सेनाको संख्या घटाउने योजना छैन : सरकार

रक्षामन्त्री भन्छन् : नेपाली सेनाको प्रभाव विश्वभर छ

हिमाल प्रेस २९ असार २०८० १५:३७
10
SHARES
सेनाको संख्या घटाउने योजना छैन : सरकार
काठमाडौँ-  सरकारले नेपाली सेनाको संख्या घटाउने कुनै तयारी नरहेको प्रस्ट पारेको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्या घटाउने कुनै सोच नभएको बताएका हुन्।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८० को छलफलका क्रममा रक्षा मन्त्रालयअन्तर्गत सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिँदै उपप्रधानमन्त्री खड्काले भने, ‘मुलुकको आवश्यकता, तत्कालीन परिस्थित, मुलुक र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण भएको हो। भविष्यमा पनि सोही सिद्धान्तका आधारमा संख्या निर्धारण हुनेछ।’

केही नेता र अभियान्ताले तथ्यबिना नै नेपाली सेनाको संख्या घटाउने हल्ला गरेको विषयमा सांसदहरूले प्रश्न सोधेपछि रक्षामन्त्रीले स्पष्टीकरण दिएका हुन्। उनले नेपाली सेनाको संख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकारको निर्णयबमोजिम निर्धारण हुने समेत स्पष्ट पारे। साथै नेपाली सेनाले संविधान तथा अन्य काननुले दिएको जिम्मेवारी, सरकारले समयसमयमा दिने जिम्मेवारी, अन्तर्राष्ट्रिय स्तरमा शान्ति स्थापनाका गर्ने कार्यलगायत विभिन्न भूमिका निर्वाह गरिरहेको बताए।

‘नेपाली सेना, संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप सीमा सुरक्षा एवम् भौगोलिक अखण्डता रक्षाका कार्यमा सदैव क्रियाशील छ’, उनले भने, ‘कुनै पनि देशको सेनाको संख्या उक्त देशको भौगोलिक अवस्था, राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेश र समयसमयमा मुलुकको आवश्यकताअनुसार निर्धारण हुने गर्छ।’
खड्काले हाल नेपाली सेना विभिन्न काममा जिम्मेवारीका साथ सक्रिय रूपमा लागेको बताए। नेपाली सेनाको संख्यालाई उच्चतम उपयोग गरी मुलुकको विकास र उन्नतिमा खटाइएको उनको भनाइ छ। 
‘सृष्टि रहेसम्म हाम्रो मुलुक रहन्छ। त्यो बेलासम्म हाम्रो मुलुकको रक्षा, भौगोलिक अखण्डता, सीमा रक्षाका लागि नेपालीसँगै नेपाली सेना पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने, ‘प्रतिकूल अवस्थालाई अनुकूलतामा परिणत गर्दै नेपाली सेनाले आफ्नो भूमिका अत्यन्तै अनुशासित रूपमा निर्वाह गर्दै आएको छ।’
नेपाली सेनाको दरबन्दी दरबन्दी ९६ हजार चार सय ७७ भए पनि हाल ८१ हजार दुई सय ७७ संख्या कायम भएको बताए। जसमध्ये ७४ हजार पाँच सय पाँच पुरुष र छ हजार सात सय ७२ महिला छन्।
नेपाली सेनालाई दुई वटा प्रमुख काममा खटाइएको पनि उनले बताए। ४० हजार दुई सय ७ जना शान्ति सेना, विभिन्न तालिम, विपद् व्यवस्थापन तथा र विकास निर्माणका क्षेत्रमा खटिएका छन् भने बाँकी ४१ हजार ७० जनालाई सञ्चालन र ड्युटीलगायतमा परिचालित छन्।  उनले नेपाली सेनालाई भौतिक पूर्वाधार निर्माण, वातावरण तथा प्रकृति संरक्षण र विपद् व्यवस्थापनमा पनि खटाइएको  बताए।
अन्तर्राष्ट्रिय शान्तिमा नेपाली सेना प्रख्यात 
अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि पनि नेपाली सेनाले प्रमुख भूमिका खेलेको मन्त्री खड्काको दाबी छ।  ‘नेपाली सेनाले विश्वका कुनै पनि भागमा संयुक्त राष्ट्रसंघको छातामुनि रहेर द्वन्द्वरत मुलुकमा शान्ति स्थापनाका लागि ठूलो भूमिका निर्वाह गरेको छ’, उनले भने, ‘शान्ति स्थापना भएका देशमा नेपाली सेनाप्रति त्यहाँका जनताले देखाएको विश्वास र अपनत्व गौरव गर्न लायक छ। यसको मनोवैज्ञानिक प्रभाव विश्वभर परेको छ।’
रक्षामन्त्री खड्काले नेपाली सेना विश्वमा शान्ति स्थापनाका दृष्टिले संख्याका रूपमा दोस्रो र प्रभावकारी हिसाबले अब्बल रहेको बताए।
अझै सेना बंकरमा 
रक्षामन्त्री खड्काले सेनाको व्यवस्थापनका सन्दर्भमा बंकरबाट ब्यारेकसम्म अभियानअन्तर्गत हालसम्म पाँच हजार आठ सय ५० ब्यारेक निर्माण गर्नुपर्नेमा तीन हजार सात सय २२ ब्यारेक निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार यसका लागि आगामी आर्थिक वर्षमा दुई अर्ब रुपैयाँ हाराहारीमा बजेट विनियोजन गरिएको छ।
रक्षामन्त्री खड्काले तराईमधेश द्रूतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको उल्लेख गर्दै २०८३ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढेको बताए।
‘कोरोना महामारीलगायतका कारण फास्ट ट्रयाक निर्माणमा ढिलाइ भएको हो। अब तीव्र गतिमा निर्माण अगाडि बढाइएको छ। २०८३ चैत मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ।’
प्रकाशित: २९ असार २०८० १५:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =