हुलाकी राजमार्गले फेर्दैछ मधेशको काँचुली

हिमाल प्रेस ३ भदौ २०८० १५:३३
8
SHARES
हुलाकी राजमार्गले फेर्दैछ मधेशको काँचुली फाइल तस्बिर

वीरगञ्ज- कुनैबेला साँघुरो सडक र सडकको छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेश प्रदेशका ग्रामीण बजारको स्वरूप यतिबेला फेरिएको छ।

महेन्द्र राजमार्गको समानान्तर हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर हुलाकी राजमार्ग अगाडि बढेको छ। मधेश प्रदेशमा मात्रै महेन्द्र र हुलाकी राजमार्ग जोड्न ३२ वटा सहायक सडक बनाइएको छ।

यही कारण सिरहाको बरियारपट्टी बजार अहिले सुगम क्षेत्रका रूपमा आफ्नो पहिचान फेर्न लागेको छ। भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला पसल खुल्न थालेका छन्। बजारमा सर्वसाधारणको चहलपहल बढेको छ। ठूला किनमेलका लागि वीरगञ्ज, जनकपुरलगायत सहर धाउनुपर्ने बाध्यता लगभग हट्न थालेको छ।

धनुषाको औरहीका विनोद यादवका अनुसार पहिलापहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना पसल मात्र थिए। अहिले सडक फराकिला र ठूलो भएसँगै पक्की भवन बन्न थालेका छन्। त्यसमा ठूला पसल खुलेका छन्।

पर्साको ठोरी गाउँपालिकालाई पनि केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रूपमा मानिथ्यो। यतिबेला ठोरी क्षेत्र मधेश प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ। सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी राजमार्ग कालोपत्रे भएसँगै विकासको गतिमा अघि बढ्ेको छ। पूर्व–पश्चिम यात्रा गर्नेहरूसमेत यहाँ आएर केहीबेर घुमफिर गर्न थालेका छन्।

हुलाकी राजमार्गअन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्रे भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ। ‘वीरगञ्जदेखि ठोरीसम्मको दूरी ५२ किलोमिटर छ, पहिले गाउँबाट वीरगञ्ज पुग्न दुई, अढाई घण्टासम्म लाग्दथ्यो,’ ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्छन्, ‘सडक कालोपत्रे भएपछि अहिले एक घण्टामै पुग्छौँ।’

पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा स्थानीय बासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन। ‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल वीरगञ्ज पुर्‍याउन समस्या हुन्थ्यो,’ बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्छन्, ‘अहिले जतिबेला पनि अटो रिक्सा चल्न थालेपछि सहज भएको छ।’

छोटो समयमै धनुषा र सिरहासहित मधेश प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मुलुककै ‘लाइफ लाइन’को रूपमा हेरिएको हुलाकी राजमार्गले हो। हुलाकी राजमार्ग विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुगेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताको भनाइ छ। ‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्यांकनसमेत बढ्दै गएको छ,’ उनले भने, ‘पहिला मुस्किलले २० लाख प्रतिकठ्ठा बिक्री हुने जग्गा अहिले ६० देखि ७० लाखसम्म किनबेच हुन थालेको छ।’

सडक राम्रो भएपछि गाउँ र बजारको दूरी घटेको छ। स्थानीयबासी जतिबेला पनि बजार आउन सक्ने भएकाले व्यापारसमेत बढेको छ।

सप्तरीको कञ्चनपुरदेखि सदरमुकाम राजविराजसहित बलान खोलासम्मको ४६ किलोमिटर सडकमा पुलसँगै सडक निर्माणको काम तीव्ररूपमा भइरहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले जानकारी दिए। ‘यो खण्डमा दुईवटा ‘कन्ट्रयाक्टर’मार्फत काम भइरहेको छ,’ थापाले भने ‘३२ किलोमिटर सडकमा कालोपत्रे सकिएको छ।’

यस्तै बलान खोलादेखि सर्लाहीसम्मको करिब ९० प्रतिशत सडक खण्डमा कालोपत्रे सकिएको छ। हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडकअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलोमिटर सडकअन्तर्गत हालसम्म ११८ किलोमिटर सडकमा कालोपत्र सकिएको छ।

यस्तै हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्म सडक खण्डमा निर्माणधीन ९ वटा पुलमध्ये ५ पुल निर्माणको काम सम्पन्न भइसकेको छ। कमला नदीको पुलसहित ४ पुलको काम भइरहेको कार्यालयले जनाएको छ। रौतहटदेखि चितवनसम्मको करिब २५१ किलोमिटर सडकमा कालोपत्र सकिएको र बाँकी ३२ किलोमिटरमध्ये वनजङ्गल तथा जग्गासम्बन्धी विवादका कारण प्रभावित भएको जनाइएको छ।

चालु आर्थिक वर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य थियो। तर राजमार्गभित्र परेका घरटहरा हटाउनमा भएको ढिलाइ, जग्गासम्बन्धी विवाद र कोभिड–१९ माहामारीलगायत कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही समयपछि धकेलिएको कार्यालयले जनाएको छ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 18 =