नेपाललाई माया गर्ने गजल गायक गुलाम अली

हिमाल प्रेस ९ भदौ २०८० १९:००
100
SHARES
नेपाललाई माया गर्ने गजल गायक गुलाम अली

गाजलु ती ठूलाठूला आँखा, तीर बनी पसे यो दिलैमा।
कालो लामो परेली केश, छाल परे कलिलो मायामा।

राजा महेन्द्रको शब्द र दीपक जंगमको संगीत रहेको यो गीत/गजल सुन्नेबित्तिकै धेरैले पाकिस्तानी गजल गायक गुलाम अलीलाई सम्झिन्छन्। उनी भारत र पाकिस्तानका साझा गजल गायक हुन्। पाकिस्तानी भए पनि भारतमा लामो समय रहेर गीत गाए।

पटियाला घरानाका गायक उनले बडे गुलाम अली खानबाट संगीत सिकेका हुन्। महात्मा गान्धीसमेत गजलकार बडे गुलाम अली खानलाई कार्यक्रममा पर्खन्थे। बडे गुलाम अली खानका पिता अली बक्श खान कश्मिरी दरबारमा गाउँथे। त्यसैले उनीहरू सारंगीबाजबाट बिस्तारै आधुनिक संगीतमा अभ्यस्त बनेका हुन्।

पुर्खौदेखि गाउँदै आएका उनीहरूले नेपालको राजपरिवारका लागि पनि गीत गाएका छन्। गजलको दुनियाँमा ठूलो नाम कमाएका गुलाम अली नेपालको राजपरिवारका लागि बेलाबेलामा गीत गाउन आउँथे। तर त्यो कुरा खासै बाहिर आउँदैनथ्यो।

बडे गुलाम अली खानले भारतको नागरिकता लिए र मुम्बईमा बसे। तर गुलाम अलीले भारतीय नागरिकता लिएनन्। उनी लाहौरबाट नै भारत आउने र गाउने गर्थे। सन् २०१७ देखि भने उनी भारत आएका छैनन्। सन् २०१६ मा भारत प्रशासित जम्मु–कश्मीरको उरी सहर नजिकैको भारतीय सेनाको ब्रिगेड मुख्यालयमा जैश–ए–मोहम्मद विद्रोहीले आक्रमण गरे। जसमा १९ जना भारतीय सैनिक मारिएका थिए। त्यति नै सैनिक घाइते भएका थिए।

सीमामा जेजस्तो तनाव भए पनि गीतसंगीतका माध्यमले यी दुई देशले एकअर्कासँग सांस्कृतिक भावना आदानप्रदान गर्थे। त्यहाँका कलाकारले सीमापार आफ्नो सिर्जना पस्किन्थे। तर उरी आक्रमणपछि भारत सरकारले पाकिस्तानी कलाकारलाई भारतमा प्रतिबन्ध लगायो। भारतमा असहिष्णुताको वातावरण बन्न थाल्यो। हिन्दू अतिराष्ट्रवादी शिव सेनाको धम्कीपछि गुलाम अली पनि पाकिस्तान फर्किएका थिए।

बलिउड अभिनेता शाहरुख खानले एकपटक आफ्नो जन्मदिनमा भारतमा असहिष्णुता बढेको र यसले देशलाई अन्धकारमा धकेल्ने अभिव्यक्ति दिएका थिए। उक्त टिप्पणीपछि भारतीय जनता पार्टी (बीजेपी)का केही सांसद तथा नेताले उनलाई पाकिस्तानी र देशद्रोहीको आरोप लगाए।

त्यही बेला गुलाम अली मुम्बई, दिल्ली, लखनऊ र पुणेमा सांगीतिक कार्यक्रमका लागि भारत आएका थिए। भारतमा चर्किएको बहसका कारण कार्यक्रम रद्द गर्दै पाकिस्तान फर्किए। उनलाई शिव सेनाले धम्क्याएको समाचार कतिपय भारतीय सञ्चारमाध्यमले छापेका थिए।

भारतमा धार्मिक असहिष्णुता र कट्टर हिन्दुत्वको बहस बढी नै भएपछि माहोल राम्रो नभएसम्म भारत नफर्किने र गीत पनि नगाउने गुलाम अलीले बताएका थिए। ‘म गायक हुँ, म संगीतको बारेमा कुरा गर्छु, मलाई राजनीति थाहा छैन,’ त्यतिखेर उनले भनेका थिए।

सन् २०१७ मा शाहरुखलाई समर्थन गर्दै उनले भारत नफर्किने निर्णय लिएका थिए। पछिल्लो समय भारतमा धार्मिक अतिक्रमण बढेको छ। संयोग नै सम्झौँ यही समयमा पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले लाहौरमा गुलाम अली खानसँग भेट गरे। इस्लामाबादबाट पाँच घण्टाको ड्राइभ गरी उनी गजल गायकलाई भेट्न त्यहाँ पुगेका थिए। राजदूत भएपछि नै उनलाई भेट्न चाहे पनि कोभिड–१९ कारण भेट सम्भव भएन र अहिले भेट जुरेको अधिकारी बताउँछन्।

नेपाली गीत गाएका र आत्मियताका कारण ती महान् गजल गायकले आफूलाई भेट्ने जाँगर चलाएको राजदूत अधिकारीले बताए। ‘उनी नेपाल र नेपालीलाई माया गर्छन्,’ उनले भने, ‘नेपालसँग जोडिएका हरेकलाई भेट्छन्। एक जना नेपालीले त आफूलाई गीत गाएर पठाउने कुरा भेटमा सुनाए।’

नेपालीलाई माया गरे पनि नेपाल आउने प्रस्तावलाई चाहिँ उनी स्वीकार गर्दा रहेनछन्। म्युजिकल एरेन्ज नेपालबाट गराउने र यताबाट उनले त्यही एरेन्जमा स्वर दिने गरेका रहेछन्। नेपालप्रतिको मोहकै कारण ‘गाजलु ती ठूलाठूला आँखा’ गीत गाएका हुन्।

नेपाली राजदूतले भेट्न चाहँदा उनले बेलुका ६ बजेको समय दिए। तर इस्लामाबादबाट पाँच घण्टा गाडी चलाएर आउने र फर्कने हुनाले दिउँसो मिलाउन आग्रह भएपछि २ बजेको समय लिएर राजदूत अधिकारी त्यहाँ पुगेका थिए। नेपालबाट आएका भन्दै अलिक नेपालीमै बोलेको राजदूत अधिकारीले सुनाए। उनले भने, ‘नेपालबाट त मलाई तक्मा पनि मिलेको छ, भनेका थिए भेटमा।’

८१ वर्षीय गजल गायकले गाउन थालेको करिव पाँच दशक भइसकेको छ। ‘भारतमा मात्र ३६ वर्ष गाएँ,’ भेटमा भएको कुराकानी सुनाउँदै राजदूत अधिकारीले भने, ‘अहिले स्वास्थ्यले साथ दिएको छैन। नेपाली र हिन्दी गीत कति बाँकी छ, स्वर दिन।’ एक जना नेपालीले दिएको गीत पनि आफूले रेकर्ड गर्न नपाएको उनले राजदूत अधिकारीलाई भनेका थिए। ‘गुलाम अलीले अहिले पनि दैनिक रियाज गर्ने रहेछन्, त्यो पनि राति अबेरसम्म,’ राजदूत अधिकारीले भने, ‘अनि बिहान ढिलोसम्म सुत्ने गर्छन्। बराजुको पालादेखि नै गाउने रहेछन्। उहाँका बुबा पनि गाउनुहुन्थ्यो। छोरा पनि गायक नै छ। नातिलाई पनि गाउन सिकाउँदैछन्।’

हजारौँ गीत गाएका गुलाम अलीले हिजोआज ‘सेलेक्टेड’ गीतमात्र गाउँछन्। गायकले अधिकारीसँग भेटघाटमा आफ्ना गुरु बडे गुलाम अली खानबारे पनि कुराकानी गरेका थिए। भनेका थिए, ‘म त के हुँ र? बडे गुलाम अलि खान पो ठूला हुन्, उहाँको जस्तो कहाँ हुन्छ। उहाँलाई गान्धी परिवारमात्र होइन भारतमा ठूलाबडा सबैले सम्मान गर्थे।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड र सम्मानले गजल गायकको भित्ता र दराज भरिएको अधिकारीले सुनाए। संयुक्त परिवारमा रहेका उनी आफ्ना छोरा, नाति सबैसँग रमेका हुन्छन्। नेपाललाई सम्झिँदा उनले प्रज्ञा भवनमा तीनवटा कार्यक्रम गरेको सम्झिए। राजदरबारका केही किस्सा याद गरे। अनि दीपक जंघमलाई सम्झे। उनलाई न्युरोड, विशाल बजारमा किनमेल गरेको पनि याद रहेछ। ‘विशाल बजार भन्न नसके पनि न्युरोडभित्र ठूलो सेन्टर भनेका थिए,’ राजदूत अधिकारीले भने।

गजल बादशाह गुलाम अली केही समय इस्लामाबादमा पनि रहे। तर उनलाई लाहौर बढी मन पर्छ। पाकिस्तान सरकारले उनलाई उच्चस्तरको सम्मान दिएको छ। संगीतको कुनै भाषा हुँदैन। न त कुनै सीमा नै हुन्छ। विख्यात गजल गायक हुनाले भेट गर्न मन लागेको बताउँदै राजदूत अधिकारीले भने, ‘उनका गीत गुनगुनाउँदै हुर्केको अनि उनलाई भेट्न पाउँदा साह्रै खुसी लाग्यो।’

प्रकाशित: ९ भदौ २०८० १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =