रोममा प्रचण्ड, साेमबारदेखि राष्ट्र संघीय कार्यक्रममा सहभागी हुने

हिमाल प्रेस ७ साउन २०८० १७:०४
6
SHARES
रोममा प्रचण्ड, साेमबारदेखि राष्ट्र संघीय कार्यक्रममा सहभागी हुने

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुगेका छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनकाे मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेसन्स फुड सिस्टमस्-२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आइतबार स्थानीय समयअनुसार बिहान साढे ७ बजे राेम पुगेका हुन्।

प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रममा सम्बोधन गर्ने छन्। कार्यक्रम साेमबारदेखि बुधबारसम्म हुने तालिका छ। प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीकाे परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने छन्। हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्युरोको अध्यक्षता ग्रहण गरेको छ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल शनिबार इटाली गएकाे थियाे। प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवं छोरी गंगा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मी सहभागी छन्।

त्यस्तै प्रधानमन्त्री दाहाल विद्यालय भोजनका बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन्। उनी मंगलबार खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा पनि सहभागी हुने कार्यक्रम छ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ। खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्वखाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

नेपालको खाद्य सुरक्षाका साथै नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगबारे छलफल हुने कार्यक्रम छ। त्यस्तै, रोममा गैरआवासीय नेपाली संघले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्ड यही साउन १२ गते (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ७ साउन २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =