मोरङ र सुनसरीको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्राधिकरणको पहल

हिमाल प्रेस १४ कार्तिक २०८० १४:१८
12
SHARES
मोरङ र सुनसरीको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिका लागि प्राधिकरणको पहल

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले मोरङ र सुनसरीका औद्योगिक क्षेत्रमा भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि अधिकतम प्रयास भइरहेको बताएको छ।

प्राधिकरणले त्यस क्षेत्रका औद्योगिक र अन्य ग्राहकलाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरणतर्फ चालु अवस्थामा रहेका लाइनहरूको सुधार गर्ने, नयाँ लाइन बनाउने, सबस्टेसनहरूको क्षमता स्तारोन्नति तथा निर्माणको काम अघि बढाएको बताएको हो।

मोरङ र सुनसरीका उद्योगीले खासगरी गर्मी याममा उद्योगहरूमा पटकपटक लाइन जाने र आउने (ट्रिपिङ) हुने गरेको गुनासो गर्दै आएका छन्। उक्त समस्या सम्बोधन गर्न प्राधिकरणले मोरङ र सुनसरी औद्योगिक करिडोरमा विद्युत् आपूर्तिका लागि सुनसरीको दुहवीस्थित १३२ केभी ग्रिड सबस्टेसनको भार (लोड) घटाउन पुरानो लाइनको सुधार र थप लाइन तथा सबस्टेसन निर्माण गरिरहेको प्राधिकरणको भनाइ छ।

यसअघि सञ्चालनमा आएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित४०० केभी क्षमताको इनरुवा सबस्टेसनबाट विद्युत् आपूर्ति दिनका लागि प्रसारण तथा वितरणतर्फका लाइन र सबस्टेसन निर्माणाधीन छन्।

इनरुवा ४००, २२०, १३२ र ३३ केभी प्रणालीमा आधारित सबस्टेसन भएकाले त्यहाँबाट स्थानीय रूपमा विद्युत् आपूर्ति गर्न सकिने छ। यसले गर्दा दुहबी सबस्टेसनमा हाल रहेको विद्युत् आपूर्तिको भार घट्ने प्राधिकरणको भनाइ छ।

प्रकाशित: १४ कार्तिक २०८० १४:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =