सुन तस्करी प्रकरण : पूर्वसभामुख महराले दिए जाँचबुझ आयोगलाई बयान

हिमाल प्रेस २५ माघ २०८० १५:४३
8
SHARES
सुन तस्करी प्रकरण : पूर्वसभामुख महराले दिए जाँचबुझ आयोगलाई बयान

काठमाडौँ- पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगसमक्ष बयान दिएका छन्। सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले आज डेढ घण्टा बयान दिएका हुन्।

महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे आयोगले महरासँग सोधपुछ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले महराको बयान कागज गराएर उनलाई प्रतिवादी कायम नगरी अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरूसँग बताएका थिए।

चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सार्वजनिक रुपमा नै स्विकार्दै आएका छन्। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएका हुन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा २७ वर्षीय रेवन्त खड्का, कागेश्वरी मनहरा-९ का ३२ वर्षीय दिनेश बस्नेत, काठमाडौं भोटेबहाल बस्ने वेदप्रकाश अग्रवाल, भारतीय नागरिक ३९ वर्षीय साहेब राव पाण्डुरङ मरग, काठमाडौंको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की र पोखरा गैह्रीटापाटन बस्ने २२ वर्षीय निर्मलकुमार विक पक्राउ परेका छन्। यीमध्ये कार्कीबाहेक सबै पुपर्क्षका लागि थुनामा छन्। यही प्रकरणमा जोडिएका तीनजना भने फरार छन्।

जिल्ला अदालत काठमाडौँले इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

प्रकाशित: २५ माघ २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =