यसरी बनाइँदैछ नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा मापदण्ड

हिमाल प्रेस २८ साउन २०८० १९:३९
22.5k
SHARES
यसरी बनाइँदैछ नेपाल प्रहरीका इन्स्पेक्टरको सरुवा मापदण्ड प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरको सरुवाको नयाँ मापदण्ड निर्माण लगभग अन्तिम चरणमा पुगेको छ। गृहमन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरको सरुवाको नयाँ मापदण्ड तयार गरिरहेको हो। अहिले तयार हुन लागेको मापदण्डअनुसार एक महिनाअघि मात्रै प्रहरी चौकीको इन्चार्ज बनेर गएका इन्स्पेक्टरहरूको पनि सरुवा हुनेछ।

नयाँ मापदण्डमा ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज भइसकेका अधिकृतलाई फेरि ‘क’ श्रेणीकै कार्यालयको इन्चार्ज नहुने व्यवस्था गरिँदैछ। यसरी इन्चार्ज भएकालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउनेछ।

त्यस्तै प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरलाई सुरुमै ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज पनि नबनाउने मापदण्ड बनाउन लागेको छ। इन्स्पेक्टरलाई सुरुमा ‘ख’ श्रेणीको मातहतको कार्यालयमा खटाउने र त्यसपछिको सरुवामा ‘क’श्रेणीको कार्यालयमा पठाइनेछ।

‘ख’ श्रेणीमा काम गरेपछि कार्यसम्पादनमा अनुभव हुने र ‘क’ श्रेणीको कार्यालयमा उत्कृष्ट काम गर्न सक्ने विश्वास लिइएको छ। नयाँ मापदण्ड तयार हुन लागेकै कारण इन्स्पेक्टरहरूको सरुवा रोकिएको छ। ‘मापदण्ड नयाँ बन्न लागेको छ। अहिले बन्ने मापदण्डले संगठनलाई चलायमान बनाउने, अधिकृतलाई कार्यसम्पादन गर्न सहज हुने विश्वास छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो,’इन्स्पेक्टरहरूको सरुवा साउनकै पहिलो हप्तामा हुनपर्ने नयाँ मापदण्ड तयार नभएकोले रोकिएको हो। अब छिट्टै हुन्छ।’

डीएसपी, एसपीको पनि सरुवा छिट्टै निकाल्ने तयारी गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयको छ। त्यस्तै प्रहरी प्रधान कार्यालयले काजमा खटिने इन्स्पेक्टरको दरबन्दी पनि अहिलेको मापदण्ड तयार भएसँगै मिलान हुने बताएको छ।

प्रकाशित: २८ साउन २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eleven =