मणिपुरको हिंसापीडित किशोरीको बिलाप : आँखा चिम्लिँदा बलात्कारीको अनुहार देख्छु

हिमाल प्रेस ७ साउन २०८० १७:३६
4
SHARES
मणिपुरको हिंसापीडित किशोरीको बिलाप : आँखा चिम्लिँदा बलात्कारीको अनुहार देख्छु मणिपुरमा जातीय हिंसा भड्किरहेका बेला महिलामाथि भएको यौनहिंसाको विरोध गरिँदै। तस्बिर: एएफपी

भारतको पूर्वी राज्य मणिपुरका दुई समुदाय मैतई र कुकीबीच साढे दुई महिनादेखि जातीय हिंसा चलिरहेको छ। केही दिनअघि डरलाग्दो एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि त्यहाँ भइरहेको हिंसात्मक घटनाबारे चासो बढेको छ। भिडियोमा मैतई समुदायको भीडले कुकी समुदायका दुई महिलालाई निर्वस्त्र बनाई लखेटिरहेका थिए।

यौनशोषणको त्यस्तै घटना चुराचांदपुरमा पनि भएको थियो। त्यहाँकी १८ वर्षीया कुकी किशोरीमाथि मैतई भीडले यौन दुर्व्यवहार गरेको थियो। पीडित किशोरीले भारतीय समाचार पोर्टल ‘द क्विन्ट’सँग कुराकानी गरेकी छन्।

पीडितलाई बेहोस हुँदा अत्याचारको सम्झना नभए पनि मेडिकल रिपोर्टले उनीमाथि आक्रमण र बलात्कार भएको पुष्टि भएको ‘क्विन्ट’ले लेखेको छ। प्रस्तुत छ, ‘द क्विन्ट’ मा प्रकाशित तिनै युवतीको पीडा-

मेरो एकजना साथी छ। जसले मुस्लिमसँग बिहे गरेको छ। ऊ हट्टा, चेकनमा बस्छ। मणिपुरमा हिंसा सुरु भएपछि म ऊसँग बस्न थालेँ। हिंसा चाँडै अन्त्य होला भन्ने मेरो अनुमान थियो। पछि घरबाट फोन आयो। परिवारका सदस्यले राज्यमा लामो समयसम्म हिंसा जारी रहन सक्ने बताए।

मे १६ मा घर फर्किनका लागि साथी खोज्न थालेँ। कुरा मे १५ को हो। साथीहरूले पठाएको पैसा झिक्न एटीएम गएकी थिएँ। बाटोमा हिँड्दै गर्दा मेरो छेउमा दुईवटा जिप आएर रोकिए। एउटा मेरो अगाडि रोकियो, अर्को पछाडि। एउटा सेतो र अर्को बैजनी रङको बोलेरो थियो।

उनीहरू पनि एटीएम जाँदै छन् होला भन्ने ठानेँ। मेरो आधार कार्ड मागियो। ‘छैन’ भनेँ। किनकि उनीहरू मैतई भएको थाहा पाइसकेकी थिएँ। मेरो बोलीबाट उनीहरूले म कुकी भएको थाहा पाए। उनीहरूले हातगोडा समातेर मलाई गाडीभित्र फ्याँके। अपहरण गरेर मैतई इलाकामा लगे। त्यहाँ अन्य पुरुष र महिलालाई बोलाइयो। महिलाले मात्र मलाई छुन पाउने निर्णय भयो। महिलाले ममाथि कुटपिट गर्न थाले।

आफ्ना समुदायका महिलालाई पनि यसरी कुटिएको भनी कराउँदै उनले मलाई पिटे। बेलुका ५ बजे मेरो अपहरण गरिएको थियो। भोलिपल्ट बिहानसम्म ममाथि कुटपिट भयो। मैतई महिलाले मलाई निर्घात कुटे। सडककिनारमा कुटपिट गरे प्रहरी आउन सक्ने र मलाई बचाउन सक्ने भनेर निर्जन ठाउँमा लगेर कुटपिट गरेका थिए।

त्यसपछि कालो टिसर्ट लगाएका केही मानिसलाई बोलाइयो। उनीहरूसँग हतियार थिए। सात-आठ जनाको समूहमा उनीहरू सेतो रङको बोलेरोमा आएका थिए। उनीहरूले मेरो आँखामा पट्टी बाँधे। अनि दुवै हात पनि बाँधे। गोली हानी हत्या गर्न तयार भए। त्यही बेला एक जनाले प्रहरी थाना नजिकै भएको र गोलीका आवाजले प्रहरी सतर्क हुन सक्ने बतायो। उसले अन्य ठाउँमा लग्ने प्रस्ताव राख्यो। त्यसपछि मलाई विष्णुपुरतिर लगियो।

उनीहरू लमका पुग्नुअघि मलाई मार्ने र मेरा मान्छेहरूले देख्ने गरी शवलाई फ्याँक्ने योजना बनाउँदै थिए। विष्णुपुरको पहाडको टुप्पोमा मलाई लगियो। हामीले नगारियान चिङ र हेनाङ पार गर्‍यौँ। मलाई पिट्दैपिट्दै त्यहाँ लगियो। मेरो कान र चिउँडोबाट रगत बग्न थाल्यो। उनीहरूमा मार्नुअघि ममाथि दुष्कर्म गर्ने कुविचार पलायो। विरोध गर्न खोज्दा मलाई झनै कुटे। त्यसपछि मैले बन्दुकमा गोली भरेको आवाज सुनेँ। मलाई तर्साउन उनीहरूले यताउता दुईपटक गोली पनि चलाए। बन्दुक मतिर तेर्स्याइयो। कसैले अगाडिबाट, कसैले पछाडिबाट, कसैले टाउकोमा बन्दुक तेर्स्याए।

उनीहरूले मेरो यौनशोषण गरे। बन्दुको तल्लो भागले मेरो आँखाछेउमा तीनपटक प्रहार गरे। म बेहोस भएँ। त्यसपछि के भयो मलाई थाहा छैन। पछि मेरो अनुहारमा पानी छम्किए। म होसमा आएँ।

पिसाब फेर्न जाने अनुमति मागेँ। त्यहाँ भएकामध्ये एकले मेरो बाँधेको हात खोल्यो। केही पाइला हिँड्नासाथ म चिप्लिएर विष्णुपुरको पहाडबाट तल गुल्टिएँ। जेनतेन मुख्य सडकमा पुगेँ। त्यहाँ एउटा अटोरिक्सा देखेँ।

सुरुमा त अटो रोक्न डराएँ। कतै मैतई त होइन भनेर। जीवन र मृत्युको प्रश्न भएकाले मन बलियो बनाएर अटो रोकेँ। ड्राइभर पंगाल मुस्लिम रहेछ। त्यो तरकारी ट्रान्सपोर्टर रहेछ। उसले मलाई तरकारीको बोराहरूको बीचमा लुकायो।

घाइते भएकाले म टाढा जान सक्दिनँ भनी अपहरणकारीले ठाने। मेरो पिछा गर्न थाले। ममाथि गोली चलाउन थाले। अटो ड्राइभरले मलाई जोगाउँदै विष्णुपुर पुलिस स्टेसनमा पुर्‍यायो। हामी थानाभित्र गयौँ। हाम्रो पछाडि आएको गाडीलाई प्रहरीले रोक्ने प्रयास गर्‍यो। तर उनीहरू भाग्न सफल भए।

म प्रहरी अधिकारीलाई भेट्न चाहन्थेँ। तर अटो ड्राइभरले ‘अधिकारी मैतई पनि हुन सक्ने’ भनेर मलाई मेरा मान्छे भएको ठाउँमा पुर्‍याइदिने आश्वासन दियो। हामी अटोमा फर्कियौँ। मलाई अटोमा चढ्ने ताकतसमेत थिएन। ड्राइभरले मलाई अटोमा उक्लिन सहयोग गर्‍यो। उसले मलाई न्यु चेकअनमा छोडिदियो। त्यहाँ ड्युटीमा भएका केही केटीले मेरो अवस्था हेर्ने आँट गर्न सकेनन्। दुई दिनसम्म असहाय त्यत्तिकै बसिरहेँ।

मे १८ मा कांगपोकपीबाट कसैको फोन आयो। त्यस मान्छेले मलाई चिकित्सकसम्म पुर्‍यायो। डाक्टरले मेरा आँखा, कान जाँच्यो र औषधि दियो। केही गम्भीर हुन सक्ने आशंका पनि प्रकट गर्‍यो।

चेकअपपछि म सापरमिना गाउँको एक राहत शिविरमा गएँ। केही नेता र पादरी मलाई भेट्न आए। मेरो कमजोर र दयनीय अवस्था उनीहरूले पनि हेर्न सकेनन्। मलाई सलाइन चढाइयो। हत्या गर्न घाँटी थिचेकाले पानी निल्दा पनि मलाई गाह्रो भइरहेको थियो। खाना निल्नु त परको कुरा भयो।

सलाइनको भरमा ओछ्यानको ओछ्यानमै थिएँ। मेरो अवस्था झन्झन् बिग्रिँदो थियो। कांगपोकपीमा सुरुमा पुरुष चिकित्सकले मेरो जाँच गरे। पछि नेताहरूको सहयोगले सापरमिनामा एक महिला चिकित्सककहाँ पुगेँ। मेडिकल जाँचमा ममाथि यौन दुर्व्यवहार भएको कुरा खुल्यो।

आँखा चिम्लिँदा मैले ती मान्छेका अनुहार सम्झिएँ, जसले ममाथि दुष्कर्म गरेका थिए। एकपटकमात्र देखे पनि ती बलात्कारीलाई जीवनभरि बिर्सिने छैन। प्रहरीमा उजुरी दिए मलाई मार्ने धम्कीसमेत उनीहरूले दिएका छन्। त्यसैले अहिलेसम्म प्रहरीसम्म पुग्ने आँट गर्न सकेकी छैन।

घटनाले मलाई झस्काइरहन्छ। मेरो अवस्था निकै नाजुक छ। त्यसैले मेरो परिवार मलाई एक्लै छोड्दैन। परिवारका मान्छे मेरा वरिपरि नै रहन्छन्। सपनामा आफूमाथि कुटपिट र शोषण भएको दृश्य देखिराख्छु। निदाउन सक्दिनँ। डर लाग्छ। इम्फाल फर्किने योजना पनि छैन। मेरो थुप्रै मैतई मित्र थिए। अब त तिनीहरूसँग पनि डर लाग्न थालेको छ।

प्रकाशित: ७ साउन २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =