ललिता निवास जग्गा प्रकरण : सीआईबीले लियो पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान

हिमाल प्रेस ४ भदौ २०८० ११:२५
6
SHARES
ललिता निवास जग्गा प्रकरण : सीआईबीले लियो पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसँग बयान

काठमाडौँ- ललिता निवास जग्गा विवाद प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ। सीआईबीको अनुसन्धान टोलीले दुवै प्रधानमन्त्रीको निवासमै पुगेर बयान लिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले हिमालप्रेसलाई जानकारी दियो।

बयान लिन सीआईबी टोली आइतबार राति नेपाल निवास कोटेश्वर पुगेको थियो। उनीसँगको बयान दुई बजे सकिएको ती अधिकारीले जानकारी दिए। त्यसपछि टोली सोमबार बिहान ४ बजे भट्टराई निवास टोखा पुगेर बयान लिएको थियो।

सत्ता गठबन्धनले दुवै पूर्वप्रधानमन्त्रीसँग बयान नलिन दबाब दिए पनि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएपछि टोली राति नै उनीहरूको निवासमा पुगेको थियो।

जवाफ लिने क्रम बाँकी रहेका कारण सीआईबीले प्रतिवेदन तयार पारिसकेको छैन।  उक्त प्रकरणको किर्ते तथा संगठित अपराधको अनुसन्धान प्रतिवेदन सोमबार मात्रै सरकारी वकिल कार्यालयमा पेस गरिने भएको छ। सीआईबीले अनुसन्धान अझै नसकिएकाले सोमबार मात्रै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउने तयारी गरेको हो।

ललिता निवासको जग्गा प्रकरणमा दुवै प्रधानमन्त्रीसँग बयानसमेत नलिएको भनेर सरकारको आलोचना भइरहेको थियो। सोही कारण प्रतिवेदन तयार पार्ने अन्तिम चरणमा आएर सीआईबीले उनीहरूसँग बयान लिएको छ।

सर्वोच्च अदालतले साउन २१ गते ललिता निवास जग्गा प्रकरणमा आदेशपछि उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तानिएका थिए। सर्वोच्चले प्रधानमन्त्री निवास रहेको बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन मन्त्रिपरिषद्बाटै भएका निर्णयमाथि छानबिन गर्न आदेश दिएको थियो।

भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूबारे सीआईबीलाई बताएको उल्लेख गरेका छन्। उनले सीआईबीलाई उठेका प्रश्नहरूबारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको स्पष्ट पारेका  हुन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् –

ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो सुरुदेखिको सार्वजनिक प्रतिबद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु।

यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दु बनोस् भन्ने कामना गर्दछु।

प्रकाशित: ४ भदौ २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =