खोटाङका सीडीओविरुद्ध भ्रष्टाचार मुद्दा, परे निलम्बनमा

हिमाल प्रेस ७ साउन २०८० १९:३९
798
SHARES
खोटाङका सीडीओविरुद्ध भ्रष्टाचार मुद्दा, परे निलम्बनमा

काठमाडौँ– खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। तत्कालीन सिद्धिचरण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका उनलाई विद्युत लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेख अदालतमा मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन्।

निलम्बनमा परेका खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ गएका थिए।

खतिवडाले तत्कालीन सिद्धिचरण नगरपालिकामा कार्यरत रहँदा उक्त नगरपालिकाको वडा नम्बर १ मा विद्युतीकरणका लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर भएको छ।

अख्तियारका प्रवक्ता भोला दाहालले आर्थिक वर्ष २०७५/०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं. १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर भएको जानकारी दिए।

खतिवडा निलम्बनमा परेसँगै निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहायक प्रजिअ पवित्र प्रकाश शाहलाई दिइएको छ।

प्रकाशित: ७ साउन २०८० १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =