‘रास्वपाले सरकारको नेतृत्व गरेपछि औंलामा गन्न सकिनेबाहेकका नेता जेलको छिँडीमा हुनेछन्’

हिमाल प्रेस ३२ साउन २०८० १७:४७
10
SHARES
‘रास्वपाले सरकारको नेतृत्व गरेपछि औंलामा गन्न सकिनेबाहेकका नेता जेलको छिँडीमा हुनेछन्’ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नेतृत्वको पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा भ्रष्टाचारी नेताहरू सबै जेलमा पुग्ने दाबी गरेका छन्। इलामको फिक्कलमा चोक बजारमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले सरकारको नेतृत्व गरेको दिन औँलाले गन्न सकिनेबाहेकका नेताहरू जेलको छिँडीमा सड्ने बताएका हुन्।

‘यदि रास्वपा सरकारको नेतृत्वमा पुग्यो भने देशको एयरपोर्टबाट भित्रिएका क्विन्टलका क्विन्टल सुन काण्ड, ललिता निवास प्रकरण जस्ता अनेक कान्डको छानबिन गर्नेछ,’ उनले भने, ‘देशमा औँलामा गन्न सकिनेबाहेक नेता जेलको छिँडीमा सड्नेछन्।’

उनले २०८४ सालमा हुने आम निर्वाचनमा इलामका जनताले रास्वपाका उम्मेदवारलाई जिताएर परिवर्तनको घण्टी बजाउनुपर्ने बताए। जनजीविकाका पक्षमा काम गर्न आएकाले एकपटक अवसर दिएर परीक्षा लिनसमेत उनले आग्रह गरे।

‘काम गर्न सकेनौँ भने यो क्षेत्र घण्टी निषेधित बनोस्। वर्षौंदेखि जितेका नेताले इलाममा के परिवर्तन गरे?‚’ भन्ने प्रश्न गर्दै उनले भने‚ ‘तपाईंहरूलाई उपेक्षा गरिएको छ। इलाममा अथाह सम्भावना हुँदाहुँदै यहाँका पर्यटन, कृषि, उद्योग, शिक्षा, सडक हरेक क्षेत्रको विकास हुन सकेको छैन।’

उनले रास्वपालाई सिद्धान्तविहीन भन्नेहरूलाई पनि जवाफ फर्काए। ‘हामीलाई सिद्धान्तविहीन पार्टी भन्दै खेदो खन्ने गरेका छन्। हरेक मान्छेका छोराछोरीले गुणस्तरीय शिक्षा पाउन् भन्ने हाम्रो सोच छ। यो कुन सिद्धान्त हो‚ हामीलाई थाहा छैन,’ उनले भने, ‘वृद्धवृद्धालाई घरमा गएर स्वास्थ्य जाँच गर्ने, उपचारमा लैजाने हाम्रो काम हो। यो कुन सिद्धान्त? कुन वाद? कुन नीति हो? हामीलाई थाहा छैन।’

रास्वपाको उदयबाट आत्तिएकाहरुले रास्वपाको आलोचना, टीकाटिप्पणी र हमला गरिरहेको लामिछानेको आरोप छ। जति नै गाली गरे पनि खुद्रामा नभई थोकमा जवाफ दिने त्यसका लागि आम निर्वाचन पर्खन उनले चेतावनी दिए।

कांग्रेस, एमाले र माओवादीहरूले गर्नसक्ने जति गरिसकेको लामिछानेको दाबी छ।

प्रकाशित: ३२ साउन २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =