नियात्रा

सांस्कृतिक सम्पन्नतामा एक्लिएको एउटा सहर

राजाराम बर्तौला ६ साउन २०८० १८:५८
56
SHARES
सांस्कृतिक सम्पन्नतामा एक्लिएको एउटा सहर

बाहिरबाट हेर्दा दोभान देखिन्छ तर भनिन्छ त्रिवेणी। यो पनि एउटा पहेलीकै कुरा भयो र मनमनै प्रश्न गरियो यो भयो कसरी? दुई खोला मिसिएको ठाउँलाई दोभान र तीन खोला मिसिएको ठाउँलाई त्रिवेणी भनिन्छ। तर यही एउटा यस्तो ठाउँ हो जुन दुइटा खोला मिसिएर पनि त्रिवेणीधामले प्रसिद्ध छ।

यो हो पनौती सहरको कथा। एउटा प्राचीन सहरको कथा जहाँ देवाधिदेव महादेव र पार्वती क्रीडा गर्दछन्। भक्तको उद्धार गर्न आइपुग्छन्। देवता पनि सौन्दर्यको आकर्षणबाट लोभिएर आफ्नो स्वधर्मबाट च्यूत भई पापकर्म गर्न प्रेरित हुने रहेछन् भन्ने यहाँको कथाबाट देखियो । स्वर्गका राजा इन्द्र जो चारैतिर अप्सराहरूले घेरिएर बस्दा पनि अहिल्याको सुन्दरताबाट लुब्ध भएर पापकर्म गर्न पुगेछन्। अहिल्याका पतिले रंगेहात समाउँदा पापकर्ममा लिप्त अहिल्या र इन्द्रले गौतम ऋषिबाट श्राप पाएछन्। अहिल्या पत्थर भएर बस्ने भइन् । त्रेतायुगमा रामले पादस्पर्श गरेपछि मात्र पापमुक्त हुने भइन्।

इन्द्र भने शरीरभरि लिंग र योनी बोकेर बस्नुपर्ने भएछ । श्रापित शरीर लिएर कहाँ जाने भन्ने इन्द्रलाई परेको समस्यामा कसैले भनिदियो कि, यो श्रापबाट मुक्ति पाउन पाञ्चाल जाऊ। पाञ्चाल त्यो ठाउँ हो जुन पुण्यवती र लीलावतीको दोभानमा छ। लज्जा शरणम्! लुकेर बाह्र हजार वर्षसम्म भगवान शंकरको ध्यान गर्दा महादेव प्रसन्न भई श्रापबाट मुक्त गरेको हुँदा इन्द्र मुक्तेश्वर भइरहे भन्ने किंवदन्ती छ। यो ठाउँको परिचयका रूपमा यही कथा भन्ने गरिन्छ।

त्रिवेणीधामको समिपमा विशाल इन्द्रमुक्तेश्वर महादेवको मन्दिर छ। काष्ठकला र वास्तुकलाको बेजोड नमुना मन्दिर दर्शन गर्न लायकको छ। लुकेर अन्तध्र्यान गरेको हुँदा उक्त स्थान एउटा नदी गुप्त रुपमा बगेको छ भन्ने विश्वास गरिन्छ। फूलचोकीबाट आएकी रोशी जसलाई लीलावती पनि भनिन्छ, उत्तर पहाडबाट आएकी पुण्यवती र गुप्तरुपमा बहने रुद्रवती गरेर तीन नदिको संगम भएर त्रिवेणीधाम भएको हो।

लिच्छविकालदेखि नै एउटा महत्त्वपूर्ण नगरका रूपमा रहेको यसलाई त्यस समय द्रंग भनिन्थ्यो। द्रंग भनेपछि एउटा ठूलो बस्ती। पछि भक्तपुरका राजा भूपतिन्द्र मल्लले आफ्नी बहिनीलाई दाइजोका रुपमा दिएको सहर भन्ने गरिन्छ। लिखितम्मा पाइएको यसको ऐतिहासिकतामा भने यो सहर आनन्द मल्लले सन् १२७४ तिर बसालेको भन्ने देखिन्छ।

राजा हरिसिंहदेवले यो सहर बसालेको हो भन्ने पनि धेरै छन्। सिमरौनगढमा करनाट वंशका राजाहरूको शासन सन् १३२४ मा तुगलक वंशका शासकका गयासुद्धिनको आक्रमणबाट विस्थापित भएपछि भागेर यही पनौतीको बाटो हुँदै भक्तपुरमा आएर मल्ल वंशको स्थापना गरे भन्ने इतिहासका पानाहरूमा लेखिएको पाइन्छ। यो भनाइ ऐतिहासिक विरासतको नजिक पनि देखिन्छ।

पुण्यवतीबाट अपभ्रंस भएर यो सहरको नाम पनौती रहन गएको हो भन्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो प्राचीन सहर जुन काठमाडौँ, पाटन र भक्तपुर जत्तिकै पुरानो हो र आफ्नो कला, वैभव र समृद्धिले सम्पन्न छ। त्यो ठाउँ काठमाडाैँबाट ३२ किलोमिटरको दुरीमा भएर पनि विस्मृतिमा परेको जस्तो र एकान्तमा एक्लिएको जस्तो देखिन्छ।

काठमाडौँ, पाटन र भक्तपुर सहरमा पर्यटकले खचाखच भरिँदा पनि उत्तिकै सौन्दर्य, उत्तिकै अझ भनौँ भने वास्तुकलामा एक कदम अगाडि, सांस्कृतिक सम्पन्नता भएर पनि कताकता हराएको जस्तो देखिन्छ पनौती। काठमाडौँ उपत्यका पछिको अत्यत्न कलाकारिताले सम्पन्न, सांस्कृतिक धरोहरले परिपूर्ण यो सहरमा हिन्दु तथा बौद्ध धर्मका मध्यकालीन समयदेखिका महत्त्वपूर्ण धरोहर रहेका छन्। प्राकृतिक रमणीयताको त कुरै भएन ‘सुनमा सुगन्ध’ भनेको जस्तो हरिया फाँट, तरेली परेका धानका गह्राहरू र झुरुप्प परेका मानव बस्तीले यसको सुन्दरतामा थप प्रकाश थपेको देखिन्छ।

यो यात्रानुभूतिको सानो टिपोटमा इतिहासको कुरा पृष्ठभूमिमा जोडिएर आएको मात्र हो। भ्रमणको उद्देश्य खासमा पर्यटकीय मात्र हो– ठाउँ हेर्नु, रमाउनु र त्यसबाट अनुभूतिजन्य सन्तोष प्राप्त गर्नु। ज्ञानगुनका कुरा थाहा पाउन सके यात्राको महत्तामा थप उपलब्धि हुने भएको हुँदा इतिहासको कुरालाई केलाउन परेको हो।

कैयौँ पटक बनेपा हुँदै धुलिखेल र अझै कटेर पाँचखाल र त्यसभन्दा पनि पर गइयो। तर यही सामान्य दूरीमा रहेको पनौती घुमेर हेरौँ न भन्ने र त्यसका लागि समय निकाल्ने जाँगर वा प्रेरणा मिलेको थिएन। चार मूर्ख, स्कुले मित्रहरूको जोडबलमा पनौतीको सेरोफेरोमा रमाउने गरी कार्यक्रम बन्यो। खर्च पनि कम लाग्ने, दिनभरीको यात्रा पनि हुने र सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यपानसँगै हाइकिङ पनि हुने देखेर हामीले यो कार्यक्रम बनाएका थियौँ।

यो भ्रमण यति लाभप्रद, सुरुचिपूर्ण, स्वादिष्ट, रोमाञ्चित होला भनेर सोचेका थिएनौँ। केही मन्दिर र सहर हेरेर आइएला भन्ने सोचेका थियौँ। तर वास्तविकतामा पनौती एक दिनको भ्रमणका लागि चाहिने सबै तत्त्व समावेश एउटा पूर्ण प्याकेज रहेछ। यहाँ प्राकृतिक आस्वादन पाइन्छ। सांस्कृतिक सामीप्य र ऐतिहासिक विरासत पाइन्छ। हिँड्न चाहनेका लागि स्वाभाविक मध्यमस्तरको ट्रेल पाइन्छ। सहर र गाउँको सम्मिश्रण पाइन्छ।

जडीबुटीबाट सार्वजनिक बसमा चढेर गएका थियौँ। पनौती बसपार्कमा ओर्लिएर गोरखनाथको दर्शन गर्न पूर्वतर्फको डाँडो उक्लियौँ। सिमेन्टेड सिँढी र फलामे बार लगाएर बाटो सजिलो बनाइएको छ। गोरखनाथ पुग्नुअघि आकाश विनायकको विशाल कलात्मक खुला मन्दिरको निर्माण गरिएको छ।

हामी आकाश विनायक र गोरखनाथको दर्शन गरेर अझै अगाडि गयौँ दलिनचोक। यहाँ थापा र खड्का क्षेत्रीहरूको बस्ती रहेछ। बस्तीको पुराना नेपाली वास्तुकलाका घरहरू देख्न सकिन्छ। घरको दैलो अगाडि दुई कुनामा फलैँचायुक्त घर देखिन्छ। आगन्तुक पाहुनाहरूसँग भलाकुसारी गर्न र पाहुनालाई सुत्न दिन यस किसिमको व्यवस्था गरिएको हुन्थ्यो परम्परागत पहाडी घरमा। यस्तो दृश्य देख्न पनि विरैलै पाइने अवस्था छ अहिले। गाउँका घर पनि आधुनिक वास्तुकलाले ओगट्न थालेकाले परम्परागत शैलीका घर हराउँदै गएका छन्।

यो गाउँको भ्रमणपछि त्रिवेणीधाममा आएर ब्रह्मायणी लगायत इन्द्रेश्वर मन्दिरको अवलोकन भ्रमण गर्‍यौँ। ब्रह्मायणी मन्दिरमा पुग्दा जे देखियो त्यसले हाम्रो अकर्मण्यताको पोल खोल्यो। यी मन्दिरहरूले आफ्नो संरक्षण गरिदिन याचनामा बोलिरहेको देखियो। पुर्खाले छोडेर गएका यी अमूल्य धरोहर उचित संरक्षणको अभावमा नासिँदै गएको अवस्था विरक्तलाग्दो छ । ब्रह्मायणी मन्दिरको छानोमा घाँस उम्रिएर टायल खस्ने अवस्थामा छ। प्रांगणमा झार बढेर ढाक्दैछ। हामी पुग्दा एकजना युवक प्रांगण सफा गर्दै थिए र हामीसँग गुनासो पोख्दै थिए।

पनौतीको पुरानो बस्तीको भित्री गल्ली हिँड्दा अनौठो आनन्द लाग्दछ। भित्री गल्ली सफा छन् र पैदल यात्राका लागि उपयुक्त। नेवार बस्ती भएको हुँदा नेवारी संस्कतिको पदचाप र अवशेष देखिन्छन्। फल्चालाई संरक्षित गरेर राखिएका छन्। साँझ कामबाट थाकेर फर्किएका मानिस जमघट गरेर एकआपसमा अनुभव, समाचार, व्यथा, कष्ट, अनुभव, दुःख र सुख साट्ने ठाउँ हो फल्चा। यही ठाउँमा भगवान्का नाममा भजनकीर्तन पनि गरिन्छ। पुरानो कलात्मक घरको बीचमा फल्चा छन्। बाटोमा तेलिया इँटा बिच्छ्याइएको छ। यो गल्लीमा हिँड्दै गर्दा बन्दीपुरको झल्को आउने रहेछ। उस्तै उस्तै छ बस्ती, बाटो र घरका वास्तुशैली पनि।

हिँड्दै गर्दा मध्यकालीन चारैतिर पर्खालले घेरेर संरक्षित अवस्थामा राखेको राजदरबारको अवशेष फेला पर्दछ। यो दरबार पनौतीको ऐतिहासिकताको साक्षी हो। पुरानो बस्ती घुमेर सकिएपछि हामी मुक्तिनाथको दर्शन गर्न गयौँ। बनेपाबाट पनौती जाँदा पनौती बजार पुग्नुभन्दा दुई किलोमिटर अगाडि बाटोको छेउमा नै १०८ धारासहित मुक्तिनाथ मन्दिरको निर्माण गरिएको छ। केही तल खोल्चापारि प्रहरी तालिम केन्द्रका लागि विशाल संरचना निर्माण हुँदै गरेको देखिन्छ।

मुक्तिनाथ भ्रमण गरिसकेपछि अर्को मोक्षधाम, जुन हालै समाचारमा आएको थियो, जाने निश्चय गर्‍यौँ। यो मोक्षधामलाई आदित्य मोक्षधाम भनिन्छ। यो कुशादेवीमा पर्दछ। कुशादेवी पनौतीबाट पाँच किलोमिटर पश्चिममा सानो उपत्यकाभित्र पर्दछ। कुशादेवीको चालिसे भन्ने ठाउँबाट दुई किलोमिटर दक्षिण उकालो लागेपछि डाँडामा अवस्थित निर्माणधिन मोक्षधाम पुगिन्छ। सवारीसाधनबाट जान पनि सकिन्छ। पनौतीदेखि कुशादेवी र मानेभञ्ज्याङसम्म नै सडक पिच गरिएको छ।

हामी हिँड्न भनेर निक्लिएका हुँदा हिँडेर नै कुशादेवी पुग्यौँ। समयले दिए माने भञ्ज्याङ हुँदै फर्कने विचार गरेका थियौँ। कुशादेवीबाट ललितपुर २४ किलोमिटर पर्ने भएको हुँदा फर्कने आँट गर्न सकेनौँ। कुशादेवीमा पुग्दा थकित भएका हामीलाई राधेराधे डेरी फर्मका केसी भाइले लस्सीले राम्रो स्वागत गरे। शुद्ध दहीमा बनेको लस्सीको स्वादबाट तृप्त भएपछि हामी आदित्य मोक्षधामतर्फ लाग्यौँ।

आदित्य मोक्षधाम ५०० करोड रुपैयाँ लागतमा बन्दै गरेको विशाल आयोजना रहेछ। हालै राष्ट्रपतिबाट उद्घाटन भएको, प्रधानमन्त्री प्रचण्ड र विपक्षीदलका नेतासमेतको उपस्थिति रहेको यो मोक्षधाममा गएपछि मोक्ष प्राप्त होला भन्ने अलिकति लोभ लाग्यो। निर्माण द्रूत गतिमा हुँदैछ र निर्माण सम्पन्न भएपछि यसको भव्यता देखिनेछ। ‘५०० करोडको मन्दिर’ सहयात्री साथीले प्रश्न तेर्स्यायो। ‘मुक्ति र मोक्षको मार्ग कठिन छ साथी’, मैले भनेँ। त्यसमाथि गरिबका मसिहा भन्ने समाजवादी सरकारका प्रमुख र प्रतिपक्षी भएको देशमा गरिवको आवासभन्दा भगवान् बस्ने मन्दिर बनाइनु युक्तिसंगत हो र यसले हाम्रो समृद्धितर्फको यात्रा कति प्रबल छ भन्ने देखाउँछ, उसले थप जोड दिएर भन्यो। उसले अर्थात् महेन्द्रले। विष्णु दाइ त झन सेवानिबृत्त समाजवादी नै भए, उनले धाप लगाए। नारायणले मुन्टो हल्लायो।

हामी चारै भाइ, अर्थात् चार पटमूर्ख, ओरालो लाग्यौँ र आगामी यात्राको योजना बुन्न थाल्यौँ। बाटोमा फर्सीका मुन्टा किनेर आआफ्नो घरतर्फ लाग्यौँ।

  

 

प्रकाशित: ६ साउन २०८० १८:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =