१५७ सांसदको समर्थनसहित प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत

हिमाल प्रेस ३० फागुन २०८० १५:५४
44
SHARES
१५७ सांसदको समर्थनसहित प्रधानमन्त्री दाहालले पाए तेस्रोपटक विश्वासको मत

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन्। १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन्।

बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्‍यो। एक सांसद तटस्थ रहे। बैठकमा २६८ सांसद उपस्थित थिए।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र)सहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे। विश्वासको मतको विपक्षमा ११० सांसदले मतदान गरे।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ। प्रधानमन्त्रीका पक्षमा १५७ सांसदले मतदान गरे। उनी ०७९ पुस १० गतेदेखि गठबन्धन फेर्दै प्रधानमन्त्री छन्।

प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट तेस्रोपटक विश्वासको मत लिएका हुन्। २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पहिलोपल्ट सोही पुसको २६ गते विश्वासको मत लिएका थिए। त्यति बेला उनलाई एमाले, राप्रपा, रास्वपासहितको गठबन्धन दलले विश्वासको मत दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक चैत ६ गते विश्वासको मत लिएका थिए। त्यति बेला उनलाई नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको दलले विश्वासको मत दिएका थिए। एमालेसँग गठबन्धन तोडेर प्रचण्डले कांग्रेससहित दलीय गठबन्धन बनाएपछि पुनः विश्वासको मत लिएका थिए।

अहिले फेरि कांग्रेससँगको गठबन्धन तोडेर एमालेलगायतका दलसँग समीकरण गरेर मन्त्रिपरिषद् विस्तार गरिएको छ। सोही कारण प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।

प्रकाशित: ३० फागुन २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =