माओवादीले तीन महिने संगठनात्मक अभियान चलाउने

हिमाल प्रेस १७ साउन २०८० १५:४८
2
SHARE
माओवादीले तीन महिने संगठनात्मक अभियान चलाउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमा माओवादीले तीनमहिने संगठनात्मक अभियान गर्ने भएको हो।

प्रचण्डले पार्टी संगठनमा देखिएका राजनीतिक, वैचारिक तथा सांस्कृतिक चुनौती हल गर्दै जनताको भरोसायोग्य पार्टी निर्माणको आवश्यकता रहेको भन्दै उक्त प्रस्ताव गरेका हुन्।

जनतासँग पार्टी अभियान नाम दिइएको संगठन विस्तार अभियानअन्तर्गत पार्टीका सबै तहका नेता जनताको घरदैलोमै बिताउने प्रस्ताव प्रचण्डले राखेका हुन्।

सहर, सिंहदरबार, बालुवाटार, प्रदेश सदरमुकाममा नेता–कार्यकर्ता केन्द्रित हुने, पद र प्रतिष्ठाका लागि जेसुकै पनि गर्ने, अपारदर्शी जीवनशैलीजस्ता प्रवृत्ति बढेको भन्दै प्रचण्डले विधानको सम्मान गर्दै जनतामाझ जानुपर्ने प्रस्ताव गरेका छन्।

उक्त अभियानअन्तर्गत पार्टीको महाधिवेशनको दस्ताबेजमा आधारित रहेर व्यापक बहस, अन्तरक्रिया र प्रशिक्षण गर्ने । मंसिरमा हुने विधान अधिवेशनसम्म संगठन र त्यसपछि विशेष महाधिवेशनसम्म नयाँ वैचारिक संश्लेषणमा पुग्ने कार्ययोजनामा उल्लेख छ।

पार्टी र जनस्तरसम्म गणतन्त्रका उपलब्धि प्रचारप्रसार गर्ने, सूचना प्रविधिको विकास र समाजवादी आन्दोलनमा त्यसले पार्ने प्रभावका विषयमा छलफल, डिजिटल प्लेटफ्रम, आइसिटी तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख छ।

माओवादीले तीनमहिने अभियान वडालाई आधार बनाएर प्रशिक्षण सञ्चालन गर्ने तथा सरकार र पार्टीप्रतिका गुनासो र सुझाव संकलन गर्ने जनाएको छ।

प्रकाशित: १७ साउन २०८० १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − one =