कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा

हिमाल प्रेस ९ चैत २०८० १३:५७
32
SHARES
कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा फाइल तस्बिर

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएका छन्। इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न प्रहरीले चैत ५ मा उनलाई लुम्बिनी प्रदेशबाट पक्राउ परेका महरालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई हाजिर जमानी छाड्ने निर्णय गरेको हो।

सीआईबीका अनुसन्धान अधिकृतले बुधबार र बिहीबार महराको बयान लिएका थिए। स्वास्थ्य समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भएका महरालाई ब्युरोका अनुसन्धान अधिकृतहरूले बुधबार र बिहीबार माइतीघरस्थित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ल्याएर बयान लिएका थिए। महरा घाँटी र मस्तिष्कको नशाको रोगबाट पीडित छन्। प्रहरी अनुसन्धानमा महराले आफूले ८ प्रकारको औषधि सेवन गरिरहेको बताएका थिए।

२०७९ पुस १० गते चिनियाँ नागरिकले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको प्रहरीको दाबी  थियो। यद्यपि सीआईबीले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।

सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले उपाध्यक्ष महरालाई  कारबाहीको सिफारिस गरेको थियो। त्यससँगै उनी पक्राउ परेका थिए।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।

अनुसन्धान अधिकृहरुसँग नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन्। उनले चिनियाँ नागरिकसँग फोनमा कुरा भएको तर सुन तस्करीमा संलग्न नरहेको पनि सीआईबीसँगको बयानमा बताएका छन्।

प्रकाशित: ९ चैत २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =