रसुवामा लम्पी स्किनबाट १ सय ५९ पशु मरे

हिमाल प्रेस ४ साउन २०८० ९:१५
8
SHARES
रसुवामा लम्पी स्किनबाट १ सय ५९ पशु मरे फाइल तस्बिर। हिमाल प्रेस

रसुवा– रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन्। पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन्। हालसम्म जिल्लामा लम्पी स्किनबाट १ सय ५९ पशुचौपाया मरेका छन्।

जिल्लाका ५ वटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ।

सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ। उक्त गाउँपालिकाको स्याफ्रुवेंशीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार ६ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाई गोरुको मृत्यु भएको छ।

‘रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ,’ उनले भने।

गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट संक्रमित छन्। लम्पी स्किनबाट संक्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ।

हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनले जनाए।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ। आमा छोदिंमोबाहेक अन्य गाउँपालिकामा झण्डै १ हजार ५ सय पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन्।

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए।

संक्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा. बब्लु थारूका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झण्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट संक्रमित भएका छन्।

‘रसुवाको हिमाली भेगमा लम्पी स्किनबाट चौरीसमेत मरेका खबर आएको छ,’ उनले भने, ‘रोगको अवस्थाबारे जानकारी लिन हाम्रो टोली त्यसतर्फ जाँदैछ।’ तत्कालका लागि रोग फैलिएको ठाउँमा औषधि पठाएको डा. थारूले बताए। लम्पी स्किनबाट नुवाकोटमा हालसम्म ४ सय ११ पशुचौपाया मरेको उनले जानकारी दिए।

प्रकाशित: ४ साउन २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast