निषेधाज्ञाले धरानमा सवारीसाधन ठप्प

सुरक्षाकर्मीको कडा निगरानी

विवेक विवश रेग्मी ९ भदौ २०८० ७:५६
218
SHARES
निषेधाज्ञाले धरानमा सवारीसाधन ठप्प

इटहरी- जिल्ला प्रशासन कार्यालय सुनसरीले गएराति १२ बजेदेखि धरान प्रवेशमा निषेधाज्ञा गर्ने जनाएसँगै बिहानैदेखि धरान जाने सवारीसाधन फर्काइएको छ।

बाँक्लो मात्रामा प्रहरी परिचालन गर्दै धरान आवतजावत गर्ने सवारी साधन ठप्प भएको हो।
इटहरीतर्फबाट धरान जाने क्रममा इटहरी २० स्थित तरहराको पानीपियामै सवारी साधन रोकिएको छ । प्रहरीले सबै सवारी साधनलाई तरहराबाटै फर्काएको जनाएको छ।

काठमाडौँसहित, झापाको बिर्तामोड, इलाम, पाँचथर, ताप्लेजुङतिरबाट आउने सवारी साधन पनि ठप्प भएका छन्। यस्तै, विराटनगरसहित स्थानीय लोकल बससहित विभिन्न अत्यावश्यक सवारी साधनलाई पनि प्रहरीले तरहराबाटै फर्काएको छ।

खासगरी पछिल्लो समय धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि पहिचान पक्षधर र हिन्दु पक्षधरहरूबीच आरोप, प्रत्यारोप सुरु भएसँगै भदौ ९ गते आज हिन्दुवादीहरूले शान्तिपूर्ण र्‍याली प्रदर्शन गर्ने कार्यक्रमसमेत तय भएको प्रशासनसमक्ष जानकारी आएको थियो।

तर, शुक्रबार सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले धरानलाई २४ घण्टाका लागि निषेधाज्ञा गर्ने निर्णय गरेकी थिइन्। धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सबै वडा कार्यालयसहित सम्बन्धित निकायले आदेश लागू गर्न जनाइएको छ।

आदेश विपरीत गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताइएको छ। प्रशासनकाअनुसार धरान प्रवेश गर्ने पश्चिमतर्फको बराहक्षेत्र नगरपालिका वडा नं १ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनीको वडा नं ६ देखि बराहक्षेत्र ३ नडाहातर्फको क्षेत्र, इटहरी २० तरहराको पानीपियादेखिको उत्तरतर्फको क्षेत्र, धरान ५ प्रवेश गर्ने मोरङको केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटारतर्फबाट धरानतर्फको क्षेत्रमा निषेध गरिएको छ। जसकारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरसहित पहाडी जिल्लाबाट आउने सवारीसाधन भेडेटारमै रोकिएका छन्।

उता, उदयपुरसहित विभिन्न ठाउँबाट धरान आवतजावत गर्नेहरू चतरामा रोकिएका छन् भने मोरङको केराबारी क्षेत्रबाट आउनेहरू उतै रोकिएका छन्। इटहरीबाट संखुवासभा जाँदै गरेका भूपेन्द्र कटवालले यात्रामा निषेध हुँदा आँफूलाई ठूलो समस्या भएको बताए।

‘संखुवासभा पुग्नैपर्ने छ, बाटोमा यसरी अलपत्र पर्दा साह्रै समस्या भयो,’ उनले भने, ‘प्रहरीसँग बिन्ती गर्दासमेत जान पाइएन।’ प्रहरीलाई आफ्नो जरुरी काम भएको र पटकपटक अनुरोध गर्दासमेत आफ्नो हाकिमलाई नसोधीकन जान नदिइने प्रतिक्रिया दिएको बताए ।
यता, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले सुनसरी प्रशासनले गएराति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा गरेसँगै शान्ति सुरक्षामा कडाई गरिएको बताए।

‘धरानका सबै वडाहरू र धरान प्रवेश गर्ने सबै सवारी साधनमा रोक लगाइएको छ,’ उनले हिमाल प्रेससँग भने, ‘कुनै सभा, सम्मेलन, र्‍याली गर्न नपाउने निर्णय भएसँगै हामीले सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारेका छौँ। जसकारण अहिलेसम्म सबैतिरको अवस्था सामान्य छ।’

खासगरी हिन्दु धर्मावलम्बीहरूले बिहान ९ बजे इटहरीमा भेला भएर धरान पुग्ने बुझिएपनि आँफूहरूले समन्वय गरिरहेको उनले बताए। एसपी ढकालले भने, ‘सामाजिक सद्भाव नभड्कियोस्, शान्ति सुरक्षा नखलबलियोस् र कुनै सवारीसाधनसहित धनजनको क्षति नहोस् भनेर हामीले सुरक्षा व्यवस्था कडा बनाएका हौँ।’

धरानमा पछिल्लो समय गोवध प्रकरण र धरान उपमहानगरपालिकास्थित मन्दिरकै छेउमा निर्मित चर्च काण्डबारे शनिबार (आज) विरोध गरिने कार्यक्रम तय थियो। श्रीवैश्णव परिषद् नेपाल, विश्व हिन्दु परिषद् नेपाल, समग्र वैदिक सनातन समुदाय, शिवसेना नेपाललगायत गौवंश हत्याको विरोधमा भदौ ९ गते ‘गोरक्षा शान्ति ¥याली’ आयोजना गर्ने तयारीमा जुटेका थिए।

प्रकाशित: ९ भदौ २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =