भुक्तानी र म्याद थप गर्न सरकारमाथि निर्माण व्यवसायीको दबाब

हिमाल प्रेस ५ साउन २०८० १४:२९
4
SHARES
भुक्तानी र म्याद थप गर्न सरकारमाथि निर्माण व्यवसायीको दबाब

काठमाडौँ- निर्माण व्यवसायीले समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि घटाउन सरकारसँग माग गरेका छन्।
शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको राष्ट्रिय भेला सुरु भएको छ। भेलामा ७७ जिल्लाका निर्माण व्यवसायी सहभागी छन्। व्यवसायीले निर्माण क्षेत्रमा भएका समस्या, देशभरका निर्माण व्यवसायीको अवस्था र गर्नुपर्ने सुधारका बारेमा छलफल गरी सरकारलाई सुझाव दिनेछन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायी र सरकारले सहयोग गर्ने भूमिकाका बारेमा विस्तृत छलफल हुने बताए। उनले निर्माण क्षेत्रलाई चलायमान बनाउन सरकारलाई आवश्यक सुझाव दिन सम्मेलन केन्द्रित हुने बताए।
निर्माण व्यवसायीले मूल्यवृद्धि घटाउन पनि सरकारलाई सुझाव दिनेछ, अध्यक्ष सिंहले निर्माणको भुक्तानी समयमै नभएको र असारमा मात्रै ७० प्रतिशत पुँजीगत खर्च गर्ने विषय सुधार गर्नुपर्ने बताएका छन्।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रमेश शर्माले चुनाव र सरकार परिवर्तनका कारण गत वर्ष निर्माण व्यवसायीहरूले समयमै भुक्तानी पाउन नसकेकाले निर्माण कम भएको बताए। उनले ठेक्काको समय बढाउनुपर्ने पनि माग गरेका छन्। उनले राज्यले ठेकका तोडेर नयाँ प्रक्रियामा जाँदा झनै बढी खर्च हुने बताए।

त्यस्तै लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीका पूर्वजिल्ला अध्यक्ष विनय ज्ञवालीले राज्यले समयमै भुक्तानी नगरेकाले भेला गरिएको बताए। उनले भने, ‘राज्यले बजेट खर्च गर्न नसक्ने र निर्माण व्यवसायीले ९० प्रतिशत काम भ्याउँदासमेत नदिएर अन्याय गरियो।’ उनले म्याद थपको समस्या सहज बनाउन पनि माग गरे।

त्यस्तै निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकका अध्यक्ष छत्रबहादुर तामाङले निर्माण व्यवसायीले ऋण लिएर असार मसान्तसम्ममा काम सके पनि राज्यले भुक्तानी नदिँदा व्यवसायी भागाभाग भइरहेको गुनासो गरे। कतिपय निर्माण व्यवसायी बैंकको चेक बाउन्सका कारण जेल जानुपर्ने अवस्था आएको तामाङले बताए।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघकी सदस्य गीता शाहीले आवश्यक म्याद थप नहुनु र समयमै निर्माणको भुक्तानी नगर्नुले निर्माण व्यवसायी समस्यामा परेको बताइन्। उनले बारम्बार सरकारसँग आग्रह गर्दासमेत सरकारले बेवास्ता गरेको आरोप लगाइन्।

प्रकाशित: ५ साउन २०८० १४:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =