कृष्णबहादुर महरा पक्राउ

विनोद परियार ५ चैत २०८० ११:०६
54
SHARES
कृष्णबहादुर महरा पक्राउ फोटो : प्रकाश डुम्रे

लुम्बिनी- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। सुन तस्करी प्रकरणमा मुछिएका महरालाई  सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरिएको रूपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठाैरले जानकारी दिए।

सुन तस्करी प्रकरणमा उनका छोरा राहुल महरालाई यसअघि नै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। महरा बाबुछोराको सम्पर्क सीधै तस्कर दाओजिन वाङसँग पटकपटक भएको सीआईबीको अनुसन्धानमा देखिएको थियो।

राहुल इलेक्ट्रिक सिगरेट (भेप) मा राखेर ९ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ  गरेको थियो।

२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। ७३ बट्टामा ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो। सो प्रकरणमा कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको प्रहरीको दाबी  थियो। यद्यपि सीआईबीले उनीविरुद्ध मुद्दा नचलाई कागज गराएको छाडेको थियो।

सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले उपाध्यक्ष महरालाई  कारबाहीको सिफारिस गरेको थियो। त्यससँगै उनी पक्राउ परेका हुन्। गृहमन्त्री रवि लामिछानेले  आइतबार जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका थिए।

प्रहरी उपरीक्षक राठौरका अनुसार महरा कपिलवस्तुबाट रोल्पा जाने क्रममा पक्राउ परेका हुन्। उनलाई काठमाडौँतर्फ लगिएको छ।

प्रकाशित: ५ चैत २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =