बैतडीको ५० प्रतिशत मुहानमा भेटियो दिसामा पाइने कीटाणु

हिमाल प्रेस ३१ असार २०८० २०:५९
14
SHARES
बैतडीको ५० प्रतिशत मुहानमा भेटियो दिसामा पाइने कीटाणु प्रतीकात्मक तस्बिर।

बैतडी- बैतडीका आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको छ। स्वास्थ्य कार्यालयले मुहानको पानी परीक्षण गर्दा आधाभन्दा बढी मुहानको पानी पिउन अयोग्य पाइएको हो।

यहाँका खानेपानीका मुहानको पानी परीक्षण गर्दा ५०.८  प्रतिशत मुहानको पानीमा दिसामा हुने ‘कोलिफर्म’ कीटाणु भेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

स्वास्थ्य कार्यालयले जेठ र असारमा गरेको नमुना संकलन तथा परीक्षणमा आधाभन्दा बढी खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो।

जिल्लाका सबै स्थानीय तहका नागरिकले नियमितरूपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्यांकीबाट नमुना संकलन गरी परीक्षण गर्दा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको हो।

स्थानीय बासिन्दाले नियमित प्रयोग गर्दै आएका २६९ पानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गर्दा १३६ वटा मुहानको पानी पिउनयोग्य नरहेको पाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

दशरथचन्द नगरपालिकामा ३४ वटा मुहानको नमुना संकलन गरी परीक्षण गर्दा ११ वटा खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ। पुर्चाैडी नगरपालिकामा ३० मध्ये १२, पाटन नगरपालिकामा २९ मध्ये १३, मेलौली नगरपालिकामा ३१ मध्ये १७ खानेपानीका मुहानमा उक्त कीटाणु भेटिएको हो।

यस्तै पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४, शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०, सुर्नया गाउँपालिकाका २४ मध्ये १७ दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ खानेपानीका मुहानबाट नमुना संकलन गरी परीक्षण गर्दा १२ वटा पानीका मुहानमा कोलिफर्म भेटिएको छ।

कोलिफर्म भेटिनु भनेको पानीमा दिसा रहेको, प्रदूषित र पिउनयोग्य नरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. दीपेश श्रेष्ठले जानकारी दिए। कोलिफर्म भेटिएको मुहानको पानी उमालेर, शुद्धीकरण तथा फिल्टर गरेर मात्रै पिउन आग्रह गरिएको छ।

यसका साथै खानेपानीका मुहान वरिपरि सरसफाइ तथा उचित किसिमको ढल निकास नहुँदा ढलको पानी मुहान मिसिन गई दूषित हुने गरेकाले नियमित सरसफाइ गर्न आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ असार २०८० २०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =