राजनीतिक चलखेलले अप्ठ्यारोमा कोशीका मुख्यमन्त्री

हिमाल प्रेस ४ भदौ २०८० ७:३८ | Monday, August 21, 2023
राजनीतिक चलखेलले अप्ठ्यारोमा कोशीका मुख्यमन्त्री

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज (सोमबार) विश्वासको मत लिने कार्यक्रम छ।

दिउँसो १ बजे विश्वासको मत लिन लागेका मुख्यमन्त्री थापाले विश्वासको मत माग्नुभन्दा अगावै प्रतिपक्ष दल एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरू बिदाको निवेदन लेखेर बैठकमा आउन नसक्ने जानकारी दिइसकेका छन्।

थापालाई विश्वासको मत पाउनबाट बञ्चित गर्नका लागि प्रतिपक्ष दल एमाले र राप्रपा मिलेर नयाँ योजना बनाएका छन्।

आइतबारै एमाले र राप्रापाका आठ जना ज्येष्ठ प्रदेशसभा सदस्यले सोमबारको बैठकमा उपस्थित नहुने सूचना प्रदेशसभा सचिवालयमार्फत उपसभामुखलाई दिइसकेका छन्।

भोलिको बैठकमा गयल हुने प्रदेश सभा सदस्यतर्फ एमालेका ७ र राप्रपाका दुई जना रहेका छन्। उनीहरूले घरायसी कारण देखाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका छन्।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। गठबन्धनसँग त्यो बहुमत ४७ मत छ तर, प्रमुख प्रतिपक्ष दल अनुपस्थित भएर बैठकको अध्यक्षता पनि सत्ता पक्षले नै गरेको खण्डमा थापाले विश्वासको मत पाउने छैनन्। किनकि बैठकको अध्यक्षता गर्नेले मतदान प्रक्रियामा भाग लिन मिल्दैन।

हाल एमालेबाट उपसभामुख सृजना दनुवार छिन्। उनलाई एमालेले भोलि कुनै पनि अवस्थामा बैठक सञ्चालनका लागि पठाउने छैन।

किनकि एमाले जसरी पनि सत्ता पक्षलाई बहुमत पुर्‍याउनबाट रोक्न र फेरि प्रदेशसभाको ठूलो दल भएको हैसियतले पुनः सत्तामा जान चाहन्छ।

सभामुखबाटै बिग्रिएको लय
थापा गत असार २१ मा मुख्यमन्त्रीमा निुयक्त गरेका थिए। सत्ता गठबन्धनमा बहुमत नपुगेपछि उनले तत्कालीन सभामुख बाबुराम आचार्यको समेत हस्ताक्षर प्रदेश प्रमुख कहाँ बुझाएका थिए। तर उनी २१ दिन मात्र सत्तामा टिके।

उनीविरुद्ध प्रतिपक्षी एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटको फैसलापछि थापा पदमुक्त भए‍। उनको नियुक्ति असंवैधानिक ठहरियो। त्यसपछि सभामुखलाई राजीनामा गराएर उनी मुख्यमन्त्री बने।

सभामुखको अनुपस्थितिमा सभा उपसभामुखले चलाउनु पर्ने हो। तर कोशीमा उपसभामुख प्रमुख प्रतिपक्षी एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।

उनी सभामा उपस्थित हुने सम्भावना कम छ। उनको अनुपस्थितिमा जेष्ठ सदस्यले सभा चलाउनु पर्ने हो। तर कांग्रेसका सांसद गयानन्द मण्डल राज्यमन्त्री छन्।

प्रदेशसभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा दिएका हुन्।

एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारको राजीनामाको सम्भावना छ।

एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने जानकारी गराएका छन्।

 

प्रकाशित: ४ भदौ २०८० ७:३८ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast