सुन तस्करी प्रकरणले तात्यो संसद्

हिमाल प्रेस १० साउन २०८० १६:१२
36
SHARES
सुन तस्करी प्रकरणले तात्यो संसद् प्रतिनिधिसभाको बुधबार बसेको बैठक। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास गरिएको एक सय किलो सुन तस्करीका विषय संसद्‌मा प्रवेश गरेको छ। सुन तस्करी प्रकरणमा संलग्न नाइकेलाई पक्राउ गरी कारबाही गर्नुपर्नेमा सत्ता र विपक्षी दुवै दलका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा समान धारणा राखेका हुन्।

प्रमुख प्रतिपक्षी एमालेले उक्त प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेको छ। एमालेले सुन तस्करी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। एमालेको यस्तो मागमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्रीले यस विषयमा स्पष्ट जबाफ दिनुपर्ने माग गरेको छ। उता सत्तापक्षकै सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले पदबाट राजीनामा नदिएसम्म संसद्मै अनशन बस्ने चेतावनी दिएका छन्।

उनले यस्ता प्रकरणमा जोडिएका बेला विभिन्न देशका उच्च तहमा रहेका व्यक्तिले नैतिकताका आधारमा राजीनामा दिएको उदाहरण पेस गर्दै सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा माग गरेका हुन्। शर्माले भने, ‘अनुसन्धान प्रक्रिया नटुंगिँदासम्म उहाँहरू दुवैले राजीनामा दिनुपर्छ। यो प्रश्न सत्ता वा प्रतिपक्षीको मात्रै सरोकारको विषय होइन। मुलुक र जनतासँग सम्बन्धित प्रश्न हो।’ मुख्य दोषीलाई पक्राउ नगर्दासम्म दोषीको भागीदार सत्ता र प्रतिपक्षी दुवै हुने उनको भनाइ छ।

एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीको सेटिङमा भएको आरोप उनको छ। गिरीले भने, ‘यस विषयमा छानबिन गर्न संसद्बाट उच्चस्तरीय छानबिन गर्न सभामुखले रुलिङ गर्नुपर्‍यो।’

उनले सुन तस्करी प्रकरणमा सत्ता पक्षीय माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरालाई छानबिन गर्न सरकारले खुट्टा कमाइरहेको आरोप लगाए। केही समयअघि विमानस्थबाटै बरामद गरिएको नौ किलो सुन प्रकरणमा पनि महराको नाम जोडिएको एमालेको आरोप छ। उनले महराका बाबुछोराले त्यो सुन लैजान धेरै दबाब दिइएको पनि बताए। गिरीले भने, ‘बाबुछोराले १९५ पटक चिनियाँ व्यापारीलाई फोन गरेको प्रहरी रेकर्डमा छ। यस विषयमा प्रहरीले छानबिन गरेको छैन।’

गृहमन्त्री कुनै पनि कोणबाट कुर्सीमा बस्न लायक नरहेको आफूहरूको निष्कर्ष रहेको एमाले नेता गिरीले बताए। उनले गृहमन्त्रीतर्फ संकेत गर्दै भने, ‘अब तपाईँ कुन नैतिकताका आधारमा पदमा बसिरहनुहुन्छ?’ सत्ताको आडमा यस्ता ठूला स्क्यान्डलमा संलग्नलाई कारबाही नगरिएको उनको आरोप छ।

२०७४ माघ ९ गते भित्रिएको ३३ किलो सुन बेपत्ता बनाइएको विषयमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले छानबिन गरेको उनले सुनाए। त्यति बेला तस्करीका नाइकेलाई पक्राउ गरी कारबाही गरिएको उनले जानकारी दिए।

गिरीले भने, ‘उक्त प्रकरणमा संलग्न व्यक्ति अहिले जेलमा छन्।’ उनले त्यसपछि सुन तस्करीको जालो तोडिएको लागे पनि त्यस्तो नरहेको बताए। त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था अत्यन्त फितलो रहेकाले सुन तस्करहरूलाई सजिलो भएको गिरीको भनाइ छ।

यस्तै माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरण सामान्य विषय नभएकाले दोषीमाथि कारबाही गर्नुपर्ने बताए। उनले भने, ‘मान्छे नहेरी जुनसुकै दलको परोस् कारबाही गर्नुपर्छ।’ पौडेलले भ्रष्टाचारसँग सम्बन्धित कतिपय विषयमा राम्रो काम गरिरहेको भन्दै सरकारको प्रशंसा गरे। उनले व्यक्तिको अनुहार नहेरी काम गर्न आग्रह गरे। यस्तै उनले नागरिकलाई सुशासनको अनुभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिए।

रास्वपा सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणपछि कर्मचारीहरूको सरुवा हुने गरेको आरोप लगाए। उनले प्रश्न गरे, ‘सरुवा भनेको कारबाही हो?’ त्यस्ता कर्मचारीले तत्काल बर्खास्त नहुने हो भने महत्त्वपूर्ण सूचना हराई अनुसन्धान प्रक्रिया प्रभावित हुने बताए।

सुन तस्करी प्रकरणलाई सघाउ पुर्‍याउने त्रिभुवन विमानस्थलको सुरक्षा निकायका प्रमुख, अध्यागमन प्रमुख, र भन्सार प्रमुखलाई पदमा बस्ने हैसियत नरहेको लामिछानेको भनाइ छ।

सुन तस्करी प्रकरणमा भरियाका बारेमा सूचना दिनेले मालिकको पनि सूचना दिन सक्ने भएकाले त्यसतर्फ अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए। लामिछानेले भने, ‘त्यसरी सूचना लिन सकेमा मालिकसम्म कर्‍यापझ्याप पार्न सकिन्थ्यो होला नि!’

पार्टीले सुन तस्करी प्रकरणबारे संसद्‌मा जरुरी सार्वजनिक महत्त्व प्रस्ताव दर्ता गरेको जानकारी दिँदै त्यसलाई बैठकमा ल्याउन सभामुखसँग आग्रह गरे। लामिछानेले भने, ‘उक्त प्रस्तावमा उठाइएका सुन तस्करीबारे गृहमन्त्रीले चित्तबुझ्दो जबाफ नदिए रास्वपा कडा रूपमा प्रस्तुत हुनेछ।’ यस्तै उनले सरकार सुन तस्करीको जरोमा नपुगी हाँगाबिँगा मात्रै काटेर बसेको आरोप लगाए।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करीको छानबिनमा उचित निकास हुने गरी जरासम्म पुग्नुपर्ने बताए। उनले पछिल्लो पटक तस्करीलाई सरकारले थाहा पाएर पक्राउ नगरिएको दाबी गरे। उनले भने, ‘नेपाल सुन तस्करीको ट्रान्जिट बनेको छ भनेर विदेशबाट सूचना आएपछि पक्राउ गरिएको हो।’

यस्तै उनले कुनै बाह्य दबाबमा कसैलाई देखाउन मात्रै एक टिप सुन बरामद गरिएको दाबी गरे। अध्यक्ष लिङ्देनले भने, ‘अनुसन्धान र छानबिन जरासम्म पुगोस्। अनुसन्धान प्रक्रिया सशक्त ढंगाले अगाडि बढाओस्, झारा टार्ने काम नहोस्।’ उनले पनि छानबिन आयोग बनाएर सुन तस्करीबारे अनुसन्धान गर्नुपर्ने बताए।

प्रकाशित: १० साउन २०८० १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twelve =