार गरेको थियो। पछिल्लो निर्वाचनमा भाग लिए पनि जम्मा सात सिट मात्र बीएनपीको भागमा पर्‍यो। यसपालि भने बीएनपीले केही दर्जन सिट जित्ने अनुमान गरिएको छ।

बीएनपीसँगै जमात ए इस्लामीले पनि अवामीलाई टक्कर दिने अपेक्षा छ। बीएनपीसँग मिलेर निर्वाचनमा लड्ने जमातलाई भारतविरोधी र पाकिस्तानप्रति सद्भाव राख्ने दलका रुपमा हेरिन्छ। जमातले गत जुन १० मा ढाकामा विशाल र्‍यालीको आयोजना गरेको थियो। जमातलाई १० वर्षपछि पहिलो पटक र्‍याली आयोजना गर्न दिइएको हो।

जमात सधैँभरी भारतका लागि टाउको दुखाइ बन्दै आएको छ। जमात बलियो बन्दा भारतको उत्तरपूर्वी राज्यहरुमा सक्रिय रहेका उग्रवादी संगठनहरुलाई बल पुग्ने भारतको निक्र्योल छ। यी राज्यहरुको सीमा बंगलादेशसँग जोडिएको छ।

अगस्टको सुरुवातमा अवामी लिगको एक प्रतिनिधिमण्डल भाजपाको निम्तोमा नयाँ दिल्ली पुगेको थियो। जहाँ अवामीले भाजपाका नेता तथा मन्त्रीहरुलाई बंगलादेशमा हुन लागेको निर्वाचन क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि महत्त्वपूर्ण रहेको सन्देश दिएको थियो।

प्रकाशित: १३ भदौ २०८० ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =