न्युयोर्कमा चर्चित फेसन डिजाइनर नेपाली कूटनीतिज्ञ

सन्तोष खडेरी २० साउन २०८० ६:०५
1.2k
SHARES
न्युयोर्कमा चर्चित फेसन डिजाइनर नेपाली कूटनीतिज्ञ

संयुक्त राष्ट्रसंघमा कार्यरत एक नेपाली कूटनीतिज्ञ न्युयोर्कमा फेसन डिजाइनरका रूपमा चर्चित थिए भन्दा धेरैले पत्यार नलग्न सक्छ। साढे ५ दशकअगाडि फर्कने हो भने त्यसलाई पत्याउनैपर्छ। ती नेपाली कूटनीतिज्ञ हुन् शैल उपाध्याय।

उपाध्याय नेपाल सरकारको कूटनीतिक सेवाका कूटनीतिज्ञ भने होइनन्। तर उनले तीन दशकसम्म संयुक्त राष्ट्रसंघका विभिन्न निकायमा रहेर काम गरेका कूटनीतिज्ञ थिए। सन् १९३५ मा विराटनगरमा जन्मिएका उनको बाल्यकाल भारतको पटनामा बितेको थियो। शैल उपाध्याय नलिनी उपाध्याय (कृष्णप्रसाद कोइरालाकी जेठी पत्नी मोहनकुमारीदेवीकी सुपुत्री) र नेपालका पहिलो महान्यायाधिवक्ता कालीप्रसाद उपाध्यायका छोरा थिए।

पटना हाइकोर्टमा वकालत गर्ने कालीप्रसाद उपाध्याय नेपालमा २००७ सालको परिवर्तनपछि २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएका थिए। सर्वोच्च अदालतको न्यायाधीश, बेलायतका लागि नेपाली राजदूत हुँदै पछि उनी राजसभा सदस्यमा नियुक्त भए। नेपालमा प्रजातन्त्र आउनुअगाडि उनको परिवार भारतमै थियो।

शैल उपाध्याय पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका आफ्नै भान्जा थिए। उनी पूर्वप्रधानमन्त्रीहरू बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाका सौतेनी दिदी तर्फका भान्जा पर्दथे। सन् १९७७ मा बीपी कोइराला पहिलोपटक क्यान्सर उपचारका लागि न्युयोर्क पुग्दा यिनै शैलको साथमा बसेका थिए।

पटनास्थित सेन्ट जेभियर्सबाट विद्यालय शिक्षा उत्तीर्ण गरेका शैलले बाबुको बाटो पछ्याउँदै नेपालको नेपाल ल कलेजबाट कानुनमा स्नातक गरे। अनि उनी उच्चशिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए। पहिले भर्जिनिया युनिभर्सिटी र पछि क्यालिफोर्नियास्थित क्लेरेमोन्ट युनिभर्सिटीबाट उनले कानुनमा उच्चशिक्षा हासिल गरेका थिए। (नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको विशेष प्रस्तुति जीवनयात्रा अनुभवमा सन् २०१२ मा प्रस्तोता सहदेवले शैल उपाध्यायसँग गरेको कुराकानी)

अध्ययन सकेपछि शैलले न्युयोर्कमा संयुक्त राष्ट्रसंघ मुख्यालयमा जागिरे जीवन प्रारम्भ गरे। राष्ट्रसंघको अभिलेखअनुसार ९ अगस्ट १९६१ मा उनी राष्ट्रसंघमा एसिस्टेन्ट अफिसर नियुक्त भए। सन् १९६९ उनी त्यहाँ पोलिटिकल अफेयर्स अफिसर पदमा कार्यरत थिए।

कूटनीतिज्ञ शैललाई फेसनमा असाध्यै धेरै रुचि थियो। उनले फेसन डिजाइनसम्बन्धी औपचारिक अध्ययन र तालिम लिएका भने होइनन्। कूटनीति र फेसन डिजाइनिङ अलगअलग विषय हुन्। तर उनले दुवैलाई सँगसँगै अगाडि बढाए। फुर्सदको समयमा व्यक्तिगत रुचिअनुसार आफ्ना लागि गरेको डिजाइनलाई उनले पहिलोपटक सार्वजनिक गरेका थिए। त्यसबाट सञ्चारमाध्यमको ध्यान खिच्दै उनले राम्रो ‘कभरेज’ पाए।

संयुक्त राष्ट्रसंघमा कार्यरत कूटनीतिज्ञ र पश्चिमा जगत्का लागि सुदूरपूर्वी देश नेपालबाट प्रतिनिधित्व गरेका कारण पनि सम्भवतः उनले मिडियामा स्थान पाएका होलान्। राष्ट्रसंघमा कार्यरत कूटनीतिज्ञ र नेपाली भएकाले उनी र उनको फेसन धेरैका लागि चासोको विषय बन्नु स्वाभाविक थियो।

शैलले सन् १९६९ को ग्रीष्म ऋतुमा न्युयोर्कमा आफ्नो संकलनलाई पहिलोपटक प्रदर्शन गरेका थिए। त्यसपछि शरद ऋतुमा महिला र पुरुष दुवैका लागि हुने करिब ३० प्रकारका संकलन प्रस्तुत गरेका थिए। (जापान टाइम्स १९६९-जुन-१९)

सन् १९६९ को ग्रीष्ममा उनले नेपालको हिमाली भेगमा शेर्पाहरूले भेडा/च्यांग्राको ऊनीबाट बुनेको घुँडाघुँडासम्म आउने कोटलाई नयाँ रूप दिएका थिए। एउटी मोडललाई उक्त कोट लगाइदिँदै गरेको तस्बिर त्यतिबेला समाचार संस्था दी एसोसियटेड प्रेसले सम्प्रेषण गरेको थियो। उनले उक्त कोटले घाँटी पूरै छोप्ने बनाएका थिए। यसबाट घाँटीसम्म न्यानो हुने उनको भनाइ थियो। उनको उक्त डिजाइनको त्यतिबेला अमेरिकी सञ्चारमाध्यममा खुब प्रशंसा भएको थियो। (डेटोना विच मोर्निङ, फ्लोरिडा अमेरिका  : जनरल १३-जुन-१९६९)

शैलले पुरुषले लगाउने परम्परागत लामो पाइन्टको स्थानमा नयाँ किसिमको छोटो ट्राउजरको विकास गर्नुपर्ने पक्षमा आवाज उठाउन थाले। आफूले महिला र पुरुष दुवैले एकअर्कोसँग साटफेर गर्न सक्ने शिष्ट रूपको नयाँ डिजाइन प्रदान गर्न चाहेको उनी बताउँथे।  (डेटोना विच मोर्निङ, फ्लोरिडा अमेरिका : जनरल १३-जुन-१९६९)

फेसन डिजाइनिङमा उपाध्यायले पुरुषले लगाउने पाइन्टलाई छाडेका थिए। लामो समयदेखि चलिरहेको स्थापित पाइन्टको स्थानमा उनले नयाँ ट्राउजरको विकास गरे। घुँडादेखि थोरै तलसम्मको ट्राउजर र त्यसको तल लामो आकारको बुट लगाउने अभ्यासको थालनी उनीबाट भयो।

शैलले अर्को फेसनमा एउटा तिघ्रासम्मको अलिक लामो टाइट ज्याकेट र तिघ्रा छोप्ने लामो बुट लगाउने अभ्यास गरेका थिए। ती दुवै अलगअलग खालका फेसन लगाएका उनका दुई तस्बिर सन् १९६९-७० मा अमेरिकी अखबारमा छापिएका थिए।

राष्ट्रसंघमा कार्यरत नेपाली कूटनीतिज्ञले पाइन्ट छाडेर त्यसको ठाउँमा नयाँ ट्राउजरको विकास गरे भन्ने शीर्षकमा तस्बिरसहितका समाचार प्रकाशित भएका थिए। त्यस्तै उनले महिला र पुरुषले लगाउने अलगअलग किसिमका पाइन्ट नभई दुवैले लगाउने मिल्ने एकै किसिमको ट्राउजरको विकास गर्ने पनि बताएका थिए। आफू अब परम्परागत कोटपाइन्टबाट टाढा रहने उनको भनाइ थियो।

पत्रिकामा प्रकाशित समाचारअनुसार उनी बाल्यकालदेखि नै फेसनप्रति रुचि राख्थे। आफूले पेसाका रूपमा नलिएर आत्मसन्तुष्टिका लागि मात्र फेसन डिजाइन गरेको उनको भनाइ थियो। नाफाका लागि डिजाइन नगरेको तर केही नयाँ चिजको सिर्जना गरौँ भनेर लागेको पनि उनी बताउँथे। आफूले केही पक्षसँग सम्झौता गरेमा डिजाइन गरेका कपडा राम्रो मूल्यमा बिक्री हुने भए पनि त्यसो नगर्ने तर साँच्चिक्कै यसलाई बुझ्ने केही मानिसले मात्र आफ्नो कपडा लगाइदिँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने उनको भनाइ थियो। (इन्डिपेन्डेन्ट जनरल १७ अक्टोबर १९७०)

उपाध्याय वास्तवमा आफ्नो बाल्यकालदेखि नै फेसनप्रति आकर्षित थिए। त्यसमा उनको रुचि पनि थियो। एक अन्तर्वार्तामा उनले भनेका पनि थिए, बाल्यकालमा उनी सूचीकारकहाँ गएर नयाँनयाँ अलगअलग तरिकाबाट कपडा सिलाउन लगाउनुका साथै घन्टौँ त्यहाँ बसेर काम हेर्ने गर्दथे। नेपालमा छँदा हरेक टोलटोलमा दुईचारवटा सूचीकारका पसल हुनाले पनि अवलोकन र अनुभव गर्ने अवसर थियो। (नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको विशेष प्रस्तुती जीवनयात्रा अनुभवमा सन् २०१२ मा प्रस्तोता सहदेवले शैल उपाध्यायसंग गरेको कुराकानी)

मिडियामा सन् १९६९ र ७० मा दुई वर्षसम्म उनको फेसन डिजाइनसम्बन्धी समाचार र अन्तर्वार्ता प्रकाशित भए पनि त्यसपछिका दिनमा भने कुनै समाचार आएन। कर्मचारीका रूपमा संयुक्त राष्ट्रसंघको चासो र सरोकार नरहेको फेसन डिजाइनिङको काम गर्दा राम्रो हुँदैन भनी उनलाई उनीभन्दा माथिका अधिकारीले भनेपछि बाध्यतावास इच्छा दबाएर राखेको उनले एक अन्तर्वार्तामा स्मरण गरेका छन्।

करिब ३० वर्षसम्म राष्ट्रसंघमा सेवा गरी निवृत्त भएपछि भने उनी फेसन डिजाइनमा फर्किए। उनका अनुसार सेवानिवृत्त जीवनमा आफूलाई व्यस्त राख्न र न्युयोर्क जस्तो महँगो सहरमा पेन्सनमा मात्र निर्भर रहँदा आर्थिक रूपमा पनि गाह्रो हुने भएकाले व्यावसायिक रूपमा फेसन डिजाइनिङमा अगाडि बढाइएको हो।

शैल नेपालमा पञ्चायत व्यवस्थाका विरोधी र बहुदलीय प्रजातन्त्रका पक्षपाती थिए। २०६२-६३ सालपछि उनी गणतन्त्र पक्षधरका रूपमा अगाडि आएका थिए। आफूले अमेरिकामा अध्ययन सक्दानसक्दै नेपालमा राजा महेन्द्रले संसदीय प्रजातन्त्र मासेर पञ्चायत सुरु गरेकाले नेपाल नफर्किएर राष्ट्रसंघमा जागिरे भएको उनको भनाइ थियो। उनका अनुसार सन् १९६० ताका न्युयोर्कमा नेपाली कूटनीतिक नियोगमा कार्यरत नेपालीबाहेक उनी, रामचन्द्र मल्होत्रा र सानू शाह (नेता एवं भारतका लागि पूर्व राजदूत महेन्द्रविक्रम शाहका छोरा) तीन जना नेपाली मात्र थिए।

जीवनको दोस्रो अध्यायका रूपमा फेसन डिजाइन अगाडि बढाएका उपाध्यायले यस क्षेत्रमा समेत राम्रै गरेका थिए। जीवनको अन्तिम १० वर्षमा उनले आफूलाई चिनाउन सफल भएका थिए। उनलाई रङ्गहरूको पर्व होली धेरै मन पर्दथ्यो। त्यस्तै न्युयोर्कमा हिउँदमा सेताम्य हिउँ, सडकमा कालो गाडी र कालो कपडामा सजिएको देखेका कारण आफू रङ्गीनमा बढी आकर्षित भएको उनको भनाइ थियो। त्यसैले उनलाई कुनै एउटै रङ्गमा सीमितभन्दा पनि रङ्गीचङ्गी कपडा मात्र लगाएको हामीले देख्ने गरेका छौँ।
सन् २०१० मा न्युयोर्क टाइम्सका फेसन फोटोग्राफर बिल कनिङ्घमले तयार गरेको वृत्तचित्र ‘बिल कनिङ्घम न्युयोर्क’ मा शैललाई देख्न सकिन्छ। उनको निधन ७७ वर्षको उमेरमा ९ जनवरी २०१३ मा न्युयोर्कमा भएको थियो।

प्रकाशित: २० साउन २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =