सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गराउन महामन्त्री थापाको माग

हिमाल प्रेस ३१ असार २०८० १८:१४
10
SHARES
सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गराउन महामन्त्री थापाको माग प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद गगनकुमार थापा।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले सहकारी पीडितको बचत रकम तत्काल फिर्ता गराउन माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै थापाले यस्तो माग गरेका हुन्।

महामन्त्री थापाले सहकारी पीडितका समस्या समाधान गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न पनि आग्रह गरे। सरकारले वैशाख २६ गते गठन गरेको कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ। थापाले भने, कार्यदलले बुझाएको प्रतिवेदनमा धेरै कुरा समेटिएका छन्।’

उनले दीर्घकालीन रूपमा समस्या समाधानका लागि सुझाइएको उपायहरू अवलम्बन गर्नुपर्ने बताए। ‘तर त्यो भन्दा बढी महत्त्वपूर्ण कुरा जुन बचतकर्ताको रकम रोकिएको छ, जसले पाएका छैनन्, तिनको रकम फिर्ता गराउनका लागि प्रतिवेदनमा समेटिएका सुझाव कार्यान्वयन गर्न आजैबाट प्रारम्भ गरियोस्।’

उनले केही दिनअघि सांसदहरूकै घरमा आएर पीडा पोखिरहेका सहकारी पीडितहरू माइतीघर मण्डलामा रुवाबासी गरिरहेको भन्दै चिन्ता व्यक्त गरे। महामन्त्री थापाले भने, ‘यिनको आवाज राज्यले सुन्नैपर्छ।’ थापाले पीडित अहिलेको अवस्थामा आउनुमा एकहदसम्म राज्य पनि जिम्मेवार रहेको बताए।

उनले भने, ‘जुन निकायले अनुगमन गर्नुपर्ने थियो, त्यो निकायले राम्रोसँग अनुगमन गरेन। अनुगमन राम्रोसँग नहुँदा यस्तो अवस्था आएको हो।’ उनले जिम्मेवारी पाएका व्यक्ति रिबन काट्नमै व्यस्त रहेका कारण अहिलेको अवस्था आएको बताए। थापाले भने, ‘अब हामी उनीहरूले न्याय पाएको समाचार सन्न चाहन्छौँ।’

प्रकाशित: ३१ असार २०८० १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 3 =