सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

हिमाल प्रेस २८ साउन २०८० १७:५२
16
SHARES
सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी निर्णय

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आज आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन्। सरकारमा जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह मन्त्री बन्दैछन्। उनलाई सामान्य प्रशासनमन्त्री नै बनाउने कि कुन मन्त्री भन्ने निर्णय सत्ता गठबन्धनले गरिसकेको छैन।

प्रचण्डको मन्त्रिपरिषद्‍ अहिले नै २५ सदस्यीय छ। संविधानत उनले यसभन्दा बढी मन्त्री बनाउन संवैधानिक बाधार भएपछि पार्टीबाट मन्त्री बनेकालाई हटाएका हुन्।

जनमतले पार्टीकी समानुपातिक सांसद साहलाई यसअघि नै मन्त्रीका लागि सरकारबाट सिफारिस गरिसकेको छ। माओवादी केन्द्रसँग प्रधानमन्त्री, गृह, सञ्चार तथा सूचना प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन गरी ६ मन्त्रालय छन्। अब संघीय मामिला मन्त्रालय माओवादीसँग रहन्छ या रहँदैन टुंगो छैन।

माओवादीमा पर्यटनमन्त्री सुदन किराँती वा मोदीमध्ये एक जनालाई हटाउनेबारे छलफल भएको थियो। तर पछिल्लो समय चर्चामा रहेका किराँतीलाई हटाउँदा बाहिर नराम्रो सन्देश जाने पार्टीका नेताहरूको सुझावअनुसार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले मोदीलाई हटाएका हुन्।

जनमत मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै करिब ४ महिनाअघि सरकारबाट बाहिरिएको थियो। अहिले पुनः सरकारमा सहभागी हुने तर पुरानै इच्छाअनुसारको मन्त्रालय पाउनुपर्ने जनमतको जोड छ।

प्रकाशित: २८ साउन २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =