लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान

उजुरीको बढ्दो ग्राफ : महिला सचेत भएर कि हिंसा बढेर?

सुस्मिता बजगाईं २० मंसिर २०७९ ११:००
224
SHARES
उजुरीको बढ्दो ग्राफ : महिला सचेत भएर कि हिंसा बढेर?

काठमाडौँ- अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान  विश्वव्यापी रूपमा चलिरहेको छ। नेपालमा पनि विगत ७ वर्षदेखि यो अभियान सञ्चालन गरिँदै आइएको छ।

महिलाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्न अभियान निरन्तर सञ्चालन गरिए पनि हिंसात्मक घटनामा भने कमी आउन सकेको छैन। बरु झन्झन् बढिरहेको तथ्यांक सार्वजनिक भइरहेको छ।

बर्सेनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान सञ्चालन हुँदै आएको छ। यस वर्ष पनि ‘एकजुट हुनुहोस्, महिला र केटीहरूविरुद्ध हुने हिंसा अन्त्य गर्न’ भन्ने नाराका साथ अभियान सञ्चालन भइरहेको छ। यो अभियान नेपालमा सन् २०१५ देखि सुरु भएको हो।

त्यसपछिका वर्षमा पनि महिलाविरुद्ध हुने हिंसाको तथ्यांक बढिरहेको छ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा लंैगिक हिंसाबाट पीडितको उजुरी संख्या २१ हजार ५ सय ६८ थियो। यस्तै २०७७/०७८ मा १९ हजार १३ उजुरी परेका थिए।

त्यसअघिका ३ वर्ष अर्थात् २०७४ देखि २०७७ सम्म ५० हजार ७९ वटा हिंसाका घटना दर्ता भएकामा ३८ हजारभन्दा बढी महिलासँग सम्बन्धित थिए। यी त उजुरी भएका विवरण मात्रै हुन्। कतिपय घटना प्रहरीसम्म नपुग्ने सरोकारवालाहरू बताउँछन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राई लैंगिक हिंसासम्बन्धी फौजदारी प्रकृतिका विवाद गाउँ/नगरस्तरको न्यायिक समितिको छलफलमा जाने भएकाले तथ्यांकमा सबै घटना नसमेटिएको बताउँछन्।

लैंगिक हिंसाको उजुरी दर्ता बढ्नुको प्रमुख कारण व्यक्तिमा हिंसा सहनु हुन्न भन्ने चेतनाको विकास भएको उनको भनाइ छ। ‘सचेत महिलाहरू आफैँ उजुरी गर्न आउँछन्,’ उनी भन्छन्, ‘सरकारी तथा गैरसरकारी संस्थाहरूबाट थुप्रै सचेतनाका कार्यक्रम भएकाले न्यायमा पहुँच भएका व्यक्ति तथा संस्थाले हिंसा पीडितबारे उजुरी दर्ता गरिदिने क्रम बढेको छ।’

सामाजिक तथा सांस्कृतिक परम्पराको विकास, सहरीकरण, व्यक्तिगत ज्ञानमा भएको वृद्धिका कारणले पनि हिंसाविरुद्ध उजुरी गर्नेहरूको संख्या बढेको उनी बताउँछन्।

लैंगिक हिंसा अन्त्य गर्न थुप्रै संघसंस्था लागिपरेका छन्। तर पनि हिंसाको घटनामा भने कमी आएको छैन । अधिकारकर्मीहरू भने सचेतना बढ्न थालेको र हिंसा पनि बिस्तारै घट्दै जानेमा विश्वस्त छन्।

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्यसमेत रहेकी मानव अधिकारकर्मी मोहना अन्सारी लैंगिक हिंसा सहेर बस्नेहरू न्यायका लागि विभिन्न माध्यमबाट बाहिर आउन थालेकाले पनि उजुरी गर्नेको संख्या बढेको बताउँछिन्।

‘सामाजिक सञ्जालको विकास र समाज आधुनिकीकरणतर्फ ढल्किँदै गर्दा शिक्षित महिलाले गाउँ समाजमा लैंगिक हिंसाविरुद्ध विभिन्न कार्यक्रम चलाउन थालेका छन्,’ उनी भन्छिन्, ‘सरकारले पनि हिंसापीडितका लागि उजुरी गर्ने ऐन निर्माण गर्‍यो। त्यसले पनि महिलाविरुद्ध हुने हिंसाका उजुरीको संख्या बढाउनमा मद्दत गरेको छ।’

हिंसा केकस्ता विषयमा भइरहेको छ भन्ने कारण पत्ता लगाएर विभिन्न अभियान र सचेतनामूलक कार्यक्रम भइरहँदा पीडित बाहिर आएको उनको भनाइ छ।

‘१६ दिने अभियानको सकारात्मक परिणाम हो यो,’ उनी भन्छिन्, ‘पहिले पीडित हिंसा के हो भन्ने थाहा नपाएर घरभित्रै सहेर बस्थे। त्यसैले उजुरी पनि कम आउँथ्यो तर अहिले त्यस्तो अवस्था छैन।’

हिंसापीडितको उजुरी गर्ने प्रणालीमा परिवर्तन आएसँगै कानुनी प्रक्रिया पीडकलाई सजाय दिन अघि बढेको अन्सारी बताउँछिन्। ‘पीडितले कानुनबारे बुझ्न थाले,’ उनी भन्छिन्, ‘हिंसा किन सहने भनेर उनीहरू कानुनी प्रक्रियामा आएका हुन्।’

पीडक पनि हिंसा गरेमा कानुनबमोजिम दण्ड हुने डरले सचेत हुन थालेको उनको भनाइ छ।

जबसम्म पीडित महिलालाई प्रहरीमा उजुरी गर्न जान सहज हुँदैन, तबसम्म अभियान निरन्तर हुनुपर्नेमा उनको जोड छ। भन्छिन्, ‘राज्य पक्ष कत्तिको महिलामैत्री भएका छन् भन्नेमा अध्ययन हुनु जरुरी छ।’

महिला विकास समन्वय शाखाकी उपसचिव सीता अधिकारी घरेलु हिंसा र लंैगिक हिंसाविरुद्ध १६ दिने अभियान चलाइएको बताउँछिन्। ‘३६५ दिन नै मानव अधिकारबाट वञ्चित व्यक्तिका पक्षमा वकालत गर्दै आएका छौँ,’ उनी भन्छिन्।

नोभेम्बर २५ मा संयुक्त राष्ट्र संघका प्रमुख एन्टोनिया गुटेरेसले हरेक ११ मिनेटमा एउटा महिलाको हत्या उनको नजिकको साथी वा आफन्तबाट हुने बताएका थिए।

त्यस्तै विश्वभर गरिएका विभिन्न अध्ययनअनुसार अहिले पनि प्रत्येक चार महिलामा एक जना हिंसाबाट पीडित हुन्छिन्। यूएन वुमनका अनुसार हरेक तीनमा एक महिला लैंगिक हिंसाको सिकार बन्ने गर्छिन्।

पछिल्लो समय हिंसापीडितका लागि सामाजिक सञ्जाल आफ्नो समस्या भन्ने महत्त्वपूर्ण थलो बनेको छ। ‘हिजोआज महिला सचेत भएका छन्,’ उपसचिव अधिकारी भन्छिन्, ‘हिंसा सहनुहुन्न, न्याय पाउनुपर्छ र अपराधीलाई कानुनी कठघरामा ल्याउनुपर्छ भनेर बुझ्न थालेका छन्। लामो समयदेखि गुम्सिएका, लैंगिक हिंसा सहेर बसेको महिलाहरूले सामाजिक सञ्जाललाई आफ्नो समस्या भन्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।’

‘हिंसा गर्नुहुन्न र हिंसा सहनुहुन्न’ भन्ने नबुझेकाका लागि १६ दिने अभियान अझै आवश्यक रहेको उनको बुझाइ छ। ‘मानिसमा चेतना नभएर नै लैंगिक हिंसा हुने हो,’ उनी भन्छिन्, ‘त्यस्ता मान्छेका लागि नै १६ दिने अभियान आवश्यक छ।’

हिंसाको अन्त्यका लागि महिला र पुरुष सबैलाई कानुनी ज्ञान हुन जरुरी रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘कानुनमा उल्लेख गरेअनुसार अपराध र सजायका प्रावधानबारे प्रचारप्रसार गर्दा व्यक्तिलाई हिंसा गर्नुहुन्न भनेर सचेतना आउँछ। अभियानले हिंसाप्रति मानिसको चेतनालाई बढाएको छ। महिला अधिकारप्रति सचेत बनाएको छ।’

समाज शिक्षित हुँदै गए पनि मानिसमा चेतना स्तरको कमीले गर्दा अहिलेसम्म महिलाविरुद्ध हुने हिंसा घट्न नसकेको उनको भनाइ छ। ‘प्रचारप्रसार र सचेतनामूलक कार्यक्रम तथा अभियान सबै स्थानमा गर्दा व्यक्तिमा हिंसा गर्नुहुन्न भन्ने धारणाको विकास हुन्छ,’ उनी भन्छिन्।

नेपालमा १६ दिने अभियान

लैंगिक हिंसा अन्त्य गर्ने उद्देश्यले नेपालमा सन् २०१५ देखि १६ दिने अभियान सुरु भएको हो। त्यसयता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा हरेक वर्ष सो अभियान मनाउने गरिन्छ।

महिला पुनःस्थापना केन्द्र (ओरेक)की तालिम संयोजक लक्ष्मी अर्याल अभियान सामाजिक सचेतनासहित प्रत्येक वर्ष सबै स्थानीय तह, गाउँ/नगरपालिका, प्रदेश तथा संघमा सञ्चालन गर्ने गरिएको बताउँछिन्।

‘सरकारी तथा गैरसरकारी निकायलगायत सबै संघसंस्था एकजुट भएर सामूहिक रूपमा हिंसा अन्त्य गर्ने अभियानमा लागेका छन्,’ उनी भन्छिन्।

नेपालमा १६ दिने अभियान धेरै हदसम्म सफल भएको अर्यालको अनुमान छ। ‘अभियानकै कारण हिंसाविरुद्ध उजुरी गर्ने, अपराधीलाई सजाय दिने, वैवाहिक बलात्कारविरुद्ध कानुन निर्माणजस्ता कार्य सफल भएका छन्,’ उनी भन्छिन्, ‘तर कानुन कार्यान्वयनको पक्ष फितलो भएकाले हिंसापीडितले न्याय पाउन सकेका छैनन्।’

प्रहरी प्रवक्ता डीआईजी राई भने शिक्षाले मात्र लैंगिक हिंसा नघटाउने बताउँछन्। उनी भन्छन्, ‘शिक्षाले यौनलाई प्राकृतिक विषयका रूपमा लिन्छ। शिक्षा र प्रकृतिका बीचमा नैतिक शिक्षालाई कति मान्ने नमान्ने भन्नेले यौन अपराध बढाएको छ।’

शिक्षालाई नैतिकतासँग जोड्ने, सामाजिक सञ्जालको सदुपयोग, महिला र पुरुष हिंसाविरुद्धको कानुनबारे जानकार भएमा धेरै हदसम्म लैंगिक हिंसा न्यूनीकरण गर्न सकिने प्रवक्ता राईको बुझाइ छ।

 विश्वमा १६ दिने अभियान

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन रिपब्लिकको तत्कालीन तानाशाही सरकारविरुद्धमा सडक आन्दोलन गर्ने मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाकोे हत्या भएको थियो। त्यहाँका तानाशाह राफेल ट्युहियोले ती तीन महिला अधिकारकर्मीलाई हत्या गर्न निर्देशन दिएका थिए। उनको निर्देशनअनुसार तीन दिदीबहिनीको हत्या भएको थियो।

ती दिदीबहिनीको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिई ल्याटिन अमेरिकाका महिलाले उनीहरू मारिएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी अभियानको सुरुवात गरे।

सन् १९९१ मा क्यानडाका युवाले सेतो रिबन बाँधेर यो दिवसलाई ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिनँ र देखेमा प्रतिकार गर्छु’ भनी ‘सेतो रिबन अभियान’ सञ्चालन गरे। त्यतिबेलादेखि सेतो रिबनलाई लैंगिक हिंसाविरुद्ध प्रतिबद्धताको प्रतीकका रूपमा प्रयोग गर्न थालिएको हो।

सन् १९९९ मा संयुक्त राष्ट्र संघको महासभाले नोभेम्बर २५ मा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर नै मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष संसारभरि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन गरिन्छ।

नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ। यी दुई दिवस बीचको समयलाई विश्वभर नै १६ दिने लैंगिक हिंसाविरुद्ध अभियानको रूपमा मनाउन थालिएको तीन दशकभन्दा बढी भइसकेको छ।

प्रकाशित: २० मंसिर २०७९ ११:००

प्रतिक्रिया

One thought on “उजुरीको बढ्दो ग्राफ : महिला सचेत भएर कि हिंसा बढेर?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 20 =