विपद्को पूर्वतयारीमा जुट्न मधेश प्रदेश सरकारको निर्देशन

हिमाल प्रेस १ साउन २०८० १२:०४
8
SHARES
विपद्को पूर्वतयारीमा जुट्न मधेश प्रदेश सरकारको निर्देशन

जनकपुरधाम– मधेश प्रदेश सरकारले विपद् पूर्वतयारीमा जुट्न सरकारी तथा गैरसरकारी निकायलाई निर्देशन दिएको छ।

मधेश प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमार्फत विपद्का घटनाबाट हुनसक्ने धनजनको क्षतिलाई न्यूनीकरण गरी राहत, उद्धार कार्यको पूर्वतयारीमा जुट्न सबै सरकारी एवम्गै रसरकारी निकायलाई निर्देशन दिएको हो।

वर्षायाममा मधेश प्रदेशका जिल्लामा बाढी, डुबान, कटान र चट्याङलगायतका विपद्को घटनाबाट धनजनको क्षति हुने गरेकाले त्यसलाई दृष्टिगत गरी विपद्को पूर्वतयारीमा जुट्न सबै निकायलाई निर्देशन दिने बैठकले निर्णय गरेको मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उमेश ढकालले बताए।

‘विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न तथा उद्धार र राहतको लागि तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिइएको छ,’ उनले भने।

बैठकले नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था र अन्य दातृ निकायहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिमार्फत एकद्वार नीतिबाट पीडितलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको सचिव ढकालले जानकारी दिए।

बैठकले प्रदेश स्वास्थ्य मन्त्रालयले औषधिसहितको स्वास्थ्योपचार व्यवस्था र खानेपानी मन्त्रालयले शुद्ध खानेपानी एवम् सरसफाइको पर्याप्त व्यवस्था मिलाउने गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

‘बैठकले आपत्कालीन कार्य सञ्चालन केन्द्रको सञ्चालनलाई प्रभावकारी बनाउन तथा सुरक्षा निकाय निकायबीच विपद् प्रतिकार्यमा समन्वयलाई मजबुद बनाउन सो केन्द्रमा नेपाली सेना र सशस्त्र प्रहरी बलको जनशक्ति परिचालन गर्ने पनि निर्णय गरेको छ,’ उनले भने।

बैठकले अद्यावधिक गरिएको मधेश प्रदेशको प्रदेश मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना र प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति रणनीति योजना स्वीकृत गर्दै प्रदेशका विभिन्न जिल्लामा विपद् पूर्वतयारीसम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गर्ने निर्णय गरेको छ।

साथै सोही बैठकले विपद्सम्बन्धी अतिआवश्यक सामग्री खरिद गर्नका लागि प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले उपलब्ध गराउने निर्णय गरेको सचिव ढकालले बताए।

बैठकले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक एलएसडी भ्याक्सिन खरिद गर्न प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई ७ लाख उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

विपद् व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका मुख्यन्त्री सरोज यादवको अध्यक्षतामा बैठक बसेको हो।

प्रकाशित: १ साउन २०८० १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =