सत्ता हत्याउन कोशीमा फेरि सभामुखको दुरुपयोग, थापाले लिए विश्वासको मत

विवेक विवश रेग्मी ४ भदौ २०८० १८:०९
128
SHARES
सत्ता हत्याउन कोशीमा फेरि सभामुखको दुरुपयोग, थापाले लिए विश्वासको मत

इटहरी-  कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएका छन्। प्रदेशसभाका अध्यक्ष इस्राइल मन्सुरीसहितको मतमा मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन्। प्रदेशसभाको सोमबारको बैठकमा उपसभामुख सृजना दनुवार नेकपा एमालेको निर्देशनमा अनुपस्थित भएसँगै नेपाली कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए। उनै मन्सुरीको मतसहित मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेका हुन्।

संविधानको धारा १६८ (४) बमोजिम मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न चाहेका थिए। भदौ १ गते प्रदेशसभामा भदौ ३ गतेका लागि विश्वासको मत लिन सूची दर्ता गराए पनि उपसभामुख दनुवारले भदौ ४ गते सोमबारका लागि समय तोकेकी थिइन्।

साउन १६ गते दोस्रोपटक मुख्यमन्त्री भएका थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। उपसभामुख दनुवार बिरामीको कारण देखाउँदै सोमबार बिहान ७ बजेको यती एयरलाइन्सको फ्लाइटबाट काठमाडौँ लागेकी थिइन्। उनी आफैँले बोलाएको बैठकमा अनुपस्थित हुनु संसदीय मर्यादाविपरीत हो। एमाले निर्देशनमा उनी काठमाडौँ लागेको आरोप सत्तापक्षको छ।

उनी काठमाडौँ लागेलगत्तै सत्ता गठबन्धनको बैठक बसेको थियो। बैठकमा विश्वासको मत लिने या नलिने भन्नेबारे छलफल भएको थियो। उपसभामुखले बोलाएको बैठकमा विश्वासको मत लिनुपर्ने निर्णय गरेसँगै सोमबार दिउँसो प्रदेशसभा बैठक बसेको थियो। जसअनुसार कांग्रेसका मन्सुरीले अध्यक्षता गरेका थिए।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सदस्य आवश्यक पर्छ। थापालाई कांग्रेसका २९ (सभा अध्यक्षसहित), माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थियो। विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका ६ सांसद छन्। ९३ सांसदमध्ये ७७ सांसद उपस्थित थिए।

प्रदेशसभा सदस्य गीता तिम्सिनाले मुख्यमन्त्री थापालाई विश्वासको मत दिएकी थिइन्। तिम्सिनालाई अध्यक्षता गर्न आदेश दिएसँगै मन्सुरीले पनि विश्वासको मत दिएका थिए। मत विभाजनका क्रममा बराबर भएको खण्डमा मात्रै सभामुखले मत दिन पाउँछन्। तर आजको प्रदेशसभा बैठकमा पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो। यसरी सभामुख पदको दुरुपयोग गरेर थापाले लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न छ नै, यही विषयलाई लिएर पुनः अदालत जाने बाटो पनि छँदैछ।

मन्सुरीले मतदान गरेपछि नेकपा एमालेका सांसदहरूले विरोध गर्दै नाराबाजी गरेका थिए।

प्रदेशसभा बैठकमा राप्रपाले भने बहिष्कार गरेको छ। राप्रपाका प्रमुख सचेतक अम्बरबहादुर विष्टले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिएका थिए।  पार्टी केन्द्रको निर्देशनबमोजिम बैठकमा अनुपस्थित भएको उनले बताए।

कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकार ढलेपछि पछिल्लोपटक गत २१ असारमा सरकार गठन भएको थियो। त्यसबेला सभामुख रहेका बाबुराम गौतमसमेतको हस्ताक्षरसहित उनै थापा मुख्यमन्त्री बने। तर सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो।

नियुक्ति बदर भए पनि पुनः थापा मुख्यमन्त्रीमा दोहोरिए। सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर थापा बहुमतसहितको मुख्यमन्त्री बनेका हुन्।  गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाइयो।

उपसभामुख बैठकमा अनुपस्थित भएको अवस्थामा प्रदेशसभा बैठक सञ्चालन अध्यक्ष मण्डलले गर्नेछ। प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भए पनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ। नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख, उपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा एमालेकी मालती सुब्बा सबैभन्दा जेष्ठ हुन्। तर उनले आइतबार एमालेको निर्देशनमा प्रदेशसभा बैठकमा अनुपस्थित हुने जानकारी गराएकी थिइन्।

प्रदेशसभामा ज्येष्ठ सदस्यहरूमा एमालेका ७२ वर्षीय रोहितबहादुर कार्की, राप्रपाका प्रमुख सचेतक ६९ वर्षीय अमरबहादुर विष्ट, एमालेका ६८ वर्षीया मालतीकुमार लिम्बू, ६८ वर्षीय रामप्रसाद मेहता, ६८ वर्षीय खड्गबहादुर बस्नेत, ६७ वर्षीया तारादेवी ढकाल, ६६ वर्षीय किशोरचन्द्र दुलाल, राप्रपाका ६६ वर्षीय गोपालबहादुर विश्वकर्मा, एमालेका ६५ वर्षीय ज्ञानेन्द्र सुवेदी र कांग्रेसका ६४ वर्षीय अमृतकुमार अर्याल छन्। यसअघि मुख्यमन्त्री थापाले प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाएका छन्।

कसले के बोले?

प्रदेशसभाको सोमबारको बैठकमा दलहरू एकअर्काप्रति आरोपप्रत्यारोपमा उत्रिएका छन्। पूर्वमुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले उपपसभामुखको भूमिका शंकास्पद रहेको बताए। विश्वासको मतका लागि आफैँ समय तोक्ने काम उपसभामुखले पहिलोपटक गरेको र आफैँले बोलाएको बैठकमा सहभागी नहुनुले शंकास्पद भूमिका रहेको उनले बताए।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले किन भाँजो हालेको आरोप लगाए। ‘सांसदहरूलाई रातारात बिरामी बनाएर किन दुःख दिएको?,’ आङ्बोले एमाले सांसदहरूलाई लक्षित गर्दै भने, ‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने। अरूको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने?’

आङ्बोले घरायसी समस्यामा परेको भन्दै बिदा लिएका एमाले सांसदहरू एनजीओको कार्यक्रममा सहभागी हुनुले अत्यन्त लज्जाबोध भएको बताए। नेपाली कांग्रेस प्रदेशसभाका उपनेता हिमाल कार्कीले सहमतीय आधारमा प्रदेश सरकारलाई साथ दिनुपर्ने बताए। उनले भने, ‘नेकपा एमाले मुलुकको जिम्मेवार दल हो। प्रतिपक्षमा राप्रपा छ। उसले पनि जिम्मेवार भएर प्रदेशको उन्नति र विकासका लागि, दलीय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु।’

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लाञ्छना लगाएको आरोप लगाए। उपसभामुखले आफू प्रदेशसभामा बस्न नसके पनि सभा सञ्चालनको वातावरण बनाएको उनको भनाइ छ।

प्रकाशित: ४ भदौ २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 19 =