मदन भण्डारी लोकमार्ग तेस्रोपटक अवरुद्ध

हिमाल प्रेस ९ भदौ २०८० १४:४०
14
SHARES
मदन भण्डारी लोकमार्ग तेस्रोपटक अवरुद्ध चुरेलाई चिरेर अगाडि बढेको मदन भण्डारी राजमार्गअन्तर्गत धरान-चतरा-गाईघाट खण्ड। फाइल तस्बिर

उदयपुर- निरन्तर वर्षाका कारण उदयपुगढी गाउँपालिका–६ मौवासी खोला नजिकै सडकमा खसेको पहिरोका कारण मदन भण्डारी लोकमार्ग दुई दिनदेखि अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यलयका अनुसार बिहीबार रातिदेखि परिरहेको निरन्तर वर्षाका कारण शुक्रबार बिहान उदयपुर गढीको मौवासी खोलाको पुल नजिकै मदन भण्डारी लोकमार्ग खण्डमा खोलापारीको माथिल्लो पाखाबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो।

मदन भण्डारी लोकमार्गमा सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँबाट पूर्व आउँदै गरेका सवारी साधन जिल्लाको कटारी क्षेत्रमा रोकिएका छन्। पूर्वबाट राजधानी काठमाडौँ हिँडेका सवारी साधन उदयपुरको गाईघाटमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र फुयाँलले बताए।

शुक्रबार बिहानैदेखि अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भए पनि वर्षाका कारण र ठूलो परिमाणमा सडकमा माथिल्लो खण्डबाट पहिरोसँगै ठूला ढुंगासहित लेदो खसेका कारण सडक खुलाउन कठिन भइरहेको सो सडक डिभिजनका प्रमुख (डीइ) गोपालप्रसाद खकुरेलले बताए।

अझै निरन्तर वर्षा जारी रहेको र पहिरोमा झण्डै ५० मिटर भन्दा बढी सडक खण्डमा माटो र ठूला ढुंगा खसेका कारण हटाउन कठिन भइरहेको उनले बताए। प्रहरीका अनुसार उदयपुगढीको मौवासीमा पहिरोका कारण यसपटक यो तेस्रोपटक सडक अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि सडक खुलाउन सडक कार्यालयसहितका प्राविधिक, मजदूर र कर्मचारी निरन्तर लागिपरेको प्रमुख खकुरेलले बताए। रासस

प्रकाशित: ९ भदौ २०८० १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + thirteen =