अनलाइन किनमेल

अनलाइन व्यापार : सजिलो बन्दै जीवन

रमा केसी ६ भदौ २०८० १५:५९
90
SHARES
अनलाइन व्यापार : सजिलो बन्दै जीवन

सुर्खेत- सेवासुविधाका हिसाबले दुर्गम मानिने कर्णालीमा पछिल्लो समय अललाइनबाट कारोबार गर्नेको संख्या बढ्दै गएको छ। खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामानलगायत आफूलाई आवश्यक परेको सामग्री अनलाइनबाट अर्डर गरेर खरिद गर्न थालिएको छ। अनलाइनबाट सामान खरिद गर्न पाएपछि जीवनशैली सहज बन्दै गएको सेवाग्राहीहरू बताउँछन्।

यद्यपि सुर्खेतमा अनलाइन व्यवासय कानुनी रूपमा दर्ता गरेर सञ्चालन गरिएको भने पाइँदैन। सहरी क्षेत्रका केही व्यवसायीले आफ्नो सेवा र उत्पादन सहज रूपमा ग्राहककहाँ लैजान अनलाइन माध्यम प्रयोग गर्दै आएका छन्। बस र हवाईजहाजको टिकट खरिद त धेरैजसोले अनलाइनबाटै गर्छन्। पानी, बत्ती र इन्टरनेटको बिल भुक्तानी गर्न र मोबाइल रिचार्ज गर्न पनि सजिलो भएको छ।  भुक्तानीका लागि पैसा बोक्न नपर्ने भएकाले अनलाइन कारोबार बढेको सेवाग्राहीहरू बताउँछन्। रेस्टुरेन्टबाट खानेकुरा अनलाइन अर्डर लिनेमा धेरै छन्।

अनलाइन सेवा प्रदायकमध्येको एक हो सेफ च्वाइस रेस्टुरेन्ट एन्ड पिजा हट। रेस्टुरेन्टका प्रशासक सुरेश आचार्यले अनलाइनबाट अर्डर लिने ग्राहकको संख्या बढ्दै गएको बताए। उनले भने, ‘अहिले मानिसहरू खाजा खानका लागि होटलहोटल धाउनुपर्ने बाध्यता छैन। घरमा बसीबसी आफूले रोजेअनुसारको खानेकुरा खान पाइन्छ।’

अनलाइन सेवा दिनेले भने फेसबुकका माध्यमबाट विज्ञापन गर्ने गरेका छन्। यस्तै कतिपय रेस्टुरेन्टले टेलिफोन र म्यासेजका आधारमा पनि सेवा उपलब्ध गराउँदै आएका छन्। अनलाइन सेवा लिँदै आएकी मनीषा गुरुङले संसारको एउटा कुनामा बसेर अर्को कुनामा सेवा लिन सक्ने प्रविधिको विकास भएकाले अनलाइनबाट सामान खरिद गर्न सहज भएको जानकारी दिइन्। उनले भनिन्, ‘अनलाइन कारोबारले जीवन सहज बनेको छ। समयको पनि सदुयोग भएको छ। आफूले चाहेका सामग्री घरमै आइपुग्छ।’

डिजिटल माध्यमबाट सहजै भुक्तानी हुने भएकाले पनि अनलाइन कारोबार उपयुक्त भएको उनको भनाइ छ। मान्छेका मोबाइलमा वालेट छन्। गोजीमा नगद नभए पनि सहजै डिजिटल कारोबार गर्न सक्छन्। डिजिटल कारोबारले पैसाको सुरक्षा र समयको बचत भइरहेको छ।

सेवाग्राही परिस्कृत पौडेलका अनुसार अनलाइन सेवाले समयको सदुपयोग हुनुको साथै काम गर्ने सजिलो भएको छ। उनले विगत ७∕८ वर्षदेखि अनलाइनबाट सामग्री खरिद गर्दै आएका छन्। उनी भन्छन्, ‘काम गर्न सजिलो छ तर खर्च बढी छ।’ कानुनी दायरामा नआएका व्यवसायीलाई चाँडै कानुनी दायरामा ल्याएर व्यवसायलाई थप सहज र व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

अनलाइन सेवाबाट सामान खरिद गर्दा गर्दै पैसा गएको थाहा नहुने र पैसा लिएर सामान किन्दा पैसा धेरै गएको महसुस हुने गरेको उनले बताए। सानातिना भुक्तानी अनलाइनबाट गर्न पाइने व्यवस्थाले सबै प्रकारका कामलाई सहयोग पुगेको उनको भनाइ छ।

देउती नागरिकका सचिव रमेश खड्का मानिस प्रविधिमैत्री हुन थालेपछि अनलाइन कारोबार पनि बढेको बताउँछन्। उनका अनुसार बसको टिकट अनलाइनमा खरिद गर्ने क्रम बढिरहेको छ। खड्काले भने, ‘बस व्यवसायीले अनलाइन सेवा सुरु गरेपछि सोही माध्यमबाट टिकट काट्नेको संख्या बढ्दो छ।’

यस्तै हवाईजको टिकट अनलाइनबाटै बढी बिक्री हुने एयरलाइन्सका अधिकारीहरू बताउँछन्। अनलाइनबाट ८० प्रतिशतले टिकट लिने गरेको बुद्ध एयरका इन्चार्ज नरबहादुर बस्नेतले जानकारी दिए। उनले भने, ‘टिकट लिन विमानस्थल वा एजेन्सीकहाँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।’

डिजिटल कारोबारमा विश्वास गर्नेको संख्या बिस्तारै बढ्दै गएको छ। ठूला पसलहरूमा नगद कारोबारमै जोड गरिन्थ्यो। अहिले मानिसहरू अनलाइनमा बढी चासो देखाउन थालेका छन्।

वीरेन्द्रनगर–६ मा रहेको आँगन रेस्टुरेन्टले वीरेन्द्रनगरको धुलाइबेट र बांगेसिमलका विभिन्न वडाका सेवाग्राहीलाई ‘होम डेलिभरी’ गर्दै आएको छ। रेस्टुरेन्टका सञ्चालक श्याम तामाङले अनलाइन अर्डर लिन थालेको कोरोना सकिएलगत्तै हो।

रेस्टुरेन्टमा बिक्री भएका धेरै सामान अनलाइनबाटै हुने उनले बताए। उनले भने, ‘घरमै बसेर आफूले चाहेको खानेकुरा खान पाउँदा सेवाग्राही खुसी बन्नुहुन्छ। हामीले डेलिभरीका लागि छुट्टै स्टाफ राखेका छैनौँ। रेस्टुरेन्टकै स्टाफले वीरेन्द्रनगरमा डेलिभरी गर्दै आएका छन्।’

रेस्टुरेन्टको मेन्युमा भएका सबै प्रकारका खानेकुरा अनलाइनमार्फत बिक्री भइरहेको उनले बताए। उनले डेलिभरी सेवा दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए। उनी भन्छन्, ‘यसले ग्राहक र उपभोक्ता दुवैलाई सहज भएको छ।’

अनलाइन व्यापार : विश्वस्त हुनै बाँकी

दर्ताबिनै चलेका पूर्वका अनलाइन व्यवसाय

देशभर फैलिँदै ‘ड्याडिज किचेन’

 

प्रकाशित: ६ भदौ २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =