निर्माणाधीन बाह्रबिसे सबस्टेसन तत्काल सक्नुपर्ने दबाबमा प्राधिकरण

हिमाल प्रेस १४ साउन २०८० १५:२०
8
SHARES
निर्माणाधीन बाह्रबिसे सबस्टेसन तत्काल सक्नुपर्ने दबाबमा प्राधिकरण

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सक्नुपर्ने दबाबमा परेको छ। चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण कार्य सुरु गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सक्नुपर्ने दबाबमा प्राधिकरण परेको हो।

मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरू भइरहेका प्राधिकरणले जानकारी दिएको छ। मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। आयोजनाले आफ्नो विद्युत्‌गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरू निर्माण गरिसकेको छ। त्यस्तै तार तान्ने काम भइरहेको छ।

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटकपटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माणमा ढिलाइ हुँदै आएको छ।प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यववस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित टोलीले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरेको थियो।

कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए। श्रमिकको संख्या थप गरी निर्माणमा तिव्रता दिन निर्देशन दिँदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रूपमा सबस्टेसनस्थल आएर नियमितअनुगमन गर्ने बताए। ‘पावर ट्रान्सफर्मरलगायत सबस्टेसन राखिने उपकरणहरू निर्माणस्थलमा आइसकेका छन्,’ उनले भने, ‘नर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौँ।’

प्रकाशित: १४ साउन २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =