पुष्पलाल स्मृति दिवस

पुष्पलाल : बेमेलले पद जाँदा पनि सहज स्वीकार

हिमाल प्रेस ७ साउन २०८० ७:०५
12
SHARES
पुष्पलाल : बेमेलले पद जाँदा पनि सहज स्वीकार

काठमाडौँ- पुष्पलाल श्रेष्ठ कम्युनिस्ट पार्टीका संस्थापक महासचिव हुन्। तत्कालीन कम्युनिस्टमा महासचिव सबैभन्दा शक्तिशाली पद थियो। उनीबाहेक मनमोहन अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र तुलसीलाल अमात्य पोलिटब्युरो सदस्य थिए। केन्द्रीय कमिटीमा बेमेल भयो। पोलिटब्युरो बैठकमा पुष्पलाल हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाउने प्रस्ताव आयो। त्यसबेला पार्टीको नाम थियो, नेकपा। पोलिट्ब्युरोमा एक्लो परेका पुष्पलालले पद छाडिदिए। त्यसपछि महासचिव बने मनमोहन अधिकारी। कम्युनिस्ट पार्टीमा गुटको बीजारोपण त्यही बेलाबाट सुरु भयो।

कांग्रेसबाट कम्युनिस्ट बनेका पुष्पलाल

वि.सं २००६ मा नेकपा गठन गर्नुअघि पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसमा थिए। कांग्रेसमा रहँदा उनी बनारसमा रहेको पार्टीको केन्द्रीय कार्यालय सचिवसम्म भए। तर कांग्रेसको नीति र नेताहरुको झगडालु व्यवहारबाट दिक्क भएपछि पुष्पलालले कांग्रेस त्यागे। केही समयपछि उनले २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा नेकपाको स्थापना गरे।

पुष्पलालले नेकपा स्थापना गर्दा मनमोहन अधिकारी जेलमा थिए। पुष्पलालले नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठलाई संस्थापक बनाएर नेकपा स्थापना गरेका थिए।

स्थापनाको ६ महिना बित्दानबित्दै थप नेताहरुलाई समावेश गरेर नेकपा केन्द्रीय कमिटी विस्तार भयो। विस्तार गरिँदा पाँच संस्थापकमध्ये पुष्पलाल मात्र केन्द्रीय कमिटीमा परे।

पुष्पलालले संस्थापक केन्द्रीय सदस्य बनाएका बाँकी चार जना नेताहरु कर्माचार्य, वैद्य, जोशी र श्रेष्ठ नयाँ केन्द्रीय कमिटीमा समेटिएनन्। नयाँ केन्द्रीय कमिटीको ३० भदौ २००६ मा कलकत्तामा भएको बैठकले पुष्पलाललाई नेकपाको महासचिव चयन ग¥यो। यही निर्णयका कारण पुष्पलालको नाम नेकपाका ‘संस्थापक महासचिव’ को रुपमा दर्ज भयो।

पुष्पलाल र मनमोहनको एउटै ससुराली

पुष्पलाल-मनमोहनबीच पारिवारिक सम्बन्ध थियो। उनी १९९७ का सहिद गंगालाल श्रेष्ठका भाइ थिए। गंगालालको सहादतपछि दाजुको सपना पूरा गर्न भाइ पुष्पलाल राजनीतिमा होमिएका थिए।

सहिद गंगालालका भाइ र नेकपाका संस्थापक महासचिव भएकाले पुष्पलाल काठमाडौँका चर्चित युवामध्येमा पर्दथे। २००४ वैशाखमा राणा शासनविरुद्ध विद्यार्थीका तर्फबाट काठमाडौँमा पहिलो प्रदर्शनको नेतृत्व गरेकाले साधना प्रधान र सहाना प्रधान पनि उत्तिकै चर्चित थिए। स्थापना पछि साधना-सहाना दुवै नेकपामा आबद्ध भए।

दुई वर्षपछि २००९ मा पुष्पलालले फेरि बिहेको प्रस्ताव गरे। यसपटक सहानाले स्वीकारिन्। उमेरका हिसाबले पुष्पलालभन्दा मनमोहन तीन वर्ष जेठा थिए। उनको सहानाकी दिदी साधनासँग प्रेम सम्बन्ध थियो। ब्राह्मण समुदायका मनमोहनसँग बिहेका लागि भने प्रधान परिवारले स्वीकृति दिएको थियो।

मनमोहनको चाहनाअनुसार र पार्टीको स्वीकृतिमा २ माघ २०१० मा पकनाजोलमा नेकपाका कार्यकर्ता तीर्थप्रसाद ढुङ्गानाको घरमा पुष्पलाल-सहानाबीच बिहे भएको थियो।
६ महिनापछि २०११ असारमा मनमोहन-साधनाबीच पनि बिहे भयो। बिहे काठमाडौँको म्हैपी मन्दिरमा भएको थियो।

पिता भक्तलाल श्रेष्ठ र माता तुल्सीमाया श्रेष्ठको माइलो छोराका रूपमा १९८१ असार १५ गते रामेछापको भँगेरी भन्ने स्थानमा पुष्पलालको जन्म भएको थियो। पाटन हाइस्कुलबाट प्रवेशिका उत्तीर्ण गरेपछि उनी पूर्ण रूपमा राजनीतिमा होमिएका थिए।

१९९७ सालमा दाजु गंगालाल सहिद भएपछि उनी आन्दोलित भएका थिए। त्यसपछि पुष्पलाल १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज, रामराजालगायत आबद्ध नेपाली प्रजातान्त्रिक संघमा आबद्ध भए। उनी २००४ सालमा राष्ट्रिय कांग्रेसले आह्वान गरेको आन्दोलनमा पनि सहभागी थिए।

पुष्पलालले २००६ साल वैशाख १० गते (२२ अप्रिल, १९४९) मा भारतको कलकत्ता श्यामबजार एक बंगालीको घरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे। पार्टी संस्थापकमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ थिए।

२०१० सालको पहिलो महाधिवेशनमा पुष्पलाल अल्पमतमा परे। २०१५ सालको आमनिर्वाचनमा नेकपाले ४ सिट जितेको थियो। २०१७ सालपछि तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती व्यवस्था लागू गरेपछि फेरि नेकपालाई पञ्च र राजाले प्रतिबन्ध लगाए।

केशरजंग रायमाझी समूहले पञ्चायती व्यवस्थाको समर्थन गरेपछि नेकपा फुट्यो र विभाजन भयो। त्यतिबेला देखि फुट्न थालेको नेकपा अहिलेसम्म आइपुग्दा धेरै पटक जुटेको छ र धेरैपटक एकजुट भएको छ। पुष्पलालको निधन
२०३५ साउन ७ गते दिल्लीको भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + fifteen =