मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड

हिमाल प्रेस २९ साउन २०८० २०:४२
8
SHARES
मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड फाइल तस्बिर।

बागमती- मकवानपुरका हेटौँडालगायत ठाउँमा आँखा पाक्ने रोगका बिरामी बढेका छन्। आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको संख्या बढ्दै गएको छ। आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको संख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।

दैनिक दुई सयको हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म बिरामी आउने गरेको बताइएको छ। अस्पतालका नेत्र विशेषज्ञ डा. सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको संक्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिए।

आँखाका बिरामीको संख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफल गरिएकाे पनि उनले बताए। बैठकले आकस्मिक उपचारका लागि मात्र आउनका लागि सूचना जारी गरेकोे छ।

अस्पतालको क्षमताअनुसार दैनिक पाँच सय मात्र टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको छ। अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक रहेको अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए।

विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको संक्रमण विद्यार्थीहरूमा बढ्दै गएको हो। ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ।

अस्पतालका अर्का आँखा विशेषज्ञ डा. एलिना गौचनका अनुसार बिरामीको संख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको छ। बिरामी जति संख्यामा बढ्दै जान्छ त्यति नै औषधिको आवश्यकता रहेकाले अबको केही दिनमा औषधिको अभाव हुने निश्चित रहेको उनकाे भनाइ छ।

यस्तो अवस्थामा पनि संक्रमणका रूपमा फैलिएको सो रोगको सम्बन्धमा हेटाैँडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाले खासै ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ। रासस

प्रकाशित: २९ साउन २०८० २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =